बत्तिसपुतली काठमाडौंस्थित सेवा सदन स्कुलमा कक्षा ५ सम्म प्रथम नतिजा अनि स्कलरसिपको यात्रालाई बीट मारे। २०७४ सालको कक्षा ६ मा लिइने खुल्ला प्रतिस्पर्धामार्फत महाविद्यालयमा प्रवेश गर्दा त्यहाँ देखिएको दृश्यले समुन्द्रमा पौंडिन सकिन्छ या सकिँदैन भन्ने लाग्यो। तर विद्यालय प्रवेश गरिसकेपछि साथीभाइ त्यहाँका कर्मचारी र शिक्षकको व्यवहारले कहिल्यै एक्लोपनको आभास भएन।
कक्षा ६-७ देखि नै आफूले पाएको क्याप्टेन अनि भाइस क्याप्टेन र हालसम्मको विभिन्न जिम्मेवारी आत्मसाथ गर्दै पढाइ, लेखाइ र अतिरिक्त क्रियाकलापमा भाग लिँदै आए। एक इमान्दार विद्यार्थीको हैसियत जमाइसकेको म जस्ता विलार्थीलाई चीनबाट सुरू भएको कोराना भाइरसले नराम्ररी असर गर्यो।
चैत पाँच गते अन्तिम परीक्षा सकिएपछि पठनपाठन बन्द भए पनि भर्चुअल माध्यामबाट जेठदेखि पढाइ सुरू भयो।
तर विद्यालयमा उपस्थित भएर पढे जस्तो कहाँ हुन्छ र! केही नहुनुभन्दा जसो तसो पढ्दैछौं। हामी अनलाइनबाट पढाइसँगै अतिरिक्त क्रियाकलाप गायन, निबन्ध लेखनलगायतका क्रियाकलाप भइरहन्छन्। तर बिच-बिचमा बत्ति गइरहँदा धेरै समस्या हुन्छ। त्यति मात्र होइन प्रथम त्रैमासिक परीक्षामा विज्ञान विषयको जाँच दिँदादिँदै सवमिट हुने बेलामा बत्ति गइदिँदा सोचेजस्तो नम्बर पाउन सकिनँ। जम्मा ३ मिनेट समय बाँकि हुँदा ३० वटा प्रश्नको उत्तर गुगलफमबाट नै हल गर्नुपर्ने थियो। सोचे जस्तो राम्रो नभए पनि पास भइयो।
सोचे जस्तो परीक्षा दिन नपाउँदा त्यो जस्तो दुःख केही नहुने रहेछ। पढ्दै जाँदा पुस ६ गतेबाट फेरि दोस्रो त्रैमासिक परीक्षा सुरू भयो र १३ गते सकियो। परीक्षा सकिँदाको आनन्द छुट्टै हुन्छ। यति मात्र कहाँ होर हाम्रा लागि वर्ष भरिका खुसीका क्षण विद्यालयको वार्षिक उत्सव नै हो।
पुस १४ गते वार्षिक उत्सव। फेसबुक पेजबाट लाइभ कार्यक्रम हेर्नू भन्ने विद्यालयको आदेश थियो। विगत तीन वर्षको वार्षिक उत्सव सम्झिएर पनि उडेरै महाविद्यालय पुगौं जस्तो भयो।
विद्यालयमा सजिएका अडिटरियम हल, प्रमुख अतिथि अन्य अतिथि, सम्पर्क अधिकृत, निमित्त प्रिन्सिपल, शिक्षक, कर्मचारीहरु र केही अभिभावक भौतिक दूरि कायम राख्दै उपस्थिति भएको देख्न पाइयो।
मकवानपुरको भिमफेदीस्थित सुपिम बहुमुखी क्याम्पसबाट स्थापित र शैनिक कल्याणकारी कोषद्वारा सञ्चालित श्री सैनिक आवासीय महाविद्यालय सल्लाधारी भक्तपुरको ४३ औं वार्षिक उत्सव कार्यक्रम राष्ट्रिय गानबाट सुरू भयो। त्यसपछि प्रमुख अतिथि बलाधिकृत रथि श्री प्रभु राम शर्माबाट दीप प्रज्वलन अनि निमित्त प्रिन्सिपल दल प्रसाद पुनको स्वागत मन्तव्य हुँदै कक्षा ११ को दिदी दाजुबाट लोकधुन, प्रमोद पराजुली, कमल रिजाल, श्याम सुन्दर कायस्थ सरबाट गुञ्जिएको रत्न शमशेर थापाले रचना गर्नुभएको मूल स्वर नारायण गोपाल, पुनर्गायन रामकृष्ण ढकाल, राजेश पायल राई र साथीहरुको आवाजमा रहेको मिठो गीत ‘जाग लम्क चम्क हे नौ जवान हो´ भन्ने गीतले त झन यति धेरै रमाइलो भयो।
त्यसपछि आफ्नो कक्षाको साथी मुकेश पाण्डे र कक्षा १२ की दिदी दाइबाट बजाइएको बाध्यवादनले उतिकै रौनक छाएको थियो।
म मरे पनि मेरो देश ....
