सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मस्त निन्द्राबाट म झस्केर बिउझिएँ।
हल्का डर लागेजस्तो भइरहेको थियो। मुटुको ढुकढुकी केही बढेजस्तै थियो। सँगै सुत्नु भएको मामुलाई हेरेँ। उहाँ मजाले निदाउनु भएको थियो।
राति नै थियो कि बिहान?
अनुमान लगाउन झ्यालको पर्दा खोल्दै बहिर चियाएँ। भर्खंर झिसमिसे उज्यालो हुँदै रहेछ। त्यसैले आँखा चिम्लिएँ। अनि फेरि निदाउन कशिश गरेँ। तर निन्द्रा नै लागेन। बरू सपनामा देखेको कुरा सम्झन थालेँ।
सपनामा मेरो मनपर्ने टेलिभिजन पात्र 'सोनपरी' हाम्रो घर आएकी थिइन्। त्यसरी एक्कासी आफ्नै अगाडि सोनपरी देखेर म दंग थिएँ। हामीले सँगै खाना खायौं।
खाजा खाएपछि सोनपरीले मलाई आफूसँगै आकाशमा उडाएर परपर घुमाउन लगिन्। हामी जति माथि पुग्यौ तल पृथ्वीमा भएका ठुल्ठुला भवन, घरहरू सानो-सानो देखिदैँ गयो। टाढा-टाढाको सुन्दर दृश्यहरू देखेर मलाई सारै आनन्द लाग्दै थियो।
सोनपरीले मलाई मनमोहक हिमश्रृङ्खलाहरू देखाउँदै विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो नजिकै घुमाउन लगिन्। आँहा! सगरमाथाको चुचुरो त्यति नजिकबाट देखेर म आफैँलाई गौरवान्वित महसुस गर्दै थिएँ।
धौलागिरी, अन्नपूर्ण जस्ता विभिन्न हिमशृंखलाहरू देखाउँदै सोनपरीले मलाई माछापुच्छ्रे हिमाल अगाडि पुर्याइन्। आहा! कति सुन्दर। अलिक परबाट हेर्दा कुनै ठूलो माछाको पुच्छर जस्तै देखिँदो रहेछ। त्यसैले यो हिमालको नाम नै माछापुच्छ्रे भएको हुनुपर्छ।
प्रकृतिको सुन्दर तथा मनमोहक उपहार हिमशृंखालाको दृश्यहरू देखाएर सोनपरीले त्यसपछि मलाई नेपालको विश्व प्रसिद्ध सुन्दर स्थल पोखरा घुमाउन लगिन्। आकाश माथिबाटै मैले बेगनास ताल र फेवा तालको दृश्य हेरेँ। कति राम्रा तालहरू। पोखराको यी ताल घुमाएर सोनपरीले मलाई मुगुको रारा ताल देखाउन लगिन्।
रारा माथि पुगेर म सोनपरीसँग ताल वरिपरि घुमेँ। त्योबेला मौसम पनि निकै रमणीय थियो। समय-समयमा आफ्नो रंग बदलिरहने दुर्लभ दृश्यलाई आखाँमा कैद गर्दै थिएँ। त्यहाँको सुन्दर्तालाई वर्णन गर्नै सकिन्न।
त्यसपछि सोनपरीले मलाई गौतम बुद्ध जन्मेको ठाउँ लुम्बिनी घुमाउन लगिन्। धेरै सुनेको तर कहिले नदेखेको ठाउँमा उनलाई मलाई पुर्याइन्। आकाश माथिबाटै सोनपरीले मलाई औंलाले देखाउदै बुद्ध जन्मेको स्थल र अशोका स्तम्भ पनि देखाइन्।
म आफ्नो मनपर्ने पात्रसँग नेपाल घुम्दै थिएँ। निकै खुशी लागिरहेको थियो।
लुम्बिनी घुमेपछि सोनपरीले आफ्नो हातले दक्षिण दिशातिर देखाउदै मलाई भनिन्, 'ऊ त्यताचाहिँ नेपालको दक्षिणी छिमेकी देश भारत पर्छ।'
सोनपरीले मलाई आकाशबाटै विभिन्न ठाउँ डुलाइन्। हामी दुवै मख्न थियौं। तर केहिबेर अगाडिसम्म हँसिलो र उज्यालो सोनपरीको अनुहार एकाएक फरक देखिन थालेको मैले याद गरेँ। उनको आवाजमा पीडा, दुःख र सहानुभूति मिसिएको थियो।
