सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
यसपाली विषम परिस्थितिको सामना गर्दै हामी सुरक्षित तरिकाले आफ्नो गाउँ गयौं। हामी स्वास्थ्य सुरक्षाका हरेक उपाय ख्याल गर्दै बाटो लागेका थियौं।
जानै पर्ने त थिएन तर मलाई लामो समयदेखि हजुरआमाको यादले सताइरहेको थियो। हामी उहाँलाई आमा भनेर बोलाउछौँ। हरेक फोनमा आमा कहिले आउछौ भन्दै सोध्नुहुन्थ्यो, सायद उहाँलाई पनि हाम्रो खुबै याद आएको हुँदो हो।
म सप्तमीको दिन ट्याक्सी चढेर आफ्नो गाँउ हेम्जा गए। राष्ट्रिय गौरवको योजनाले बाटो पूरै धुलौटे थियो। फोक्सोभरी आफ्नो गाउँको माटो बोकेर म पुनः पोखरा फर्किएँ। म घरमा रहँदा आमालाई बिहानदेखि नियालिरहेको हुन्थे।
उहाँ बिहान ५ः३० बजे तिर उठ्नुहुन्थ्यो। कपाल पोको पारेर शरिरमा चिसो पानी खन्याउनु, पेटिकोट फेर्नु, पानी भर्नु, घर लिप्नु, बढार्नु, अँगेनामा आगो बाल्नु, पानी उमालेर हामी जम्मा भएका नातिनातिनालाई दिने गर्नुहुन्थ्यो। पानी पिएका गिलास भने हामी आफै पखालेर राख्थ्यौं। फेरि चिया नास्ता खुवाउनु, तरकारी टिप्न बारीमा जानु, भात बसाल्नु, तरकारी केलाउनु, मसला सिलौटोमा पिस्नु, खाना खान दिनु, भाँडा माझ्नु यी यावत् कामहरु सकेर हजुरआमा खेतमा धान काट्न जानुभयो।
यतिबेला हेम्जाको फाँट लगायत देशैभर धानखेती भित्राउने बेला भएको छ। पहाडी बारीमा कोदो पनि पाकेको छ। कोदो टिपेको हेर्न मलाई खुबै मजा आयो। हातले हँसिया समातेर कति छिटो आमाले कोदोको बालाले डालो भर्नुभयो। अनि बोकेर घरमा ल्याउनुभयो। घरमा बोरामा हालेर राख्नुभयो।
२,३ दिन अगाडि टिपेको कोदो आमाले खुट्टाले यसरी मिच्नुभयो कि आमाको खुट्टा नै कालो भएको थियो। त्यो कोदोको चुच्चोले पनि आमाको खुट्टा छेड्न सकेन। एकैछिनमा आमाले कोदोको गेडा एकातिर र भुस एकातिर पार्नुभयो। बेलुका आमाले दिनभरी लगाएको कपडा फेर्नुभयो अनि खाना बनाउन पट्टि लाग्नु भयो।
मेरो हजुरआमाले भैंसी पनि पाल्नुभएको छ। भैंसीलाई घाँस काटेर हाल्नुहुन्छ। खानामा उभ्रिएको सबै कुरा एउटा भाँडोमा जम्मा गर्नुहुन्छ। तरकारी केलाउँदा आएको बोक्रा, केराको बोक्रा अलिकति पिठो राखेर आमाले कुँडो पकाउनु हुन्छ। अनि पानी मिसाएर मनतातो बनाएर भैंसीलाई दिनुहुन्छ। यसरी घाँस कुँडो दियो भने भैंसीले धेरै दूध दिन्छ अरे। त्यो दूध पोषिलो अनि मिठो हुन्छ, मेरो आमाले भन्नुभएको। हामी बिहान बेलुका एक–एक गिलास दूध पिउँथ्यौ।
आमा फेरि बेलुका भएपछि भान्साको काममा लाग्नुहुन्थ्यो। सबै काम सकेर राती सुत्ने बेला उहाँले भान्सा फेरि पोत्नु हुन्थ्यो। आगोमा तेल तताएर मलाई लगाइदिनु हुन्थ्यो। यति गरिसक्दा साँझको लगभग नौ बज्थ्यो होला।
आमा थाकेको शरीर लिएर ओछ्यानमा मलाई सँगै च्यापेर सुत्नुहुन्थ्यो।
अनि म दिनभरीको आमालाई सम्झेर हातहरु सुम्सुम्याउँदै सुत्थे र सम्झन्थे मेरो आमाले कति धेरै एक्सरसाइज गर्नुहुने रहेछ र पो ज्यान स्लिम भएको रहेछ।
म बसेको वरिपरिका मानिसहरु बिहान बेलुका नै एक्सरसाइज गर्न हात हल्लाउँदै हिँड्छन्। तर उनीहरू मोटा मोटा छन्। उनीहरूले पनि आमाले जस्तै कामबाट एक्सरसाइज गरे त हाम्रो देश पनि आत्मनिर्भर हुँदो हो नि।
ठिकै छ, आफ्नो आफ्नो तरिका होला नि। मेरी आमा भने दुब्लो पातलो हुनुहुन्छ। औषधि खाएको आमालाई त्यति ख्याल छैन अरे। उहाँ पसिनाले निथ्रुक्क भिजेर आउनुहुन्छ, चोलो फेर्नुहुन्छ। पानी धेरै खानुहुन्छ त्यसैले रोग नलागेको अरे।
अहो, आमाले कति बर्षदेखि यतिधेरै एक्सरसाइज गर्नुभयो होला सोच्दै म त भुसुक्क निदाएछु।
( प्रार्थना लुइँटेल मदरल्याण्ड मा.विमा अध्ययनरत छिन् )