सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
नोभेम्बर १७, २०१९ मा पहिलो कोभिड १९ को संक्रमण चाइनाका ५५ वर्षको मानिसमा देखिएपछि, गत वर्ष डिसेम्बरदेखि चाइनाको वुहान प्रान्त कोरोनाले आतंकित भएका समाचारहरु पढिन्थे। भिडियो फुटेजहरु हेरिन्थ्यो।
त्यहाँको हाहाकार देखेर ओहो कस्तो डरलाग्दो महामारी, जनताहरुमा कस्तो त्रास, साँच्चै नेपालमा यो रोग आयो भने कस्तो नराम्रो हुन्छ होला, कति मानिस मर्छन् होला, अनि कति दुःख हुन्छ होला भन्ने लाग्थ्यो।
समाचार पढ्दा पढ्दै कोरोना यूरोपदेखि अमेरिकासम्मलाई त्राहीत्राही बनाइसकेको थियो। यस्तै यस्तै कुरा सोचिन्थ्यो।
नभन्दै चाइनामा पी.एच.डी. गरिरहेका एक नेपाली व्यक्तिमा कोरोना पोजेटिभ देखियो र निको पनि भयो। फेरि फ्रान्सबाट नेपाल फर्किएकी एक विद्यार्थीमा पनि कोरोना पोजेटिभ देखियो।
अनि नेपालमा सुरु भयो कोरोना रोकथामको लागि लकडाउन। किनभने यसको उपचार छैन त्यसैले हामीले सतर्कता अपनाउनु भन्दा अर्काे कुनै उपाय थिएन।
अन्तर्राष्ट्रिय उडानहरु, नाकाहरु सबै बन्द गरियो। हामी पनि घर भित्रै थुनियौं। तर पछि बन्द गरिएका नाकाबाट राता रात, तथा विभिन्न भनसुन गरेर भारतबाट मानिसहरु सीमा पार गरेर नेपाल आउने क्रम बढ्न थाले सँगै नेपालमा कोरोनाको संक्रमण बढ्न थालेका समाचार हामी घरभित्रै बसेर टिभी तथा सामाजिक संजालमा सुन्थ्यौं र पढ्थ्यौं।
नभन्दै नेपालका बोर्डर, तराई हुँदै काठमान्डौसम्म पनि कोरोनाले जनजीवन कष्टकर बनाउँदै लगेको थियो। हामीले कुनै गल्ती नगरी, सामाजिक दुरी कायम गरी, लकडाउन सरकारको निर्देशन पालना गरी घरमै थुनिएर बस्दै यही मात्र सोच्थ्यौं कि घरका कसैलाई यदि कोरोना आइहाल्यो भने के गर्ने ?
सरकारले पसलहरु खोल्न र अफिसहरु संचालन गर्न अलि खुला गर्ना साथ काठमाडौंमा संक्रमणदर ह्वात्त्तै बढ्यो। हुदा हुदा कोरोना घरभित्रै प्रवेश गरिसकेछ।
मेरो ममी पसल चलाउनु हुन्छ। पसल जानै पर्यो। ५ महिना पसल थुन्दा उहालाई घर चलाउन नै गाह्रो भइसकेको थियो। व्यागमा स्यानिटाइजर, मास्क अनि दुरी कायम गर्ने सबै तरिका अपनाएर हिँड्ने मेरी ममी एकदिन एक्कासि ज्वरोले बिमारी हुनु भयो।
बाबाले शंका गर्नुभयो, अनि ममीले पनि, तर होइन यस्तो सतर्कता अपनाइरहेको छ कोरोना त पक्कै होइन, यो मौसमी ज्वरो होला भन्ने लाग्यो। सिटामोल खाने सुत्ने गर्न थाल्नुभयो, तर निको नै भएन।
हुँदा हुँदा बाबा पनि बिमारी पर्नुभयो उस्तै प्रकृतिको। अब भने साच्चै लाग्यो कि यो पक्कै कोरोना हो।
बाबा हिँड्नसक्ने नै हुनुहुन्थ्यो तर पनि बाहिर जान छोड्नुभयो। यदि कोरोना भएर अरुलाई सारियो भने त?
