सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कोरोना महामारीले गर्दा ६ महिनादेखि हामि सबै घरभित्र बसिरहेका छौं। यो ६ महिनाको अबधिमा म चाहिँ ४ पटक मात्र घर बाहिर निस्केको छु। खासै भेटघाट पनि कसैसँग भएको छैन। आमाछोरा मात्र कोसँग बोल्नु, कोसँग खेल्नु। तर, हामी एकअर्काका साथी भएका छौं।
मामुले एक दिन मलाई तिमी छोरी भएको भए मलाई कत्ति सजिलो हुन्थ्यो भनेर सुनाउनु भयो। मलाई किन किन आनौठो र नरमाइलो दुबै लाग्यो। म त रोएछु।
मैले मामुसँग झगडा पनि गरे।
'हजुर मलाई माया गर्नुहुँदैन। अर्कै छोरी ल्याउनू, उसैलाई माया गर्नू' भनेँ। त्यतिबेला रिसाएँ तर पछि सोधेँ 'मामु म छोरी भएको भए हजुरलाई के राम्रो हुन्थ्यो र?'
ममीले भन्नुभयो 'मेरो साथीको तिमीभन्दा अलि ठूलो छोरी छ। उसले आफ्नो ममीलाई सधैं सघाउँछे। टिभी, मोबाइल धेरै हेरेर दुःख दिन्न। ज्ञानी पनि निक्कै छे। छोरी मान्छे ज्ञानी हुन्छन्। त्यसैले भनेको।'
ममीले त्यो दिदीको तारिफ गरेको सुनेर मलाई फेरि रिस उठ्यो।
म केहीबेर मामुसँग फेरि बोलिनँ र उहाँले माफी माग्नु भयो।
मैले रिसाएर मामुलाई 'मलाई छोरी नै बनाइदिनू' भनेँ।
मामुले 'मेरो छोरा पनि छोरी पनि तिमी नै हौ। तर, तिमीले पनि मामुलाई घरमा सघाउन सक्छौ नि' भनेर सुनाउनु भयो।
'छोरीले मात्रै होइन छोराले पनि ममीलाई कति धेरै सहयोग गर्न सक्छन्, तिमी पनि गर,' ममीले भन्नुभयो।
मलाई के काम गर्ने थाहा थिएन तर 'हस' भन्दै टाउको हल्लाएँ।
मनमा डर लाग्यो के काम गर्नु पर्ने होला भनेर। अर्को दिनदेखि काम सुरू भयो। ग्यास बाल्न र निभाउन सिकेँ। त्यो दिनको काम निक्कै सजिलो लाग्यो मलाई।
ममीले हजुरआमालाई फोन गरेर सुनाउनुभयो।
दोस्रो दिन सानो सानो भाँडा धुन सिकेँ। आफ्नो बेड मिलाउन पनि सिकेँ। अनि मलाई यति सजिलो काम मैले पहिले देखिनै किन नगरेको होला भन्ने भयो।
अहिले म नुहाएपछि आफूले लगाएको लुगा पनि धुन्छु। सुरुसुरुमा मैले धोएको भाँडा ममीले फेरि धुनुहुन्थ्यो। तर, आजकल त्यसो गर्नुहुँदैन।
अब मलाई चिया, खाजा र खाना पकाउन सिक्न मन छ। आफैंले मिठोमिठो पकाएर ममीलाई खुवाउन मन छ। अरु धेरै कुरा सिक्न मन छ, मेरो ममीलाई कहिले नलागोस् की म छोरा नभई छोरी भइदिएको भए हुन्थ्यो भनेर।
(अर्नभ उपाध्याय पनेरु नन्दिनाच एकेडेमी, धनगढीमा कक्षा ३ मा अध्ययनरत छन्)