सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मैले आजसम्म मेरो सम्पूर्ण जीवनमा करिब ४२११ दिनहरू बिताएँ। तीमध्ये धेरै दिनहरूका बारेमा मलाई केही थाहा छैन। ती दिन स्मरणमा पनि आउँदैनन्।
तीमध्ये कति दिन राम्रा थिए भने कतिपय नराम्रा पनि। मेरो जीवनमा मैले सधैं सम्झिने महत्त्वपूर्ण दिनमध्ये २०१९ अप्रिल ३ पनि एक हो। यो दिन म पहिलो पटक बंगलादेश आउँदै थिएँ।
त्यस दिन मैले महत्वपूर्ण पाठ सिकेँ।
कम्तीमा अर्को ३ वर्षका लागि म नयाँ ठाउँमा जाँदै थिएँ। मनमा धेरै जिज्ञासा थिए। किनकी म मेरो देश छोडेर बंगलादेशमा ३ वर्षका लागि जाँदै थिए।
सुरूमा मलाई बंगलादेश आइपुग्दाका दिन त्यति मन परेको थिएन।
मैले मेरा सबै पुराना सहपाठी, साथीहरू, परिवारका सदस्यहरू, छिमेकीहरू, शिक्षकहरू, आफन्तलाई छोडेर हिँड्नु परेको थियो।
नयाँ ठाउँमा सबै कुरा नयाँ हुने भएकोले मनमा केही खुलदुली पनि थियो। नयाँ वासस्थान, नयाँ विद्यालय, नयाँ सहपाठी, नयाँ साथीहरू, नयाँ छिमेकीहरू, नयाँ शिक्षकहरू आदि।
घर तथा संयुक्त परिवार छोडेर नयाँ ठाउँमा जानुपर्ने सोचेर दुई दिन अघिबाट नै म उदास भएको थिएँ।
अन्त्यमा त्यो दिन आइनै हाल्यो। यो दिन मेरो लागि धेरै तनावपूर्ण पनि भयो।
नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा चेकजाँचको समयमा मेरो बोर्डिङ पास हराएकाले मलाई समस्या भएको थियो। यसभन्दा अगाडि हामी उडानको प्रतीक्षा गरिरहेका थियौँ।
हाम्रो उडान ३ घन्टा ढिलो हुने सूचना आएको थियो। हामी यात्रु प्रतीक्षालयमा बसिरहेका थियौं। फेरि केही समयपछि सूचना आयो 'ढाकाको उडान ३० मिनेट पछि हुने भएकोले यात्रु महानुभावहरू सुरक्षा चेकजाँच तर्फ जानुहोला।'
हामी सुरक्षा चेकजाँचतर्फ जानको लागि तयार भयौं।
म उठेँ अनि मामु र दिदीसँगै सुरक्षा गेटमा गएँ। म सबैभन्दा अन्त्यमा गएँ। किनभने मलाई सामानलाई मेसिनमा राखी स्क्यान गर्ने तरिका बुझ्नु थियो।
क्रमशः मेरो पालो आयो। मैले आफ्नो बोर्डिङ पास देखाएर स्क्यान गेटबाट जानु थियो। मेरो जुत्ता र ह्यान्ड ब्याग गइसकेको थियो। दुर्भाग्यवस, मैले मेरो बोर्डिङ पास हराइसकेको रहेछु।
म छाँगाबाट खसेजस्तो भए। मेरो पासपोर्ट र बोर्डिङ पास कतै नहराओस् भनेर धेरै ध्यान दिएको पनि थिएँ। मेरो मामुलाई पनि यो कुरा याद नै भएन। जब म स्क्यान गर्न गएँ, सुरक्षा गार्डले मेरो बोर्डिङ पास खै भनेर सोधेपछि बल्ल थाहा पाएँ।
मामुले मलाई मेरो झोला, खल्ती, लुगा आदि हेर्न भन्नुभयो। मैले सबैतिर खोजेँ तर फेला पार्न सकिनँ। मामुलाई शंका लागेछ जुत्तामा छ कि भनेर। मैले मेरो जुत्ता खोलेर बास्केटमा राखेको थिएँ।
मैले तुरुन्तै जुत्ता भएको बास्केट जाँच गरेँ तर बोर्डिङ पास भने फेला पार्न सकिन। म वास्तवमै डराएको थिएँ।
मामुले मलाई सान्त्वना दिनुभयो तर मेरी दिदीले 'अब तँ हामीसँग बंगलादेश जान पाउँदैनस् रोएर बस्' भनेर गाली गर्नुभयो। म साँच्चिकै रूने अवस्थामा पुगेँ तर मैले आफूलाई त्यत्रो मान्छेको भिडमा रूनबाट रोकेँ।
मेरी मामु स्क्यान गर्दै हुनुहुन्थ्यो। मेरो जुत्ता भएको बास्केट पनि स्क्यानरबाट पास भएर अघि बढ्यो। स्क्यान सकेर मामुले मेरो जुत्ता भएको बास्केट पुन चेक गर्नु भएछ। बास्केटमा त थिएन। मामुलाई शंका फेरि लागेछ जुत्ताको भित्र पनि चेक गर्नु भएछ। यसरी चेक गर्दा बोर्डिङ पास त मेरो एउटा जुत्ताभित्र बाहिरबाट नदेखिने गरी टाँसिएर बसेको रहेछ।
मामुले मलाई तुरुन्तै भन्नुभयो 'अपिल बोर्डिङ पास भेटियो, जुत्ताभित्र रहेछ।'
म ठूलो तनावबाट मुक्त भएँ। अनि म स्क्यान गरेर बोर्डिङ पासमा छाप लगाएर विमान चढ्ने गेट नं २ तर्फ गएँ।
त्यसपछि हामी विमान बाङ्लादेशको उडान नं बि जी ७२ बाट बंगलादेशको राजधानी ढाका ओर्लियौं। बाबा हामीलाई लिन आउनुभएको थियो। बाबासँग भेटेर हामि धेरै खुसी भयौं।
मैले ढाकामा आएर नयाँ साथी बनाएको छु। नयाँ ठाउँमा बस्न बानी पर्ने कोसिस गर्दैछु।
तर म त्यो दिन कहिले पनि भुल्न सक्दिनँ किनभने यो विशेष दिन थियो जसले मलाई जिन्दगीमा ठूलो पाठ सिकायो।
यस दिनले मलाई वैदेशिक यात्रामा पासपोर्ट र बोर्डिङ पासको महत्व मात्र सिकाएन। आफ्नो सामानको सुरक्षा गर्न सचेत हुनुपर्ने भनि सिकायो।
यसले भविष्यसम्मको लागि मेरो दिमागमा छाप छोडेर गयो र पछिका लागि पनि होसियार बनायो। अब म वैदेशिक यात्रामा जाँदा कहिल्यै पनि पासपोर्ट र बोर्डिङ पास अनि आफ्नो सामान नभुल्ने प्रण गरेर सचेत भएको छु।
(अपिल पौडेल बंगलादेश, ढाकामा अध्ययनरत छन्।)