सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
२०७७ साल कोरोना महामारीले गर्दा सबैका लागि विशेष हुन पुग्यो। यसै बीच किनकिन जहिल्यै मलाई वा मेरो परिवारलाई कोरोना लाग्छ कि भनेर मनमा डर हुन्थ्यो। कोरोनामा मैले नयाँ-नयाँ अनुभव पनि जोड्दै गए भनौं।
२०७६ को अन्तिम परीक्षा शिक्षा मन्त्रालयले दिएको निर्देशनको पालन गर्दै हुनुभन्दा पहिलै परीक्षा सञ्चालन भयो। परीक्षा सकिएपछि मैले घरमा बसी नयाँ-नयाँ कुरा सिक्न थालेँ। मैले परिवारसँग समय बिताउन पाएँ। मोबाइलमा नयाँ-नयाँ गेम खेल्दै आफ्नो समय बिताए। सरकारले पनि लकडाउनको घोषण गर्यो।
यसै बीच हाम्रो छिमेकीलाई कोरोना लाग्यो भनेर खबर सुनेँ। त्यसपछि म धेरै दिनसम्म बाहिर गइनँ। एक विद्यार्थी भएर ज्ञान प्राप्त गर्नुपर्छ। त्यसैले मैले विद्यालयले बनाएको पढाइ सम्बन्धित भिडियो हेर्दै शिक्षा प्राप्त गरेँ। त्यस्तैमा मेरो विद्यालयबाट वैशाख १३ गतेबाट अनलाइन कक्षा सञ्चालन हुने सूचना प्राप्त भयो।
अनलाइन कक्षाको पहिलो दिन धेरै रमाइलो भयो। साथीहरूसँग भेट्ने मौका पाएँ। पहिलो हप्ता एक-एक घन्टा अनलाइन कक्षा सञ्चालन भयो। दोस्रो हप्ता दुई-दुई घन्टा भयो र तेस्रो हप्तादेखि तीन-तीन घन्टा अन्लाइन कक्षा सञ्चालन भयो। लकडाउनले गर्दा मोबाइल र कम्प्युटर नै साथी हुन पुगे। यसै बीच मैले चिनियाँ भाषा, टेक्वान्डो जस्ता मलाई मन पर्ने विषयहरूको खोजअनुसन्धान गर्न पाएँ।
यता टिभी, समाचारमा दिनदिनै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको समाचार बारम्बार आई नै रहन्थ्यो। लकडाउनमा मैले विभिन्न एपबाट कुरा गर्न थाले जसले मलाई समय बिताउँन मद्दत गर्यो। लकडाउनले गर्दा मोबाइलमा म धेरै गेम खेल्न थालेँ।
एक-दुई महिना भैसकेको थियो अनलाइन कक्षा सञ्चालन भएको। किन हो किन मलाई अनलाइन कक्षाबाट अल्छी लाग्न थाल्यो। अल्छी भन्नाले अनलाइन कक्षा नजाऊँ जस्तै लाग्ने। गए पनि बस्नै मन नलाग्ने। मेरो पुरानो साथीसँग अनलाइन कक्षाका विषयमा मैले कुराकानी पनि गरेँ र सोचेँ, अनलाइन कक्षाले न त मैले केही बुझेको छु न त यसबाट परीक्षा नै हुनेछ।
यही कुरा मेलै अभिभावकहरुलाई हिम्मत गरेर भनेँ। नभन्दै वहाँहरू पनि सहमत हुनुभयो। त्यसपछि मैले अनलाइन कक्षा जान छोडिदिएँ। साथीहरूले मेरो बारेमा के सोच्छन् होला भन्ने सोचेर उनीहरूसँग बोल्न पनि छोडिदिएँ। त्यो बेला म आफ्नो समय गेम खेलेर, चलचित्र हेरेर बिताउन थालेँ। मैले मोबाइलबाट पुराना साथीहरू र धेरै आफन्तसँग कुरा गर्न पाएँ।
३-४ हप्ता भैइसकेको थियो अनलाइन कक्षा छाडेको पनि। लामो समय कक्षामा उपस्थित नभएपछि मेरा शिक्षकहरूले अभिभावकसँग कुराकानी गरे। शिक्षकले मलाई कुराकानीको लागि बोलाउनुभयो। म त्यो बेला नुहाइरहेको थिएँ। मलाई असाध्यै डर लागिरहेको थियो गाली खान्छु कि भनेर। आमाले म अबदेखि अनलाइन कक्षा जान्छु भनेको छ भन्ने कुरा भनिदिनुभयो।
त्यो दिन सोमबार थियो। म कक्षामा जान लागेको थिएँ। तर रिङ्गटा लागेर भर्याङबाट लडेँ। लडेपछि २-३ मिनेटसम्म म बेहोस् भएछु। मेरो टाउकोमा पनि ठूलो टुटुलको उठेछ। त्यो दिन म अनलाइन कक्षामा जान सक्ने कुरै भएन। अर्को दिन मलाई अस्पताल लगियो। धन्न, मेरो हड्डीमा केही भएको रहेनछ। निकै गाह्रो भएकाले कठिन त्यो हप्ता म कक्षामा गइनँ।
