सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
पहिलेका कुरा सुन्दा लाग्छ की जमाना धेरै बदलिसक्यो। मामुबाबाले ग्र्याजुएसन गरेपछि बल्ल नोकिया मोबाइल बोकेको बताउँदा लाग्छ हामी निकै भाग्यमानी छौं।
यति सानो उमेरदेखि नै हाम्रो हातमा मोबाइल छ। झन लकडाउनले त मोवाइल हाम्रो पढाइको अत्यावश्यक सामग्री नै बनेको छ। अब त मोबाइल बिनाको हाम्रो जीवन कल्पना पनि गर्न सकिँदैन झैं लाग्न थालेको छ।
म पनि बिहानै उठेर एकपटक सरसर्ती मोबाइल चलाउँछु। पढाइ मात्र होइन रमाइलोका लागि पनि सामाजिक संजाल चहार्छु।
एकदिन टिकटक हेर्ने क्रममा नरमाइलो लाग्दो छोटो भिडियोमा मेरो आँखा अडियो।
भिडियोमा दाइले बहिनीलाई कोरोना लाग्छ मास्क लगाऊ भन्दै थिए। तर बहिनीको उत्तर थियो, ‘मलाई कोरोनाबाट होइन दाइ एसिडबाट बच्ने मास्क ल्याइदिनु होला।’
त्यो कुरा सुन्दा रुन मन लाग्यो। एसिडको पीडा बोकिरहनु भएकी दिदी बहिनीहरुको अन्तर्वार्ता र समाचारको याद आयो।
म झण्डै भक्कानिएँ।
नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने नेपालमा विगत केही वर्षमा १८ महिला र चार पुरुषमाथि एसिड आक्रमण भइसकेको छ। सायद यो उजुरी परेका र प्रहरीको जानकारीमा आएका तथ्यांक मात्र होलान्।
मुस्कान खातुन दिदी पनि ती एसिड पीडितमध्ये एक हुनुहुन्छ।
‘एसिडले त मात्र मेरो बाहिरी सुन्दरता बिगार्यो। मेरो मुस्कान खोस्न सकेको छैन,’ मुस्कान दिदीले भन्नुभएको छ, ‘यदि म जस्तै एसिड पीडित रोएर मात्र बसेको खण्डमा अपराधीको जित हुन्छ। हामीले त्यस कुरालाई वास्ता नगरी आफ्नो लक्ष्यमा अघि बढ्दै जाने हो भने अपराधीको हार हुनेछ।’
मलाई दिदीले टेलिभिजनमा दिनुभएको उक्त धारणाले केही समय अक्क न बक्क बनाएको थियो।
मैले पछिल्लो समय एसिड पीडितहरुको धेरै अन्तर्वार्ता हेरेकी छु र मुस्कान दिदीको भनाइलाई त विशेष मनन पनि गरेकी छु।
हुन त एसिडका कारणहरु अझै खोज्दै जाने हो भने सामान्य झगडा वा दाइजो वा अन्य रिसको झोंकमा एसिड छ्यापिएको पाइएको छ। प्रायः एसिड छ्याप्ने कार्य महिलाको सुन्दरता विगार्नका लागि भएको पाइन्छ जस्तो मलाई लाग्छ।
केही समय यता सामान्य झगडाको कारण पुरुष माथि पनि एसिड छ्यापेका समाचार पढ्न पाइन्छ। बदला लिन एसिडले आक्रमण गर्ने क्रम बढ्दै गएकाले यसको भर्खरै आएको कानुनलाई कार्यावन्यनमा जोड दिनपर्ने देखिन्छ।
अन्यथा हामी कसरी सुरक्षित हुने?
हुन त सबैको धारणा सुन्दा वा पढ्दा एसिड सम्बन्धी विगतका कानुन निकै कमजोर रहेको पाएकी छु। मेरो घरमा बुबाआमाले पनि एसिड सम्बन्धी कानुन निकै कमजोर भएको र भएका कानुनको पनि कार्यान्वयन पाटो फितलो रहेको गफ गर्नुभएको सुनेको छु।
कानुन कडाइ साथ कार्यावन्यन गर्नुपर्छ जसको डरले एसिड छ्याप्न खोज्नेको हात एसिड सम्झँदै कामोस्।
कानुन जति कडा भए पनि यसको कार्यान्वयन भएन भने एसिड छ्याप्ने क्रम रोकिने देखिँदैन। नेपालको भर्खरै आएको कानुन अनुसार एक थोपामात्र एसिड छ्यापेमा पनि २० वर्ष जेल सजाए र १० लाख जरिवाना लाग्ने उल्लेख छ।
त्यो कार्यमा सहयोगी भूमिका निर्वाह गर्नेलाई समेत १० वर्षको जेल सजाय तोकिएको छ। यो कानुन पहिले नै भैदिएको भए यति विकराल अवस्था आउने नै थिएन कि?
अर्का एसिड पीडित रामराजा थापाका कुरा पनि सुनेको छु। उहाँलाई आफ्नै श्रीमतीले नै एसिड छ्यापेकी थिइन्।
मैले उहाँको पनि अन्तर्वार्ता हेरे। झनै नरमाइलो लाग्यो।
यसले त झन निकट सम्वन्धमाथि नै प्रश्न खडा गरिदिएको छ। यसरी एसिड आक्रमण बढ्दै जानु निकै दुःखको कुरा हो।
हामी स्कुलमा पढ्ने साथीहरु भर्चुअल माध्यममा एसिडको बारेमा गफ गर्छौं। समाचार पढेको आधारमा कोही पनि सुरक्षित नदेखिए पनि महिलाहरु भने अझै बढी असुरक्षित छन्। एसिड आक्रमणमा बढी पीडित महिलाहरु नै छन्।
एसिडले छालामा कहिल्यै नमेटिने दाग बसाउँछ। कति पोल्दो होला ? म स्कुटीमा बस्ने क्रममा साइलेन्सरको पाइपले छुस्स पोल्दा त सानो कालो दाग निक्कै दिनसम्म रहिरह्यो।
त्यही ताका मुस्कान दिदीको अन्तर्वार्ता सुन्दा सम्झिएँ, एसिडले त्यस्तो पोल्दा त दिदीको आत्मविश्वास यत्तिको छ भने स्कुटीले छुस्स सलाइको काँटी जस्तो दाग लाग्दा म किन आत्तिएकी होला?
पछिल्लो समय नेपालमा एसिड आक्रमणका घटना एक पछि अर्को गर्दै बढिरहेको छ। काठमाडौंको सीतापाइलामा एसिड आक्रमण भएको कुरा पनि सुनेको र पढेकै हो। राजधानी समेत यस मामलामा सुरक्षित छैन।
हामीले यस्ता घटना विरुद्ध आवाज उठाउने मात्र होइन कानुनको विषयलाई प्रचारप्रसार गर्न आवश्यक छ। एसिडको खुल्ला बिक्री बन्द गरिनुपर्छ। कसैले त्यस्ता एसिड खुलारुपमा बेच्छन् वा कसैलाई दिन्छ भने त्यो पनि सजायको भागेदार हुनुपर्छ।
सरकार र नीति निर्माताको तहमा रहनेहरुले समयमा नै यस तर्फ समेत पाइला चाल्न जरुरी छ। सबैको आँट मुस्कान दिदीको जस्तो हुँदैन।
सलाम दिदीलाई।
(केनिशा अधिकारी सेन्ट जेभिर्यस स्कुल, जावलाखेलमा कक्षा ७मा अध्ययनरत छिन्)