सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
नमस्ते! मेरो नाम शेमन्तक भन्डारी हो। म पाँच कक्षामा पढ्छु। वार्षिक परीक्षा आउँदै थियो, फेरि लकडाउन भयो। पोहोर पनि यसै समयमा लकडाउन भएको थियो। यसपालि पनि यस्तै भयो। पोहोर पढ्न नपाए पनि घरका केही काम सिकेको थिएँ। यसपालि घरमै परीक्षा दिइयो।
आफूभन्दा ठूलाले भनेको सुनेको थिए ‘बाँच्नु पर्छ के-के देख्न पाइन्छ।’ त्यस्तै भयो।
घरमा बसेर परीक्षा पनि दिन पाइयो। विद्यालयको कार्यक्रममा दादाहरूले पङ्खा चलाएको देखेको थिएँ। मलाई पनि यसपालि त्यस्तै गर्ने रहर थियो। मेरो एउटा बिग्रिएको रिमोटवाला कार थियो। त्यही कारलाई खोल्ने विचार गरेर पेचकसलाई कारमा धुमाउन थाले।
कार खोलियो। त्यसभित्र दुइओटा मोटर थियो। मोटर सद्दे छ छैन कसरी थाहा पाउने भनेर साच्दै थिएँ। ब्याट्रीको सम्झना भयो। स्कुलमा दादाहरूले ब्याट्रीको प्रयोग गरेको सम्झिएँ। घरमा भएको गिजरको ब्याट्री लिएर मोटर चेक गरे।
ब्याट्रीको एक छेउ मोटरको एउटा तार समाए र अर्को छेउमा अर्को तार समाए। धेरै पटक गर्दा पनि त्यो चलेन। फेरि अर्को मोटरलाई पनि त्यसै गरेको त मोटरको अर्को छेउका साना सेता धर्काहरू धुमे। त्यो देखेपछि त मेरो आँट झन् बढ्यो। मैले त्यस घाटमा काटुनलाई काटेर सानो पङ्खाको पाताजस्तै पारी जोडेर हेरेको त त्यो धुम्यो।
त्यसपछि मैले ती तारलाई कालो टेपले ब्याट्रीमा टाँसे। पङ्खा त धुमिरह्यो। यसरी त भएन। ब्याट्रीमा 'अन-अफ' कसरी गर्ने भनेर यूट्युबमा खोजेँ। आइडिया मिल्यो। त्यसपछि मेरै खेलौना कारको अनअफ गर्ने स्वीच भेट्टाएँ। ब्याट्रीमा जोडेको तार पनि झिकेँ। मोटरको एउटा तार सोझै ब्याट्रीको एक छेउमा जोडे अनि अर्को तारलाई स्वीचको एक छेउको तारमा जोडे। त्यसपछि स्वीचको अर्को तार ब्याट्रीको बाँकी रहेको तारसँग जोडे।
अनि बिस्तारै अनअफ स्वीच चलाएको त पङ्खा धुम्ने र बन्द हुने भयो। यो देखेर मेरो भुँइमा खुट्टा रहेन। मैले यो मेरो काम सबैलाई देखाएँ। यस कामले मलाई अरू यस्तै नयाँ काम गर्ने रहर थपेको छ। बिग्रिएको सामानबाट अर्को नयाँ कुरा सिकिने रहेछ। यो कामले मलाई ब्याट्री, तार र स्वीचका केही कुरा सिकायो।