सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
२०७६ चैत ११ गतेदेखि विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण म घरमा नै बसेको पनि लगभग ७ महिना हुन थालेछ। कोरोनाका कारण समग्र देश नै लकडाउन भएपछि हामीजस्ता साना बालबालिका विद्यालय जान पाएका छैनौं।
२०७७ वैशाख १५ गतेदेखि म अध्ययनरत विद्यालयले अनलाइनमार्फत हाम्रो पढाइलाई निरन्तरता दिएको छ। यो समयमा म घरैबाट दैनिक तीन घण्टाको अनलाइन कक्षा पढिरहेको छु। हामीलाई विद्यालयले दैनिक तीनवटा विषयहरू पढाइरहेको छ।
पहिले सहज परिस्थिति हुँदा अरु वर्षहरूमा म वैशाख १५ गतेदेखि नै विद्यालय गएर पढ्थेँ। बिहानै उठेर हतार हतार विद्यालय जानु परे पनि आफ्ना साथीहरूसँग भेटघाट हुने र विद्यालयमा पढाइका साथसाथै अन्य अतिरिक्त क्रियाकलापमा भाग लिन पाइने हुँदा बिहानै विद्यालय जानु परे पनि उत्साहका साथ विद्यालय जाने गरिन्थ्यो। तर हाल कोरोनाका कारण विद्यालयहरू बन्द भएकाले यी सबै कुराहरू अहिले सम्झनामा मात्र छन्।
अनलाइन कक्षाको पढाइ र शिक्षकहरूले दिनुभएको गृहकार्यमा मेरो समय दैनिक लगभग ५ घण्टा बित्छ। बाँकी समय के गरेर बिताउने भन्ने हुन्छ। मेरा ममी र बाबा कार्यालयको काम गर्ने भएकाले धेरै जसो समय ल्यापटपमा नै बिताउनुहुन्छ।
कार्यालयको काम नभएको समय र बिहान बेलुकाको समयमा म बुबासँग कहिले ब्याडमिन्टन त कहिले फुटबल खेलेर रमाइलो गर्थेँ। तर केही समयदेखि बाबा पनि काठमाडौं बाहिर जानुभएकाले मसँग खेल्ने साथी कोही पनि छैन।
ममीले केही समय मसँग खेलेर बिताए पनि उहाँलाई घरको काम र अफिसको कामले भ्याइनभ्याइ हुन्छ। मैले सक्ने खालका काममा उहाँलाई सघाउने गरेको छु। यस्तो समयमा मसँग ममीले देश विदेशमा भएका घटना सुनाउनु हुन्छ। यो सुन्दामलाई लाग्थ्यो कि यस्ता कुरा उहाँले कहाँबाट थाहा पाउनुहुन्छ?
कि ठूला मानिसलाई यसै थाहा हुन्छ? भनेर म अचम्ममा पर्थेँ। नभन्दै मैले एक दिन ममीलाई यस्ता कुरा कहाँबाट थाहा हुन्छ भनेर सोधेँ।
ममीले हाँस्दै समाचार सुनेर र पढेर जानिन्छ भने पछि मलाई पनि त्यसमा रूचि लागेर आयो।
म घरमा एक्लो बच्चा भएको र हामी एकल परिवारमा बस्ने भएकाले मलाई फुर्सदको समय बिताउन साह्रै गाह्रो हुन्छ। त्यो समयमा ममीले समाचारका कुरा गरेपछि अहिले भने म ल्यापटपमा समाचारका साइटहरू खोजेर पढ्न थालेको छु।
जब मैले समाचारका साइटहरू खोलेर हेर्न थाले त्यहाँ त समाचार मात्र हैन साहित्य, लेख, विचार, व्लग भन्ने स्तम्भ पनि हुँदा रहेछन्। म अचेल दंग परेर ती साइटमा नयाँ नयाँ कुरा खोज्छु।
केही महिना अघिदेखि यो बन्दाबन्दीमा भर्चुअल भेट गर्ने उद्देश्यले मेरो मामाको छोराले फेसबुक म्यासेन्जरमा हामी केटाकेटीको समूह बनाउनुभएको छ। त्यस समूहमा हामी परिवारका पाँच जना केटाकेटी दिनैपिच्छे निश्चित समय तोकेर भिडियो कल गर्छौं।
म पनि ल्यापटपबाट त्यसमा जोडिएर बादविवाद, कविता वाचन र विश्वका आश्चर्यका कुरा र रुचि लाग्दा तथ्यहरूको चर्चा गर्छु। मैले यस्तै समाचार र गुगलको सहायताले नयाँ नयाँ कुरा उहाँहरूलाई सुनाउँदा सबैजना दंग पर्नुहुन्छ।
मैले गरेको कुरामा सबैले प्रशंसा गर्दा मलाई अझै समाचारहरू पढ्ने रुचि बढ्दै गएको छ। अचेल त म दैनिक जसो सेतोपाटी र अन्य अनालाइन खबरका साइटहरू मेरो ल्यापटपमा हेर्छु। मैले यस्तो गरेको देखेर मेरो ममी साह्रै खुशी हुनुहुन्छ।