सवा बाह्र बजे सुरू भएको कार्यक्रम साहित्य, संगीत, कलाले गुन्जिएको महाविद्यालयको अडिटरियम हलमा सवा एक बजे प्रधानसेनापति महारथी पूर्ण चन्द्र थापाको भर्चुअल बधाई तथा शुभकामना सन्देशले सबैलाई झन उत्साहित बनायो।
सो अवसरमा प्रधानसेनापति थापाले सबल, सक्षम र योग्य जनशक्तिबाट मात्र राष्ट्र निर्माण सम्भव हुने दृष्टान्तलाई मध्यनजर गर्दै अनुशासित, नैतिक एवं चरित्रवान तथा प्रतिभा सम्पन्न युवा जनशक्ति तयार पार्न महाविद्यालयले विगत ४३ वर्षदेखि पुर्याउँदै आएको योगदानको प्रशंसा समेत गर्नुभएको थियो।
महाविद्यालयका सम्पर्क अधिकृत प्र.से.अनुप शाहको इङ्लिस भ्वाइस मन्तव्यले झन उत्साहित बनायो। उहाँले गत वर्ष मार्चपासमा पनि आफैं उभिएर हामीलाई थप हौसला प्रदान गर्नुभएको थियो। अन्य कुराहरूमा धेरै परिवर्तन भएको महशुस गर्न पाएका छौं।
उहाँकै सोचबाट कफी टेवल बुक पनि प्रकाशित हुने कुराले झन रमाइलो लाग्यो। सधै प्रकाशित हुने वर्षभरिका गतिविधि, लेख रचनाहरू भएको ‘सल्लाघारी पुस्तक’ भने कोरोना महामारीको कारणले प्रकाशित हुन सकेन। किनकि त्यसमा लेख्ने हामीजस्ता विद्यार्थीनै विद्यालय जान पाएका छैनौं। हामीहरूले नै लेखेका लेख समावेश हुने पुस्तक निस्कने सम्भव थिएन।
कार्यक्रम सञ्चालनका क्रममा ध्रुव बस्याल सरले बिच-बिचमा राष्ट्रकवि माधव प्रसाद घिमिरे, महाकवि लक्ष्मी प्रसाद देवकोटाका कविता तथा गीताका श्लोकहरू भनिरहँदा कार्यक्रममा सुनमा सुगन्ध थपिएको थियो।
त्यसपछिको कार्यक्रम विभिन्न विषयको शीर्षकमा पुरस्कार वितरण र छात्रवृत्ति वितरण थियो। स्वर्गीय उपरथि श्री गेहेन्द्र शमशेर थापा स्मृति पुरस्कार, ज्यास्मिन स्मृति पुरस्कार, सैनिक श्रीमती संघबाट आर्थिक अवस्था कमजोर र जेहेन्दार छात्रालाई पुरस्कार, दीर्घ सेवा पुरस्कार अनि उत्कृष्ट सेवा पुरस्कार वितरण गरियो।
सो पुरस्कार उत्कृष्ट अंक ल्याउने, वर्षभरि अनलाइन कक्षामा गरिएको अतिरिक्त क्रियाकलापमा छनोट भएका, गरिब तथा जेहेन्दार विद्यार्थी, लामो समयसम्म महाविद्यालयमा सेवा गर्ने कर्मचारीलाई प्रदान गरिएको थियो।
२०७१ सालमा एसएलसी दिनुभएका ज्यास्मिन बस्नेत दिदीको २०७२ सालको भूकम्पमा परि दुखद निधन भएको र उहाँको नामबाट उहाँको परिवारले परोपकार कामको लागि भनी महाविद्यालयमा १० लाखको अक्षय कोष स्थापना गरि सोहिको ब्याजबाट ज्यास्मिन स्मृति पुरस्कार दिने गरिएको रहेछ।
उहाँका पिता जनक बस्नेतले ज्यास्मिन स्मृति पुरस्कार वितरण गर्नुभएको थियो। आफ्नो सन्तान गुमाउँदाको पीडा कति हुन्छ यसै लेखमार्फत ज्यास्मिन दिदी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
जति लेख्यो लेख्दै गयो धेरै हुन्छ। गत वर्षमा विद्यालयमै उपस्थित भएर वार्षिक उत्सव मनाइन्थ्यो। यो पटक भने कोरोना महामारीको कारण महाविद्यालयले वार्षिक उत्सव कार्यक्रम सिमित मानिसको उपस्थितिमा भयो।
मैले पनि विद्यालयले तोकिएको नियम अनुसार बन्द कोठा भित्र बसेर ल्यापटपलाई साथी बनाएर विद्यालयमा गएको, कक्षामा बसेर पढेको ती ठूला चउरमा मार्चपास गरेको, पुस्तकालय, बडाखाना, शिक्षक कर्मचारी, साथीहरूलाई धेरै सम्झदै आफ्नो विद्यालयको वार्षिक उत्सव फेसबुक लाइभ हेरेरै मनाएँ।
मलाई यहाँसम्म आउन सहयोग पुर्याउनुहुने मेरा अभिभावक, सेवा सदन परिवार र महाविद्यालय परिवारलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि सदाझैं सहयोगको अपेक्षा राख्दै श्री सैनिक आवासीय महाविद्यालयको ४३ औं वार्षिक उत्सव २०७७ को पावन अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
श्रेया नेपाल
कक्षा-९
श्री सैनिक आवासीय महाविद्यालय, सल्लाधारी ,भक्तपुर