सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मैले जिन्दगीमा धेरै भूकम्प अनुभव गरेकी छु। सन् २००५ देखि २००७ तथा सन् २०१० देखि २०१४ सम्म जापान बस्दा सानोतिनो भूकम्पको धक्का कति महसुस भयो गनेर साध्यै छैन।
त्यसपछि सन् २०१५ को नेपालको भूकम्पको पनि मैले प्रत्यक्ष अनुभव गरेँ। पृथ्वीको गहिराइमा प्लेटहरूको घर्षणबाट धाँजा फुट्ने र त्यसको लहर सतहमा आउँदा हुने कम्पनको श्रृंखलालाई भूकम्प भनिने रहेछ। मलाई त्यतिखेर थाहा नभए पनि अहिले भूकम्पको बारेमा धेरै थाहा भएको छ।
मेरो पहिलो जापान बसाइ चुकुबा सहरमा थियो। यो इवाराकी प्रान्तमा पर्छ। फुकुसिमामा झैं चुकुबामा पनि भूकम्पको जालो छ भनिन्छ।
सन् २०११ मा फुकुसिमा केन्द्रबिन्दु भई ९ रेक्टर स्केल (जापानी स्केल ७ सिन्दो) को भूकम्प जाँदा भने म टोकियोको सेतागाया वार्डको अन्तर्राष्ट्रिय छात्रावासमा थिएँ। म त्यतिबेलाको अनुभव यहाँ उल्लेख गर्छु।
चुकुबाको बसाइमा म सानै थिएँ। पटकपटक ७ रेक्टर स्केलसम्मको भूकम्प आएको बाबाआमाले बताउनुहुन्छ तर मलाई खासै सम्झना छैन।
सन् २०११ अघि मैले यति ठूलो भूकम्पको अनुभव कहिल्यै गरेकी थिइनँ। कहिलेकाहीँ मलाई ठूलो भूकम्प आए कस्तो अनुभव होला जस्तो लाग्थ्यो।
हामीलाई जापानको विद्यालयमा भूकम्पबाट बच्ने उपाय सिकाइएको थियो। गाडीमा राखेर कृत्रिम भूकम्पको धक्का दिएर सुरक्षाका उपाय सिकाइएको थियो। तसर्थ, मैले बेलाबेलामा ठट्टामा भन्थे 'म ठूलो भूकम्प आए पनि डराउँदिनँ।'
सन् २०११ मार्च ११ तारिख थियो। बाबा, आमा म र भाइ जापानमा थियौं। मेरो भाइ अपिल भर्खरै २ वर्षको मात्र भएको थियो। म भने ७ वर्षकी थिएँ। हामीले दुई दिन अघि मात्र अपिलको जन्मदिन मनाएका थियौं।
भूकम्प आएको दिन सामान्य दिन थियो। मेरी आमा केही कागजपत्र बनाउने कामले सेतागाया वार्ड अफिस जानुभएको थियो।
म, बाबा र भाइ नजिकको पार्कमा गयौं।
हामीले त्यहाँ दुई घण्टा पिङ र चिप्लेटी खेल्दै रमाइलो गर्यौं।
त्यसपछि आमा नआउञ्जेल त्यही छात्रावासको अर्को भवनमा बस्ने एकजना नेपाली अंकलकोमा गयौं। अंकलकोमा हामी कपमा हालिसकेर चियाको चुस्को लगाउन तयार थियौं।
दिउँसोको २ बजेर ४६ मिनेट गएको थियो। हामी बसेको कोठा जोडसँग हल्लिन थाल्यो।
अंकलले बाहिर जाऔं भन्नुभयो तर मेरो बाबा भने डराउनु भएको थिएन। जापानमा यस्ता भूकम्प आइरहन्छन् भन्दै हुनुहुन्थ्यो।
हामीलाई सिकाए अनुसार टेबुलमुनि पस्यौं तर हल्लाउन छाडेन।
भूकम्प लामो हुँदै गएकोले हामीले बाहिर निस्कने निर्णय गर्यौं। पुरै भवनहरू हल्लिरहेका थिए। दुई मिनेटभन्दा बढी हल्लायो। बाहिर जाँदा बाबाले भाइलाई बोकेर मलाई हातमा समाउनु भयो।
हामीलाई जमिनमा अडिन पनि गाह्रो भइरहेको थियो। मैले सोचेँ आज मरिन्छ कि के हो?