पछि त अति नै भयो, ममी र बाबालाई लक्षणसहितका कोरोनाका संकेतहरु देखा परिसकेको थियो। बाबा मलाई नभनी परीक्षण गराउन जानुभएछ। तर फोनहरु अत्ति आउन थाल्यो। मैले थाहा पाएँ। बाबालाई कोरोना पोजिटिभ देखिएछ। पछि फेरि पसल जाने भनेर ममीको पनि परीक्षण गराएपछि ममीको पनि कोरोनाको रिपोर्ट पोजेटिभ आएछ।
मलाई अनौठो लागिसकेको थियो मेरी सानी बहिनीलाई, ममी र बाबाले एक्लै सुताउन थाल्नुभएको थियो। मलाई पनि नजिक नआउ, टाढै बस भन्दै कराउनु हुन्थ्यो। एक-दुई दिनपछि मात्र भन्नुभयो, तर मैले उहाँहरुको फोनमा गरेको कुराकानीबाट थाहा पाइसकेको थिएँ कि घरमा के भइरहेको छ।
तर के गर्ने? आफूले सोचे झैं त हुन्न। मलाई पत्याउन गाह्रो भएको कुरा सत्य नै हो। सपना होइन सत्य हो। अब त कोरोना आफ्नै घरमै आएको छ।
उहाँहरुले कुरा गर्दै गर्दा उहाँहरुलाई त्यति गाह्रो त भएको छैन रे तर पनि ज्यादै भिन्न तरिकाको दुखाई र थकाई हुन्छ रे। हामीहरु जस्तो स्वास्थ्यमा ध्यान दिने, सबै स्वास्थका मापदण्ड पालना गर्ने परिवारमा त कोरोना छिरेरै छाड्यो भनेपछि काठमाडौंमा लापरवाही गरेर हिँड्ने, स्वास्थ्यको बारेमा त्यति हेक्का नराख्नेहरुको कस्तो अवस्था होला?
उहाँहरुले आइसोलेसनमा अहिले होसियारी अपनाइरहनु भएको छ। खानामा ध्यान दिनुभएको छ। व्यायाम गर्नुहुन्छ, टन्नै पानी पिउनुहुन्छ। हामी दिदीबहिनी छुट्टै बस्ने, छुट्टै खेल्ने र छुट्टै सुत्ने गर्छाैं। उहाँहरु दुबैजना कोरोना भएका कारणले घरमा कोही नभएकोले मास्क लगाएर, पन्जा लगाएर खाना पकाएर अतिनै होसियारीका साथ हामीलाई खाना दिनुहुन्छ।
धन्न उहाँहरु त्यति गल्नुभएको छैन। बाबाको केही मिल्ने साथीहरुले खानेकुरा ल्याइदिनु हुन्छ।
कोरोना आउन नदिन अझ धेरै स्थास्थ्यको मापदण्ड अपनाउने गर्नुहोला। यदि आइहाल्यो भने पनि मन देखिनै आफूलाई बलियो हुनु जरुरी रहेछ भन्ने कुरा मेरो बाबा र ममीबाट सिकेको हो।
यदि भइहाल्यो भने सकेसम्म अरुलाई संक्रमण हुनबाट जोगाउन कहीँ ननिस्कने। अनि कोरोनाले धेरै नै गाह्रो बनाएको खण्डमा कसरी उपाय निकाल्ने, संभावित को कोलाई सम्पर्क गर्ने भन्नेकुरा मेरो बाबा र ममीलाई थाहा थियो। त्यसैले उहाँहरु छिट्टै निको हुनुहुन्छ भन्ने मैले आशा राखेको छु।
अनि हामी पनि उहाँहरुलाई रोग लागेको छ भनेर आत्तिने तथा उहाँहरुलाई सहयोग नगर्ने जस्ता काम गर्नुहुँदैन। उहाँहरुको नजिक नजाने, आफूले नै रचनात्मक कामहरु गरेर उहाँहरुलाई हौसला प्रदान गर्ने काम गर्नुपर्दछ।
घरमै कोरोना हुँदाको अनुभव साह्रै डरलाग्दो हुने रहेछ। म आशा गर्छु कि तपाईंहरुको घरमा यसले प्रवेश नगरोस्। हामी पहिलो चरणको, दोस्रो चरणको लकडाउन सबै पालना गरेर बसेका थियौं। कोरोनासँग हामीले लड्दा लड्दै पनि हाम्रो घरमा कोरोनाले प्रवेश गर्यो।
सबैलाई संक्रमण हुने सम्भावना धेरै भएकोले यो रोगसंग लड्न आत्मबल दह्रो बनाऊँ। आफू बचौं र समाजलाई पनि बचाऊँ भन्न चाहन्छौं।
(आभाश्री रिमाल बूढानिलकण्ठ स्कुलको कक्षा ६ मा अध्ययनरत छिन्)