अचेल म घरमा ममीसँग बस्ने गरेको र मेरो ममी मिडिया क्षेत्रमा काम गर्ने भएकाले उहाँले हरेक दिन मिडियामा आउने घटना, समाचार, लेख पढ्ने गर्नुहुन्छ। त्यसका बारेमा मलाई पनि बताउनुहुन्छ। सुरुसुरुमा यस्ता विषय मलाई बुझ्न गाह्राे नभएको हाेइन। अचेल त साह्रै चाख र चासो लागेर आउँछ।
यति मात्र हैन मलाई ट्विटर, फेसबुकका बारेमा पनि धेरै जानकारी हुन थालेको छ। म र मेरो ममी अचेल बेलुकाको केही समय ट्विटर हेरेर बिताउँछौं। ट्विटरमा त नयाँ समाचार र भिडियोका लिंकहरू पनि राखिएको हुने रहेछ।
यी सबै कुरा मैले यही बन्दाबन्दीमा घर बसेका बेला जानेको हुँ। अरु समयमा विद्यालय जाने, गृहकार्य गर्ने र खेल्ने कुराले नै समय नपुगेजस्तो हुन्थ्यो तर म अचेल मिडियाका धेरै कुरा बुझ्ने भएको छु। रेडियोमा बज्ने सन्देश, समाचार र देशका नेता तथा चर्चित व्यक्तित्वका बारेमा मात्र हैन भान्सामा पकाउने परिकारका बारेमा पनि युट्युब हेरेर जान्न थालेको छु। मलाई यी सबैकुरा मेरो ल्यापटप र ममीको मोबाइलले सिकाएको हो।
मैले अहिले स्वास्थ्यको क्षेत्रमा सुधार हुनुपर्छ भनेर डाक्टर गोविन्द के.सी अनसनमा बसेको कुरा पनि समाचार हेर्ने र सुन्ने गरेकाले थाहा पाएको हुँ। योभन्दा अगाडि पनि उनी यस्तै माग राखेर धेरै पटक अनसन बसिसकेका थिए रे। तर मैले भने भर्खर मात्र समाचारबाट थाहा पाएँ।
त्यति मात्र हो र? यो बन्दाबन्दीमा कति धेरै मानिसहरुले खान नपाएर काठमाडौंको खुल्लामञ्चमा केही मानिसले निःशुल्क खाना खुवाउने गरेको कुरा पनि मैले समाचारबाट नै थाहा पाएँ। कति मान्छेले काम नपाएको, कति बालबालिकाले पढ्न नपाएको, खान नपाएको, बालबालिकाहरू हिंसामा परेको, कतिले आत्महत्या गरेको खबर म समाचारबाट जान्न थालेको छु।
यस्ता घटना सुनेर, देखेर, पढेर अचेल मलाई सारै नरमाइलो लाग्छ र सकेको बेला यस्तालाई सकेको सहयोग गर्नुपर्छ भन्ने लागेको छ। शिक्षकहरूले र अभिभावकले सधैं ज्ञानी, सहयोगी, मिहेनती हुनुपर्छ त भन्नुहुन्थ्यो, त्यो भन्दा बढी कुरा समाजमा के भएको छ, समाज विकासका लागि हामीले के गर्नुपर्छ भन्ने कुरा मैले यो समयमा घरमा बसेर सुनेका र पढेका समाचारबाट जान्न थालेको छु।
यो सबै ग्याजेटका कारण सम्भव भएको हो जस्तो लाग्छ।
मेरो पढाइमा समेत अचेल मोबाइल र कम्प्युटरको प्रयोग हुने भएकाले त्यहाँ हुने एप्स, साइटका बारेमा मलाई जानकारी छ। अरु बेला विद्यालय गएर, खेलेर, घुमेर बिताउने मेरा दिन हाल यिनै ग्याजेटमा बित्छन्।
यसको सही प्रयोग गर्नुपर्छ भनेर मलाई अभिभावकले सधैं सुझाउनुहुन्छ। त्यही भएर पढेर, गृहकार्य गरेर बचेको फर्सदको समयमा म समाचार हेर्ने, आफूलाई चाख लाग्ने विषयमा गुगलमा खोजेर पढ्ने, फोटोसपको सिप सिक्ने र त्यसका बारेमा ज्ञान राख्ने गरेको देखेर मेरा आफन्त र अभिभावकहरू मेरो प्रशंसा गर्नुहुन्छ।
अचेल मलाई मोबाइल र ल्यापटपले हामीलाई बिगार्ने होइन कि यसको सही समयमा सही प्रयोग गर्न जाने हाम्रो साथी बनेर हामीलाई ज्ञानआर्जन गराउने माध्यम बन्दो रहेछ भन्ने लागेको छ।
(सुप्रभ आचार्य डियरवाक सिफल स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्)