सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
पहिले पहिले महिसासुर नामको असुर थियो। उसको पिताको वध देवताहरुले गरेका थिए। देवता माथि प्रतिशोध लिन महिसासुरले ब्रह्मा देवको तपस्या गर्यो। धेरै वर्षको कठीन तपस्यापछि ब्रह्मा देव महिसासुर सामु प्रकट भएर बरदान माग्न भने।
महिसासुरले ‘उसको वध एक नारीबाट मात्र हुने’ भन्ने वर माग्यो किनभने उसलाइ लाग्थ्यो नारीहरूले केही गर्न सक्दैनन्। भनेजस्तो वरदान पाएपछि महिसासुरले देवता माथि आतङ्क मचाउन थाल्यो। अति भएपछि महादेव, ब्रह्मा र बिष्णु मिलेर आफ्नो शक्ति मिलाइ एक शक्तिशाली बालिकालाई गंगा नदीबाट प्रकट गरे।
ती बालिका हुर्केपछि सिंहमा आसन गरेर महिसासुरको वध गरिन्। त्यस पछि ती बालिकालाई देवी दुर्गा भनेर बोलाउन थालियो।
भगवान् राम, लक्ष्मण र सीता वनबासमा भएको बेला रावणले सीता हरण गरेर लंका लैजान्छ। त्यसपछि भगवान् राम र लंकेस राजा रावणबीच दस दिनसम्म युद्ध हुन्छ र भगवान् राम विजयी हुन्छन्।
माथिका दुई कथामा असत्यमाथि सत्यको जित भएर नै दसैं मनाइएको हो भनेर मैले सुनेकी थिएँ। त्यसैले पनि होला दसैं हिन्दुहरूको ठूलो चाड हो। यो १५ दिन मनाइन्छ। पहिलो दिनलाई घटस्थापना भनिन्छ। यो दिनमा घडा स्थापना गरी, जमरा राखिन्छ र नव दुर्गाको पूजा गर्न सुरू गरिन्छ।
पहिलो दिन देवी शैलपुत्रीको पूजा गरिन्छ।
दोस्रो दिन देवी ब्रह्मचारणीको पूजा गरिन्छ।
त्यसैगरी तेस्रो दिन देवी चन्द्रघन्टाको, चौथो दिन कुशमाण्डा माताको, पाचौं दिन स्कन्दमाताको, छैठौं, सातौं, आठौं र नवौं दिनहरुमा कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री देवीहरुको पूजा हुन्छ।
दसौं दिनमा घटस्थापनामा राखिएको घडाको जलले घर परिवारमा अभिषेक गरिन्छ। त्यस दिन नयाँ नयाँ लुगा लगाई शुभ साइत हेरिकन आफ्नो परिवारमा रहेका मान्यजनहरुबाट देवीको प्रसाद स्वरुप टीका र जमरा लगाइ उनीहरूको आशिष ग्रहण गरिन्छ। यस प्रक्रियामा दक्षिणा दिने र लिने गरिन्छ।
त्यसपछि सबै जना मिलेर मिठा मिठा खानेकुरा खाने चलन छ। दसैंको बेलामा आफ्नो गाउँमा रहेका मान्यजन, आफन्त र मामाघर जाने चलन पनि छ। तर अहिले कोरोनाको कहरको बेलामा यो गर्न सम्भव भएन।
आफ्नै घरमा बसेर धेरैको यो दसैं बित्यो होला। मेरो पनि यसरी नै बित्यो तर साथीहरुसँगै मिलेर पिङ खेल्न नपाएकोमा भने दिक्क लाग्यो। त्यसैले यो दसैं त्यति राम्रो भएन।
अन्तमा कोरोनाको कहर छिटै सकिने छ र अब आउने चाडपर्वरु आफ्नो आफन्तसित रमाईलो गरी मनाउने मेरो आशा छ।
(मोनिता पौडेल सेन्ट जेभियर्स स्कुल जावलाखेलमा कक्षा ७ मा अध्यनरत छिन्)