छात्रावासको पल्लो भवनमा बस्ने एकजना जर्जियन विद्यार्थी आत्तिएर तीन तला माथिबाट हामफाल्दा खुट्टा भाँचियो। अस्पताल लैजान एम्बुलेन्स र दमकल सँगै आए। ऊ धेरै पीडामा भए पनि उसलाई तत्काल अस्पताल लगिएन। सबै कागजपत्र भएको नभएको जाँचेर मात्र अस्पताल लगियो।
आकस्मिक अवस्थामा पनि अस्पताल लैजान त्यत्रोबेर लगाएको मलाई निकै अनौठो लाग्यो।
आमा पनि वार्ड अफिसबाट हस्याङफस्याङ गर्दै आइपुग्नु भयो। त्यसपछि सो छात्रावासमा बस्ने सबै नेपाली भेला भएर भूकम्पपछिको योजनाका बारेमा धेरै बेर कुरा गर्यौं।
आमा आएपछि हामीले हाम्रो अपार्टमेन्टको ग्यास आपूर्ति बन्द गर्यौं। सानोतिनो झट्का भने अझै आइरहेको थियो।
वास्तवमा त्यो दिन निकै डरलाग्दो थियो। भूकम्पले दस मिटर उचाइको सामुद्रिक आँधी (जापानीमा सुनामी) पनि उत्पन्न गरेको थियो। सुनामीले फुकुसिमा सहरका भवनहरूमात्र सखाप पारेन चालीस वर्ष पुरानो फुकुसिमा दाइइचि आणविक भट्टीलाई नराम्ररी क्षतिग्रस्त बनायो।
उत्तरपूर्वी जापानमा करिब चार लाख घरहरू र करिब पन्ध्र लाख मानिसलाई असर गर्यो। आणविक भट्टीबाट फैलिएको विकिरणले धेरै ठूलो असर गर्यो। आणविक भट्टीबाट चुहिएका टेल्लुरियम, सिसियम र क्यासियम जस्ता विकिरणयुक्त पदार्थको असर धेरै वर्षसम्म रहने भएकोले फुकुसिमा आणविक भट्टीको ३० किलोमिटरको परिधिभित्रका बासिन्दाहरूलाई खाली गरिएको थियो।
अझै पनि ती क्षेत्रहरू मानवविहीन नै छन्।
त्यसपछि हामीले टिभीमा समाचार हेरेर परिस्थितिको आकलन गर्यौं। टोकियोमा विकिरण फैलिएको थियो। जापान सरकारले पनि विदेशीहरूलाई आफ्नो घर फर्केर सुरक्षित रहन प्रेरित गरेकोले हामी भूकम्पको अर्को हप्ता नेपाल फर्कियौं।
तीन महिनापछि मात्र जापान गयौं।
त्यसपछि सन् २०१५ अप्रिल २५ को नेपालमा गएको विनाशकारी भूकम्पको पनि प्रत्यक्ष अनुभव भयो। जापानको तुलनामा यो केही सानो भूकम्प थियो तर यसले पनि नेपालमा ठूलो क्षति गर्यो।
नेपालका घर तथा भवनहरू भूकम्प प्रतिरोधी नभएकोले धेरै धनजनको क्षति भयो। जापानमा भने भवन भत्केको नभएर सुनामीले समुद्रको सतह बढाएकोले ठूलो क्षति भएको थियो।
जापानमा भूकम्प प्रतिरोधी भवन बनाएकोले भूकम्प आउँदा टेबुलमुनि बसेर टाउको सुरक्षित राख्न सिकाइन्छ।
बिजुलीका बल्ब वा केही सामान खसेर टाउकोमा क्षति नहोस् भनेर यस्तो सिकाइएको हो। तर नेपालमा जापानमा सिकाएको जस्तो शिक्षाले भूकम्पमा काम लाग्दैन। नेपालका घरहरू भूकम्प प्रतिरोधी छैनन्।
अझ गाउँघरका घरहरू त कच्ची हुन्छन्।
धादिङ्ग र नुवाकोटमा गैरसरकारी संस्थाहरूले जापानी तरिकाको भूकम्प सुरक्षा शिक्षा दिएको काम लागेन। घर बाहिर भएका मान्छे भूकम्प आएको बेला घरभित्र छिरेर खाटमुनि लुक्दा घरले किचेर मरेको कुरा त्यति बेला पत्रपत्रिकामा आएका थिए।
प्राकृतिक प्रकोपहरू मानव इतिहासभरि धेरै आए र हामीलाई प्रतिकूल परिस्थितिको सामना गर्न सिकाए। प्रकोपको आँकलन गरेर भूकम्प प्रतिरोधी पूर्वाधार निर्माण गर्दै सुरक्षित रहनुको विकल्प छैन।
काठमाण्डौ उपत्यका र नेपालका अन्य भूभागमा भूकम्पको जोखिम धेरै भएको अध्ययनहरूले देखाएका छन्। पूर्वाधारको स्थिति अनुसार भूकम्पबाट बच्ने तरिका सिकाउनु र बुझेर यसलाई लागू गर्नु हाम्रा लागि निकै महत्वपूर्ण छ।
(अपेक्षा पौडेल ढाका, बंगलादेशमा कक्षा १०मा अध्ययनरत छिन्।