सोनपरीको बदलिएको रूप म अचम्म मानेर हर्दै थिएँ। त्यो देखेर सोनपरीले मलाई सम्झाउँदै भनिन्, 'हेर अहिले भारतमा कोरोनाले प्रत्येक दिन लाखौं मानिसहरू संक्रमित भैरहेका छन्। हजाराैं मानिसले आफ्नो ज्यान गुमाइरहेका छन्। त्यहाँ भएका सबै अस्पतालहरू भरिइसके। बिरामीलाई उपचार गर्न चाहिने अत्यावश्यक औषधि र अक्सिजनसमेत अभाव भइरहेको छ। अस्पताल बाहिर बिरामीहरूको भीड छ। उनीहरूले उपचार पाइरहेका छैनन्।'
सोनपरी यी सब भन्दै गर्दा भावुक बन्दै थिइन्। उनले अगाडि बोल्दै गइन्, 'ज्यान गुमाएकाहरूको सामुहिक दाहसंस्कार भइरहेको छ। त्यसको लागि पनि घण्टौं कुर्नुपर्ने।'
भारतमा कोरोना भाइरस महामारी र त्यसले यस्तो अवस्था एक्कासि देखाएको भने होइन। मानिसहरूमा भएको 'ओभर कन्फिडेन्स' र उनीहरूले समयमै समाधानी नअपनाएका कारण यस्तो अवस्था सृर्जना भएको हो।
सोनपरीले यी सब भन्दै गर्दा म उनको अनुहार हेरिरहेँ। उनी बोल्दै थिइन्। मलाई पुलुक्क हेरिन्। अनि मेरो हात समाउदै फेरि भन्न थालिन्, 'ल जाऔं। तिमीलाई एकपटक भारतको विभिन्न ठूला सहर घुमाइदिन्छु।'
त्यसपछि सोनपरीले मलाई कोरोना संक्रमणले जनजीवन अस्तव्यस्त बनाएको भारतको विभिन्न राज्य र ठूला सहरहरू घुमाइन्। त्यहाँ भएका अस्पतालहरूको दृश्य साँच्चै सोनपरीले भने जस्तै थियो। बिरामीहरू जहीत्यही। अस्पतालमा बेड छैन। एउटै बेडमा दुई-तीन जना बिरामीको उपचार भइरहेको, अस्पतालको करिडरहरूमा समेत मान्छेको भीड, बिरामीका आफन्तहरू औषधि र अक्सिजनको लागि यताउता भौतारिरहेको दृश्यले मलाई निकै अत्यायो।
थुप्रै बिरामीहरू मरिरहेका थिए। सोनपरीले मलाई तिनीहरूको सामुहिक दाहसंस्कार गराएको ठाउँ पनि देखाइन्। मर्नेको संख्या अत्यधिक भएकोले विधि पुर्याएर दाहासंस्कार हुन पाएको थिएन। चारैतिर एकदमै अत्यास लाग्दो र भयावहपूर्ण दृश्य देखिन्थ्यो।
सबै तिर यस्तो दृश्यले मलाई भित्रभित्रै डर लाग्न थाल्यो। हाम्रो देशमा पनि कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दैछ। भारत जस्तो राष्ट्र जहाँ सुविधा र प्रयाप्त जनशक्ति छ, त्यहाँको अवस्था त यस्तो छ। हाम्रो जस्तो राष्ट्रले झन् कोरोनासँग कसरी लड्ला?
अहिले जुन अवस्थामा हाम्रो देशमा संक्रमित फैलिरहेको छ, यसलाई नियन्त्रण गर्न नसके नेपालको अवस्था पनि छिट्टै भारतको जस्तै हुन बेर लाग्दैन। अझ त्योभन्दा भयावह अवस्था आउने निश्चित छ।
भविष्यमा यस्तो अवस्था आइपर्नबाट रोक्न हामीहरू अहिले नै सचेत भएर स्वास्थ्य मापदण्डको पालना गर्नु जरूरी छ।
देशको भविष्यको अवस्था देखेरै म सपनाबाट झसंग भएर ब्युझिएकी थिएँ।
ओहो! कस्तो भयानक सपना। सपनाबारे सोच्दासोच्दै बिहान भैसकेको थियो। घामले बिस्तारै आफ्नो सुनौलो किरण चारैतिर फैलाउन थालिसकेको थियो। त्यसपछि म पनि उठेँ।
मेरो सपनाको घटनाबाट हामी सबैले अनुशासित भएर स्वास्थ मापदण्डहरू अपनाउनु पर्छ भन्ने पाठ सिक्न जरूरी छ। अनि मात्रै भारतको जस्तो अवस्था नेपालमा आउन नदिनबाट रोक्न सक्छौं।
(सम्राज्ञी खत्री भ्याली भ्यू स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन्।)