विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण २०७७ सालमा विद्यालय जान पाइएन। वर्षभरी अनलाइनबाटै पढाइ भयो।
नयाँ वर्ष २०७८ मा कक्षा ४ को अन्तिम परीक्षा सकेर कक्षा ५ मा जाने निश्चित भईसकेको थियो।
वर्षभरी घरमै बसिरहेकाले वाक्क लागिसकेको थियो। नभन्दै नयाँ वर्षको अवसरमा कतै घुम्न जाने योजना बन्यो।
मलाई घुम्न निकै मन पर्छ। स्कुल बिदा भयो कि मलाई कतै गइहाल्नुपर्छ। साधारणतया म मेरो बाबा नरेन्द्र सिजापति र ममी हेमासँग घुम्न जाने गर्छु।
घुम्न मन पर्ने भएकाले प्राय बाबा ममिले पनि मलाई जता जाँदा पनि लिएरै जानुहुन्छ।
मलाई नयाँ नयाँ ठाँउको बारेमा जान्ने इच्छा हुन्छ। र त्यहाँको वातावरणमा चाडै घुलमिल हुन्छु। फेरि बाबा ममि पनि हप्तैपछिच्छे हाइकिङ जानुहुन्छ म पनि उहाँहरूसँगै जाने गर्छु।
पढ्दा पढ्दा बोर लागेको बेला हप्तामा एक पटक हाईकिङ जाँदा निकै रमाईलो हुन्छ। तर यो पटक हाईकिङ भन्दा पनि नयाँ वर्ष मनाउने भनेर हामी काडमाडौं उपत्यका बाहिर जाने भयौं।
नयाँ वर्ष मनाउन हामी हेटौंडा, चितवन, लुम्बिनीहुँदै पोखरा सम्म जाने योजना बनायौं।
चितवनभन्दा मलाई लुम्बिनी राम्रो लाग्यो। लुम्बिनीभन्दा पोखरा झन राम्रो लाग्यो। लुम्बिनीमा मायादेवी मन्दिर, शान्तिदिप घुम्यौं। त्यहाँ पनि राम्रो लाग्यो।
लुम्बिनीबाट पोखरा आउँदा रात परिसकेको थियो। भोलिपल् बिहानै प्याराग्लाईडिङका लागि सराडकोटतर्फ लाग्यौं।
सराङकोट पुग्दा म मात्र होला प्यारग्लाईडिङ गर्ने भनेको कति धेरै मानिस प्याराग्लाइडिङका लागि हामीभन्दा अगाडि त्यहाँ पुगिसकेका रहेछन्।
सुरूमा केही डर लागे पनि अरू आकाशमा उडेको देखेपछि मलाई पनि रहर लाग्यो, डर हट्यो। मलाई प्याराग्लाईडिङ गराउने राजकुमार अंकल अतिनै मजाको हुनुहुन्थ्यो। उहाँले पनि मलाई केही हुन्न नडराउनू भन्नु भयो। बाबा ममिले पनि हौशला दिनुभयो। त्यसपछि म उड्नका लागि तयार भएँ। राजकुमार अंकलले मेरो बेल्ट, हेल्मेट लगाएर चेक गर्नु भयो। अनी हामी ग्लाइडरमा बस्यौं।
राजकुमार अंकलले सिकाएजस्तै सुरूमा केही दौडियौं अनि जम्प गर्यौं। यसो गर्दा निकै ब्यालेन्स मिलाउनुपर्ने रहेछ। सुरूमा अलिक नर्भस भएँ। केही डर लाग्यो। तर जब विस्तारै आकासमा उड्न थालियो अनि मजा बउन थाल्यो।
मलाई राजकुमार अंकलले आकाशबाटै पोखरा सहर चिनाइदिनुभयो। धेरै रमाइलो लाग्यो। जति जति माथि पुग्यो यसो तल हेर्दा त मानिस कमिला जस्ता देखिँदा रहेछन्।
मानिस मात्र होईन सडकमा गुडेका गाडी पनि साना साना हामीले खेल्ने खेलौनाजस्ता देखिँदा रहेछन्। केही बेर पोखरा शहर हेरेपछि मलाई फेवातालमाथि लगेर तल त्यहाँको रमाइलो देखाउनु भयो।
तालको माथि उडदा निकै रमाईलो लाग्यो। अनि उहाँले अवतरण गर्नका लागि विस्तारै तलतिर झार्दा मैले मेरो बाबालाई देखेँ। मैले बाबालाई चिच्चाएर बोलाएँ। तर बाबाले सुन्नुभएन।
निकै तल आएपछि उहाँले हात हल्लाउनुभयो। बाबालाई तल देख्दा निकै आनन्द लाग्यो। अनि केही बेरमा फेवातालको किनारमा ल्याण्ड भयो। धेरै रमाइलो लाग्यो। कति छिटो समय बितेछ पत्तै पाइनँ। पोखरा हेर्ने रहर अझै पुगेको थिएन। तल झर्नुपर्यो।
म यो भन्दा अगाडि पनि पोखरा धेरै पटक आएको थिएँ। तर पहिलो पटक प्याराग्लाइडिङ गर्न पाएकोले अति नै रमाइलो लाग्यो। मलाई यो मौका दिनु भएकोमा मेरो बाबा, ममी र प्याराग्लाईडिङ उडाउने राजकुमार अंकललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
म पनि बाबा र ममीले पछि प्याराग्लाइडिङ गर्नुभयो। बाबा ममीको पनि यो पहिलो पटक थियो। उहाँहरू पनि खुसी हुनुभयो।
पहिलो पटक म आकाशमा चराजस्तै उड्न पाएँ। धेरै नै रमाइलो भयो।
यात्राका केही तस्बिरहरू