ऊ हेर्दा भर्खर जन्मेको जस्तो देखिन्थ्यो वा जन्मेको केही दिनको जस्तो। ऊ लुगलुग कामिरहेको थियो। बाहिर गेटमा भाइका साथीहरू हल्ला गर्दै थिए। उनीहरूले हेर्न भाइलाई पनि बोलाए। केहीबेरमा म पनि गएँ।
ऊ हेर्दै मायालाग्दो थियो। कहाँबाट आयो कसैलाई पनि थाहा छैन। कसको हो पनि थाहा छैन। आमाको दूध खाएर आमासँगै लुटपुटिएर बस्ने बेलामा कसरी यो माघको ठन्डीमा यहाँ कामिरहेछ? यस्तै तर्कना आयो मनमा।
उसलाई कसले संरक्षण गर्ला भन्नुभन्दा पनि आफैंले ल्याएर राखौं जस्तो भएको थियो मलाई। मन थाम्नै नसकेर मैले बाहिर निस्केर त्यसलाई दुवै हातले उठाएँ र आफ्नो शरीरसँग टाँसेर राखेँ। ऊ पनि जाडोले थरथर कामिरहेको थियो। त्यसैले मैले लिएपछि न्यानो महसुस गर्दै मेरो शरिरमा शान्तसँग बसिरह्यो र त्यहीँ निदायो।
यस्तैमा बेलुकाको ७ बज्नै लागेको थियो। अब यसरी त चल्नेवाला थिएन। यो परिस्थितिबाट पार पाउनु थियो।
भाइलाई यति धेरै मन थियो कि यसलाई राख्न, तर ऊ त्यति रमाइरहेको थिएन। उसलाई थाहा थियो यसलाई हामी पाल्न सक्दैनौं भनेर। हाम्रो यो चर्तिकला मामुले बरन्डाबाट नियाली रहनुभएको थियो।
मैले यसलाई छातीमा टाँसेको देखेर मप्रति माया लागेर हो वा उहाँलाई पनि यसको माया लागेर हो माथिबाट एउटा कपडा सहितको कार्टुन तल झारिदिनुभयो। सबै बच्चाहरू बाहिर थिए मैले त्यसलाई भित्र ल्याएँ र मामुको सहयोग लिएर कार्टुनभित्र हालेँ। यतिबेलासम्म ऊ शान्तसँग थामिएको थियो।
मनभित्र खुसीको हावाहुरी चलिरहेको थियो।
बेलाबेला भाइले मामुलाई सोध्थ्यो, 'मामु यसलाई हामी नै पाल्ने हो?'
'हो यो अब हामीसँगै बस्छ।'
हुन पनि यति राति यो चिसोमा उसलाई बाहिर लगेर छाड्न हाम्रो मन र मानवताले हामीलाई दिइरहेको थिएन। भाइलाई चाँहि विश्वास लागिरहेको थिएन। उसले खुसी व्यक्त गरिरहेको थिएन। खुसीले उफ्रनुपर्ने ऊ उफ्रेको थिएन। उसलाई हरेक जनावरप्रति अगाध स्नेह छ। त्यसमा पनि एउटा पप्पी (कुकुरको बच्चा) लाई यो अवस्थामा देख्दा हामी दुवैलाई खुसी होऊँ वा दुःखी, दुविधाले सताइरहेको थियो।
हामी दुवैलाई धेरै अघिदेखि पप्पी पाल्ने औधी रहर थियो।
अब उसलाई राखिसकेपछि मैले कल्पना गर्न थालें, उसँगै खेल्ने, उसलाई तालिम दिने, आफूसँगै राख्ने, खुवाउने, पियाउने।
मैले सुनेको पनि छु कुकुर सबभन्दा बफादार जनावर हो। उसलाई राम्रा–राम्रा कुरा मात्र सिकायो भने उसले पनि त अरुलाई राम्रै व्यवहार गर्ला।
