सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
जब मलाई चोट लाग्छ
मेरी आमाको अनुहारमा बेग्लै पीडा हुन्छ
उनको शरीरको कुनै अङ्गमा चोट लागेझैं छट्पटाउँछिन्
जब मेरी आमालाई चोट लाग्छ
तब म मौन हुन्छु
जसरी केही घटना नै नभएको नहोस्
मेरी नेपाल आमा
जसले मलाई बस्नका लागि बास दिईन्
खानका लागि अन्न दिईन्
आज तिनै आमा पीडामा हुँदा
उनका सन्तान भनौँदा हामी मौन छौँ
आफ्नी आमाको शरीरको अङ्ग खोस्नेहरूसङ्ग मौन छौँ
सायद हाम्री आमाले आफ्नै भाग्यलाई धिक्कार्दै छिन् होला
कुनै बेला उनले यस्ता सन्तान पाएकी थिईन्
जसले आफ्नी आमाका लागि आफ्नो बलि चढाए
अनि आज यस्ता सन्तान पाईन्
जो पैसाका लागि आफ्नी आमालाई बेच्न पनि तयार छन्
कस्तो बिडम्बना
मान्छेलाई पैसाले कतिसम्म सस्तो बनाइसकेछ
बिचरा! हाम्री नेपाल आमा
आफ्नै सन्तानबाट धोकाको नमिठो आभास गर्नुपर्दा
असह्य पीडा भोग्नुपर्दा
सायद उनको मन भक्कानिएर आउँदो हो
तर हामी अझै मौन छौँ
तीनै कागजका नोटहरूका पछि दौडिरहेका छौँ
आखिर कहिलेसम्म??
(पूर्णिमा जोशी नेपाल पुलिस स्कुल सामाखुशीमा कक्षा ९ मा अध्ययनरत छिन् )