सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मलाई अचम्म लाग्छ आजकाल मेरो दैनिकी देखेर। थाहै नपाई म जस्तो बच्चाको पनि दिन अनलाइनमा मात्र बिताउने भइसकेछ। अनलाइन पढाइ, अनलाइन गृहकार्य, साथीसँग खेल्न पनि अनलाइन गेम, नातेदारहरुसँग कुरा गर्न पनि अनलाइन भिडियो। हुँदा हुँदा दिक्क लाग्दा समय भुलाउने चिज पनि अनलाइन युट्युब भिडियो।
म मात्र होइन आजकल म जस्तै बालबालिका देखि लिएर ठूला मान्छेहरु समेत सबैजना इन्टरनेटमा केही न केही गरिरहेका हुन्छन्।
इन्टरनेट ज्ञानको भण्डार हो र यसमा धेरै कुराहरु सिक्न सकिन्छ। जस्तै आफूलाई नआएको चिजहरु खोजेर आफ्नो ज्ञान र सीप बढाउने, आफन्तहरु र साथीहरुसँग कुरा गरेर रमाइलो गर्ने आदि। तर के सबैले इन्टरनेटमा राम्रै काम मात्र गरिरहेका होलान् त?
मैले आमाबुवा र अन्य आफन्तहरुबाट सुनेअनुसार इन्टरनेटमा राम्रो र नराम्रो दुइटै चिज हुन्छ। कोही मान्छेहरु राम्रो चिजको प्रयोग गरेर आफ्नो उन्नति गर्छन् भने कोही मान्छेहरु गलत काम गरेर आफू पनि बिग्रिन्छन् र अरुलाई पनि दुःख दिन्छन्।
गलत काम भन्नाले लाजमर्दाे वेबसाइटहरु हेर्ने, इन्टरनेट प्रयोग गरेर अरुलाई धम्की दिने, झुठो इमेल पठाएर ठग्ने आदि काम पर्छन्।
मैलै इन्टरनेटमा धेरै समय बिताउन थालेको लकडाउन सुरू भएदेखि हो। अहिले मेरो आफ्नै इमेल एकाउन्ट छ र त्यही इमेल प्रयोग गरेर मैले आफ्नो गृहकार्य गुरुलाई पठाउँछु।
एकदिन म गृहकार्य सकेर अब गुरुलाई पठाउँछु भनेर इमेल खोल्दा त त्यहाँ एउटा इमेल आएको थियो जसमा मलाई दस लाख डलरको चिठ्ठा पर्यो भनेर लेखेको थियो।
मलाई धेरै खुसी लाग्यो। सोचेँ म त कस्तो भाग्यमानी, यति धेरै पैसा पाएपछि त अब के चाहियो? जीन्दगी बनिहाल्यो नि। अनि योजना बनाउन थाले। अलि पैसाले एउटा राम्रो साइकल किन्छु र एउटा ज्याकेट किन्छु, अलि पैसाले साथीलाई राम्रो चकलेट किनेर दिन्छु अनि बाँकी पैसा आमाबुवालाई राख्न दिन्छु।
तर दस लाख डलरको नेपाली रुपैयाँ कति हुन्छ थाहै भएन। त्यसैले एकदम खुसी हँदै हतार हतार आमाबुवाको कोठामा गएँ र एकै सासमा सोधेँ, दस लाख डलरको नेपाली रुपैयाँ कति हुन्छ?
मेरो यस्तो प्रश्नले आमाबुवा अक्क न बक्क पर्नुभयो। आमाले मलाई किन चाहियो भनेर हकार्नु भयो। आमाको यस्तो कुराले मलाई दुःख लाग्यो र मैले भनिदिएँ मलाई दस लाख डलरको चिट्ठा परेको छ, तपाईंलाई पैसा दिउँला सोचेको थिएँ, अब दिँदै दिन्न।
मेरो यस्तो कुरा सुनेर आमाबुवाले मलाई मायाले यता बस हामी तिमीलाई एउटा कुरा देखाउँछौं भन्नुभयो। बुवाले आफ्नो इमेल खोल्नुभयो र पुरानो इमेल खोजेर सबै इमेल कम्यूनिकेसन पढ भन्नुभयो। यसो हेरेको त बुवालाई त झन् बीस लाख डलरको चिठ्ठा परेको रहेछ र त्यो रकम पाउनका लागि बुवालाई एक सय डलर बैंकको शुल्क पठाऊ भनेर लेखेको रहेछ।
बुवाले मजाकमै हुन्छ म कसरी पैसा पठाउ भनेर लेख्नुएको रहेछ। त्यसको उत्तरमा त्यो मान्छेले यो यो खातामा पैसा पठाउनु भनेर पठाएको रहेछ।
मेरो बुवाले त्यसको उत्तरमा नेपालबाट पैसा पठाउन समस्या भयो। मेरो बेलायती साथी छ उसलाई इन्टरनेट कानुनका बारेमा पनि राम्रो ज्ञान छ। तपाईं आफ्नो अफिसको ठेगाना दिनुहोस्, मेरो साथी तपाईंकै अफिसमा आएर पैसा दिन्छ भनेर लेख्नुभएको रहेछ। त्यसपछि त उताबाट इमेलै आएनछ।
मेरो बुवालाई इन्टरनेटमा हुने ठगीको बारेमा पहिल्यै थाहा रहेछ। त्यसैले उहाँले त्यस्ता इमेलको जवाफमा कानुन बुझेका बेलायती साथी मार्फत पैसा पठाउँछु भनेर भन्नुभएको रहेछ।
बुवाको त्यस्तो इमेल पढेपछि मलाई आएको इमेल पनि ठगी गर्न पठाएको हो भन्ने बुझेँ। यसबाट मैले के सिकेँ भने इन्टरनेटमा भएका सबै कुरा सही हुँदैनन्। त्यसैले इन्टरनेटमा कस्तो काम गर्ने कस्तो काम नगर्ने भन्ने बारेमा हामी आफै सजग हुनुपर्छ र आफ्नो आमाबुवालाई सोधेर मात्र गर्नुपर्छ।
आमाबुवासँग इन्टरनेटको बारेमा कुरा गर्दा मैले के सिकेँ भने अहिलेको लकडाउन समयमा म जस्तै धेरै बालबालिकाले इन्टरनेट प्रयोग गरिरहेका हुन्छन्। त्यसैले हामी बालबालिका जानी-नजानी नराम्रो इन्टरनेट साइटमा पुग्न सक्छौं जसले हाम्रो जीवनमा नराम्रो असर पार्न सक्छ।
यस्तो बेला इन्टरनेटमा कोही मान्छे बालबालिकाको बालपनको फाइदा लिएर नराम्रो काम गर्न लगाउन सक्छन्। यदि आफूलाई यस्तो भइरहेको छ भने आफ्नो आमाबुवालाई तुरुन्त भन्नुपर्छ। आफू पनि सजग रहन सिक्नु पर्छ।
(नयन उपाध्याय, सेन्ट जेभियर्स स्कुल, गोदावरीमा कक्षा ७ मा अध्ययनरत छन्)