हुन त मानिसले पनि आफ्ना बच्चालाई राम्रा कुरा मात्र सिकाउनुपर्ने हो। राम्रा कुरा मात्र सिकायो भने पछि गएर राम्रै मान्छे बन्छ होला। तर पनि मान्छेहरू अरुलाई दुःख दिने काम किन गर्छन्? सबै बाबुआमाले आफ्ना बच्चालाई राम्रै कुरा सिकाउनुपर्ने हो, राम्रै संस्कार दिनुपर्ने हो। तर पनि ठूलो भएर किन बदमास र फटाहा बन्छन्? ती नराम्रा काम गरेर अरुलाई दुःख दिने र सताउनेहरू पनि कसैका त छोराछोरी नै होलान्।
अब मैले सोचिसकेँ- यसलाई आफूसँगै राखेर आफू पनि यो जस्तै असल, इमान्दार र बफादार बन्ने। हाम्रो परिवारमा एकजना नयाँ सदस्यको आगमन भयो। हामीहरू खुसीले कराउन र उफ्रन चाहन्थ्यौं। तर त्यो स्वतन्त्रता कहाँ पाउनु? जे होस् उफ्रन र कराउन नपाए पनि हामी वयान गरी नसक्नुको खुसी थियौं।
यति सोच्दैगर्दा यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयले हामीलाई चुनौती दिइरहेको थियो। खान बस्न र दिसापिसाब विसर्जनका समस्या पनि छ।
यस्तैमा मामुले थर्मसको तातो पानी मनतातो बनाएर चम्चाले खुवाउन भनी लिएर झर्नुभयो। केही पानी खाएर उसलाई राहत हुन्छ भन्ने सोच आएकाले खुवाउन कोशिस गरियो। उसले मुखै बाएन। उसलाई के खुवाउने, के खान्छ, के खाँदैन, कस्तोमा बस्छ केही जानकारी छैन। मनमा खुसी र केही छटपटि लिएरै हामी उसलाई त्यहीँ छाडेर माथि उक्लियौं। उसलाई चिसो नहोस् भनेर ढोकाभित्रको भर्याङमुनि सिमेन्टको चिसो नपर्ने गरी कार्टुनभित्र राखेर हामी माथि चढ्यौं।
खाना खानेबेला पनि भइसकेको थियो। हामी खान खान बसे पनि हाम्रो ध्यान त्यसैतिर थियो। अहिले के गर्दै होला? उसलाई खान के दिने होला? धेरै जाडोले राति नै मर्यो भने के गर्ने होला?
हामीले जे गर्दै थियौं, बाबालाई यो सब मनपरेको थिएन। त्यो पनि हामीलाई थाहा नभएको होइन। भाइले त्यही बुझेरै होला खुसीले नाच्नुपर्ने बेलामा पनि कुनै उत्साह नदेखाएको। हामीले खाना खान मात्र के थालेका थियौं कुकुर कराउन पो थाल्यो। अब फसाद पर्यो।
आधा खाना छोडेर म तल झरेँ र बत्ती बालेँ। म जानासाथ उसले मलाई देख्यो र आफ्नो सानो पुच्छर मायालु तरिकाले हल्लायो। ऊ काँपिरहेको थियो। फेरि मैले उसलाई कपडासहित बोकेँ। बाबालाई त्यो मनपरेको थिएन। उहाँ हामीसँग राम्ररी बोल्नुभएको पनि थिएन।
अब के गर्ने भन्ने समस्याले सताउन थाल्यो। रातभरी त्यसैगरी बस्न पनि सम्भव नहुने। हामी निकैबेर यसैगरी बसिरह्यौं। यस्तैमा सायद बाबालाई पनि हाम्रो व्यवहार देखेर त्यसप्रति दया जागेछ र घरमा दूध सकिएकाले नजिकैको पसलबाट दूध ल्याएर त्यसलाई खुवाउने कुरा गर्नुभयो। त्यसलाई भोक लागेको हुनसक्छ। हामीले पनि त्यसै गर्यौं। नजिकैको पसलबाट दूध किनेर ल्याएँ।
