सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कुनै पनि विषयवस्तुको जानकारी अथवा ज्ञान लिनुलाई विद्या भनिन्छ। विद्या मानिसको जीवनको एकदमै महत्वपूर्ण कुरा हो। विद्याले मानिसको भविष्य उज्ज्वल बनाउँछ। विद्या विना हाम्रो जीवन अधुरो हुन्छ। आजको युगमा विद्याको धेरै नै महत्व छ। मानिसले जन्मेदेखि उसको मृत्युसम्म विद्या आर्जन गर्छ। विद्या आर्जन गर्ने ठाउँ विद्यालय, कलेज वा विश्वविद्यालय आदि हुन्।
विद्या प्राप्तिले हामी आफ्नो खुट्टामा आफैं उभिन सफल हुन्छौं। विद्याले गर्दा मानिसहरू धेरै प्रगति गर्न सफल भएका छन्। विद्या प्राप्तिले असफलतालाई सफलतातर्फ डोर्याउन अहम् भूमिका खेल्छ। विद्या आर्जन गरेर हामी डाक्टर, इन्जिनियर, शिक्षक, अफिसर आदि विभिन्न पदहरु ग्रहण गर्न सक्छौं। विद्याको सहायताले हामीले धेरै समस्याको समाधान निकाल्न सक्छौं।
शिक्षित मानिसलाई सबैले सम्मान गर्छन्। महिला र पुरुष दुवैको शिक्षा पाउने समान अधिकार हुन्छ। महिला र पुरुष दुवै शिक्षित भएमा हाम्रो देशको अवश्य नै अझ उपलब्धिमूलक विकास हुन जान्छ। त्यसैले हामीले पुरुष र महिलामा भेदभावको भावना राख्नु हुँदैन। दुवै एक रथका दुई पाङ्ग्रा हुने भएकोले समान हैसियतका हुन्छन्।
विद्याले गर्दा हाम्रो समाजमा सामाजिक समस्याहरुमा पनि कमी आइरहेको छ। समाज विकास र उन्नतितर्फ अग्रसर छ। जब मानिसहरु अशिक्षित थिए, तब समाजमा धेरै प्रकारका सामाजिक समस्याहरु थिए, जस्तैः जातीय विभेद, अन्धविश्वास, दाइजोप्रथा, कुरीति, वालविवाह, सतिप्रथा, वर्गीय भेदभाव आदि। अहिले मानिस शिक्षित हुन थालेपछि यस्ता समस्याहरुमा केही कमी देखिएको छ तर पूर्णरुपमा घटेको छैन।
यसका लागि सबै मानिस शिक्षित हुनुपर्छ।
विद्या देश विकासको मूल आधार हो। विद्या धनभन्दा पनि बढी मूल्यवान् हुन्छ। हामीले धनभन्दा विद्यालाई प्राथमिकता दिनुपर्छ। हाम्रो देशमा नेता बन्न कुनैपनि शैक्षिक योग्यताको आवश्यकता पर्दैन। त्यसैले गर्दा राष्ट्रको लागि आवश्यक पर्ने कानून, नीति निर्माण आदिका लागि सम्बन्धित विज्ञ वा कर्मचारीहरुमाथि निर्भर रहनुपर्ने हुन्छ।
त्यसैले विज्ञ वा कर्मचारी जस्तै नेताहरुले पनि शिक्षाको महत्व बुझेर उच्च शैक्षिक योग्यता हासिल गर्न सक्षम हुने हो भने देशले विकासको गति लिई देशको मुहार फेर्न जनताहरूले धेरै समय पर्खनु पर्दैन। शिक्षित व्यक्ति नेता बन्न पुग्यो भने मात्र ऊ कुशल राजनेता बन्न सफल हुन्छ। जब मानिसले विद्या हासिल गर्न सक्षम हुन्छ, उसको ज्ञानरुपी तेस्रो आँखा खुल्न जान्छ।
त्यसैले के बालबालिका, के युवा, के वृद्ध सबै वर्गलाई विद्याको समान महत्व रहन्छ।
(आयुष्मा पाण्डे कालिका मानवज्ञान माध्यमिक विद्यालय लुम्बिनीमा कक्षा-६मा अध्ययनरत छिन् )