सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
२०७७ साल कोरोनाको काल बन्यो। धेरै मानिसले सदासदाका लागि अकालमा ज्यान गुमाए। हाम्रो देशमा पनि कोरोनाको कहर आयो र महामारीलाई रोक्न देशमा लकडाउन भयो।
लकडाउन भएको कारण हामी स्कुल जान पाएनौँ। घरमै बस्नुपर्यो। घरमै बस्दाखेरी साथीभाइसँग भेट्न पाइएन। आफन्तसँग पनि भेटघाट गर्न पाइएन। कुनै सभा समारोह पनि आयोजना भएनन। अफिस, विद्यालय, कलेज, कलकारखाना इत्यादि सबै बन्द भए। विश्व नै एक किसिमले बन्द भएजस्तो भयो। बस, हवाईजहाज, रेल, इत्यादि सवारीसाधनहरू थन्केर बसे।
बिस्तारै स्कुल, कलेज र अफिसहरूमा अनलाइनमै काम गर्न थालियो। म अध्ययनरत विद्यालयमा पनि हाम्रा शिक्षकहरूले बैठक गरेर अनलाइन पढाइ गर्ने निर्णय गरे। हामीले गुगल मिट डाउनलोड गरेर अनलाइन कक्षा गर्यौ। हाम्रो अनलाइन कक्षामा तिनओटा कक्षा भएको थियो।
बाबा नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ। त्यसैले लकडाउनको केही समयपछि म रोल्पामा आफ्नो बाबालाई भेट्न गएँ। त्यहाँ मैले पढेँ, खाएँ, लेखेँ र खेलेँ। मैले त्यहाँ टेबल टेनिस खेल्न सिकेँ। मेरो छुट्टीको बेला म र मेरो भाइ मिलेर फुटबल खेल्थ्यौँ। त्यहाँ रोल्पामा मैले पुलिसको बारेमा धैरै जानकारी पाएँ। जस्तै: पुलिस हुन के गर्नुपर्छ? पुलिसले कसरी तालिम दिन्छन्?, इत्यादि।
मेरो अनलाइन कक्षा भने चलिरहेको नै थियो। रोल्पामा इन्टरनेट निकै कमजोर भएकाले मैले निकै कठिनाइ झेल्नुपर्यो तर पनि नयाँ ठाउँ, नयाँ परिवेशमा म रमाइरहेको थिएँ। अझ कोरोना महामारीको कहर नभएको भए कति ठाउँ घुमिन्थ्यो होला जस्तो लागिरहन्छ।
यसै बीच मेरो घरको तल बस्ने आन्टी र अङ्कललाई कोरोना लाग्यो। मेरो ठूलोममीलाई पनि कोरोना लाग्यो। आन्टी,अङ्कल र ठूलोममीलाई रुघा, खोकी र ज्वरो आएको थियो। फोनबाट नै वहाँहरूसँग कुराकानी हुन्थ्यो।
हामी रोल्पाबाट काठमाडौँ हवाइजहाजमा जाने सल्लाह गर्यौ। रोल्पामा विमानस्थल थिएन त्यसैले हामी भैरहवामा जानुपर्थ्यो। रोल्पाबाट भैरहवासम्म जान ६ घण्टा लाग्छ। हामी रोल्पाबाट निस्क्यौं र भैरहवामा पुग्न आँटेपछि हाम्रो एक रिक्सासँग दुर्घटना भयो। हामीलाई र हाम्रो गाडीलाई केही भएन तर रिक्सा चलाउने मान्छेलाई खुट्टामा थोरै चोट लाग्यो। रिक्सा चलाउने मान्छेले सवारी सङ्केत बत्ती तोडेर पछाडि गएकाले त्यो दुर्घटना हुन पुगेको थियो।
मेरो भाइले हवाइजहाजमा नजाने, गाडीमा जाने भन्यो। अन्तिममा भने मान्यो। काठमाडौँ विमानस्थलमा हामीलाई हजुरबुवाले लिन आउनुभएको थियो। त्यही विमानस्थलमा काम गर्ने मेरो काका पनि हुनुहुन्थ्यो। हामी काकुको कार्यालयको गाडीमा गयौँ र हजुरबुबा पनि आफ्नो घर जानुभयो। मैले एक-दुई दिनपछि सबैजनासँग भेटेँ। मैले अनलाइन पढ्दा फागुन ३ गते हाम्रो स्कुल खुल्छ भनेर थाहा पाए।
मैले धेरैजसो अनलाइन कक्षा मामाघरमा बसेर पढेँ। मेरो एउटा लेख सेतोपाटी अनलाइन पत्रिकामा पनि छापिएको थियो। जसको नाम हो, 'मेरो यात्रा अनुभव'।
मेरा थुप्रै रहरमध्ये नयाँनयाँ ठाउँ घुम्नु पनि हो। ती ठाउँ घुमिसकेपछि म लेख्न पनि मन पराउँछु। शिक्षकले निकै मन पराउँनु पनि हुन्छ।
२०७८ साल सुरू भइसकेको छ। कोरोना भाइरसको दोस्रो भेरियन्ट तीब्र रूपमा देखापरेको छ। खै के-के हुने हो?
(आयुश सुवेदी डियरवाक सिफल स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।)