दूध अलि सेलाएर उसलाई खुवाउने भन्ने हाम्रो प्रयास थियो। मामु दूध तताउन थाल्नुभयो। भाइ र म उसैसँग थियौं। हामी सँगै हुँदा ऊ कराएको पनि थिएन। मतलब उसलाई पनि एक्लै बस्न मन लाग्दो रहेनछ। यस्तैमा हामीले गेट लगाइसकेको हुनाले भाइको साथीले गेट ढक्ढक्याउँदै बाहिरबाट बोलाउन थाल्यो। हामीले पनि के भयो भनेर ढोका खोल्यौं।
भाइको अर्को चाहिँ साथीले आफ्नो घरमा उसलाई राख्न भनेर बाबामामुलाई मनाएर आएको रहेछ। ऊ गेटबाहिर तम्तयार भएर बसेको रहेछ। दिन मन नभए पनि हामीले कठोर मन बनाएर उसलाई सुम्पियौं।
भाइको साथीको घर नजिकै भएकाले कहिलेकाँही यता पनि लिएर आउनू है पनि भन्यौं र ढोका लगाएर माथि उक्लियौं। उसलाई मन नलागी नलागी दिँदा एक मन त भारी भयो, अर्को मन खुसी पनि थियौं। आखिर कसैले त उसको हेरचाह गर्ने भयो।
भाइले माथि आएर लामो सास तान्यो। उसलाई यसको व्यवस्थापनलाई लिएर खुब तनाब भएको रहेछ। हुन पनि हो अहिले पो कोभिड–१९ को कारणले विद्यालय बन्द छन्। नत्र बाबामामु अफिस अनि हामी स्कुल गएपछि यो दिनभर एक्लै हुन्छ। साँच्चै भन्नुपर्दा उसलाई व्यवस्थापन गर्न पनि हामीलाई गाह्रो थियो। रहर मात्रै गरेर पनि नहुने रहेछ भन्नेकुरा आज मात्रै थाहा भयो।
त्यस सानो प्यारो कुकुरलाई सम्झिँदै हामी आ–आफ्नो काममा लाग्यौं। मैले माथि जानासाथ त्यो भाइलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ र म्यासेज पनि गरिहालेँ।
अनि भनेँ, 'भाइ त्यो पप्पीको नाम चाहिँ म राख्छु है।'
केहीबेरपछि उसको म्यासेज आयो। उसले लगेको केहीबेरमै त्यो कुकुर जसको हो उसैले आएर लानुभएछ। एकजना दिदी आएर लानुभएको कुरा उसले म्यासेजमा बतायो। हामीलाई खिन्न लाग्यो। नरमाइलो महसुस भयो। अब फेरि उसँग भेट नहुने भयो भन्ने लाग्यो।
हामीले उसलाई नदिएको भए पनि अहिले ऊ हामीसँगै हुने थियो भनेर मुखामुख गरिरह्यौं। उसको आमासँग भेट गराइदिएको भए त्योभन्दा राम्रो कुरा केही हुँदैन भन्ने लागेर केही सन्तोष पनि लाग्यो। मान्छे होस् वा जनावर सानो छँदा आमाको काखभन्दा प्यारो केही हुँदैन। उसको लागि त्यही स्वर्ग समान हुन्छ।
हामीलाई केही नरमाइलो अनुभूति हुँदैगर्दा फेरि म्यासेज आयो– कुकुर त हरायो रे।
अब चाहिँ झन् नराम्रो लाग्यो। हराएको भए कहाँ गयो होला? यो ठण्डीमा हामीलाई कोठाभित्र झ्यालढोका थुनेर बाक्ला लुगा लगाएर सिरकभित्र बस्दा त जाडो भइरहेको छ, उसलाई कस्तो भइरहेको होला?
हरे, आफ्नो साथमा भइसकेको त्यस प्यारो पप्पीलाई आफैंसँग राखेको भए पनि हुन्थ्यो नि! किन अरुलाई दिनुपरेको भन्ने लागिरह्यो। त्यस दिनदेखि हामीले उसलाई नसम्झेको कुनै पल छैन। बाटोमा अरु कुकुर देख्दा पनि उसैको याद आउँछ। अब प्यारो पप्पी हामी सबैको सम्झनामा रहिरहनेछ, सधैंभरी।
(संस्कृति सुवेदी बख्रेल कक्षा ९ मा अध्ययनरत छिन्।)