अर्को हप्ताको पहिलो दिन मलाई कक्षा जानु थियो। डर पनि लागिरहेको थियो। कक्षाको समय भैसकेको थियो तर मलाई इमेल नै आएन। त्यस्तै १५ मिनेट जति प्रतीक्षा गर्दा पनि इन्भिटेसन नआएपछि मैले आमालाई भने। एकछिनपछि आमाले विद्यालय कल गर्दा शुल्क नतिरेको कारण इन्भिटेसन नआएको कुरा थाहा भयो। हुन पनि ३-४ महिनादेखि शुल्क तिरेका थिएनाैं।
प्रथम चौमासिक परीक्षा पनि आउन लागेको थियो। त्यो हप्ता गुगल क्लासरूमका शिक्षकले राखिदिनुभएको पाठ्यसामग्रीको मद्दतले परीक्षाको तयारी गरेँ। अब भने मलाई निकै पछुतो हुन थाल्यो किनकि मैले अनलाइन कक्षामा परीक्षा हुँदैन भनेर ढाटेको थिएँ। नभन्दै अर्को हप्तादेखि परीक्षा सुरू भयो। मैले परीक्षा पनि दिएँ। मलाई आश्चार्य लाग्यो कि कसैले मलाई गाली गरेनन। उल्टै शिक्षकहरूले नआएकोमा दु:ख व्यक्त गर्नु भयो। त्यो दिनदेखि हरेक दिन म अनलाइन कक्षामा उपस्थित हुन थालेँ।
मेरो रिजल्ट राम्रै आयो तर पहिलेजस्तो त के हुन्थ्यो? मैले धेरै कुरा गुमाइसकेको थिएँ। त्यो दिन कक्षा छाडेकाले साच्चिँकै पछुतो पनि भयो। दसैं-तिहारजस्ता पर्व आए अनि गए तर मैले राम्ररी मनाउन सकिनँ।
बाहिर कोरोना केही कम भएको हो कि भन्ने बिस्तारै मेरो छेउछाउका मानिसहरूले माक्सको प्रयोग गर्न छोडेको देखेर थाहा हुन्थ्यो। केही मानिसले मात्र माक्स र सेनिटाइजरको प्रयोग गर्थे। बिस्तारै सरकारले पनि लकडाउन हटायो। मचाहिँ घर बसेर वाक्क भैसकेको थिएँ र विद्यालय खुलोस् जस्तो हुन थालेको थियो।
मलाई अनलाइन कक्षाभन्दा विद्यालयमा नै पढ्न रमाइलो लाग्थ्यो। तर पनि नियमित अनलाइन कक्षामा सहभागी हुनै पर्यो। दोस्रो त्रैमासिक परीक्षा पनि आयो। मैले पढेर परीक्षा दिएँ। राम्रो रिजल्ट आयो।
माघ महिनातिर एक-दुई हप्ता अनलाइन कक्षा भयो अनि हाम्रो विद्यालय खुल्यो। लामो समयपछि विद्यालय जाँदा त्यहाँ भएका रूखहरू पनि हर्लक्कै बढेछन्। त्यो दृश्य देखेर मैले आनन्दको अनुभूति गरेँ। कक्षामा धेरै रमाइलो हुन्थ्यो। जब म र मेरा साथीहरू फुटबल खेल्थ्यौँ, हामी सबै कुरा बिर्सन्थ्यौँ। फाइनल परीक्षा पनि आयो। मैले पढेँ अनि परीक्षा दिएँ। रिजल्ट राम्रै आयो तर म धेरै खुसी थिइनँ।
म चौथो भएको थिए। प्रथम, द्वितीय वा तृतीय भएको भए मैले छात्रवृत्ति पाउँथे। थोरै भए पनि आमाबाबालाई सजिलो हुन्थ्यो। अब त्यस गल्तीलाई सच्याउन त सकिदैन। आगामी दिनमा चाहिँ पक्कै केही गर्ने योजनामा छु।
२०७७ को अन्तिम तीन दिन सिफल, काठमाडौँमा जात्रा थियो। पहिलो दिन बज्रेश्वरी माइको जात्रा थियो। त्यो दिन मेरो साथी सुजेनको पनि जन्मदिन थियो। हामीले धेरै रमाइलो गर्यौँ। रातीसम्म पनि जात्रा थियो। मैले साथीहरूसँग जात्रामा खुब रमाइलो गरेँ। अहिले म बिदामा बसेको छु।
वैशाख १६ देखि नयाँ शैक्षिक सत्र पनि सुरू हुँदैछ। मलाई लेख्नका लागि शिक्षकले निकै उत्प्रेरित गर्नुहुन्छ। लेख्ने कुरा ठूलो हो भन्नुहुन्छ। यो वर्ष कोरोना महामारीले गर्दा भौतिक रूपमा विद्यालय जान त पाइएन तर मैले नयाँ-नयाँ अनुभव गर्नचाहिँ पाएँ।
पछिल्लो समय पनि कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको कुरा आएको छ। के-के हुने हो?
(प्रतीक डंगोल डियरवाक सिफल स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।)