सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
पुस्तक विवेचना – सन्दुक रूइत
पुस्तक परिचय – 'सन्दुक रूइत' पुस्तक आँखाका डाक्टर सन्दुक रूइतको जीवन कथा हो। यस किताबका लेखक अली ग्रीपर हुन्। यो पुस्तक पहिले अङ्ग्रेजीमा लेखिएको हो। त्यस पुस्तकलाई खगेन्द्र संग्रौलाले नेपाली अनुवाद गरेका हुन्। यस पुस्तकको बजारी मूल्य रू ५५० रहेको छ।
लेखक परिचय – अली ग्रीपर एक अस्ट्रेलियन पत्रकार हुन्। उनले पत्रकारिताको क्षेत्रमा काम गरेको २० वर्षभन्दा बढी भइसक्यो। उनले काम गरेको पत्रिकाहरूमध्धे 'गुड विकेन्ड', 'सिड्नी मर्निङ्ग हेराल्ड', 'द डेली टेलीग्राफ', 'द अस्ट्रेलियन' हुन्। यस जीवन कथा लेख्न उनले डाक्टर सन्दुक रूइतसँग तीन वर्ष काम गरिन्।
कथावस्तु – उनी त्यस्ता डाक्टर भनेर चिनिन्छन् जसले एक लाख आँखाहरूका ज्योति फर्काएका छन्। कुनै मानिसको यो भन्दा उचित परिचय के हुन सक्छ र?
रूइतको जन्म हिउँले ढाकिएको नेपालको उत्तरपूर्वी गाउँ ओलाङचुङगोलामा भएको हो। त्यो संसारकै एकान्त ठाउँहरूमध्ये एक थियो। सबैभन्दा नजिकको बजार, ताप्लेजुङ बजार, चार दिनको पैदल दूरीमा थियो। त्यसैकारण, उनी १७ वर्षका हुँदा, उचित उपचार नपाएर उनकी बहिनी याङलाले क्षयरोगका कारण आफ्नो ज्यान गुमाउन पुगिन्। त्यसभन्दा पहिले नै दाजु उनी झाडा पखाला र बहिनी चुन्दुक ज्वरोले बितिसकेका थिए।
आफ्नै परिवारका तीन सदस्यले बाल्यकालमा उचित उपचार नपाएर ज्यान गुमाएको देख्दा रूइत सारै दुःखी भए र अरू कसैले यही दुःख भोग्न नपरोस् भनेर भविष्यमा डाक्टर बन्ने प्रण लिए। उनले दार्जिलिङस्थित सेन्ट रोबर्टस् स्कुलमा अध्ययन गर्न पाए। पछि आफैँले लिएको प्रणको मान राख्दै आँखाको डाक्टर बन्न पुगे।
यसै बीचमा उनको नन्दासँग बिहे पनि भयो। रूइत मोतिया विन्दुको शल्यक्रिया नेपालमा परिचित गराउने व्यक्ति बने। मित्र फ्रेड हलोजको सहायताले तिलगङ्गा आँखा प्रतिष्ठानको स्थापना पनि गरे। साथै उनले मोतिया विन्दुको शल्यक्रिया गर्दा चाहिने इन्ट्राअकुलर लेन्स नेपालमै उत्पादन सुरू गरे। यही लेन्स नेपालमा बनेकाले सस्तो भएका कारण शल्यक्रियाको मूल्य घट्यो र सुलभ भयो।
उनी नेपालभर पुगे र हरेक ठाउँमा हजारौँ शल्यक्रिया गरी सबैको दृष्टि फर्काइदिए। नेपालमा मात्र होइन, अरू एसियाली देशहरूमा गएर अरू डाक्टरलाई मोतिया विन्दु शल्यक्रिया गर्ने तालिम पनि दिए। यही बेला उनले भुटान र थाइल्यान्डका राजकुमारीहरूलाई भेट्ने मौका पनि पाए। उनले सन् २०१८ मा भारत सरकारबाट पद्म श्री पुरस्कार पनि प्राप्त गरे। धेरै मानिसले उनलाई 'आँखाका देवता' भनेर पुकार्छन्, र उनीहरू गलत होइनन्।
समय-परिवेश – यस कथा एक जनाको मोतिया विन्दुको शल्यक्रियाबाट सुरू हुन्छ। एक महिलाले मोतिया विन्दुका कारण दुवै आँखाको ज्योति गुमाएकी हुन्छिन्। आफ्नो कान्छो छोरो देख्न पाएकी हुन्नन्। रूइतले शल्यक्रिया गरेपछि भने उनले आफ्नो प्यारो छोरो देख्न पाउँछिन्। यस कथाको अन्त्यमा रूइत र उनकी श्रीमती नन्दा पहाडहरू चढ्न जान्छन् र जीवनको मजा लिन्छन्। यस कथा विश्वका धेरै ठाउँ पुग्यो। यो कथा नेपालबाट अस्ट्रेलिया, हङ्कङ्, चीन, भियतनाम जस्ता देशहरूसम्म पुगेको छ। नेपालभित्र भने रूइतको जन्मस्थल ओलाङचुङगोला, मुस्ताङ, चारङ, तराइ, पशुपतिनाथ मन्दिर र अरू धेरै ठाउँहरूसम्म यो कथा पुग्छ। यिनै सबै ठाउँमा रूइतको अनुभव बारे हामीले थाहा पाउँछौँ।
चरित्र चित्रण – यस कथामा सन्दुक रूइत मुख्य पात्र हुन्। पिना सोनाम, आमा कासाङ, श्रीमती नन्दा, मित्र फ्रेड हलोज, छोरी सेरेब्ला, छोरी साटेन्ला यस कथाका सहायक पात्रहरू हुन्। मुख्य पात्र सन्दुक रूइतको चरित्र चित्रण निम्नानुसार छ।
सन्दुक रूइत – रूइत पढ्नमा धेरै रूचि राख्ने मानिस थिए र अझ पनि त्यही रूचि राख्छन्। उनले डाक्टर बन्ने प्रण पूरा गरे। प्रयास र मिहेनत गरे कोही पनि सफल हुन सक्छ भन्ने भनाइको प्रमाण रूइत हुन्। उनी आफ्नो लक्षमा अटल थिए। आफ्नो जीवनमा उनले फ्रेड हलोज जस्ता मार्गदर्शक पाए र उनको सल्लाह तथा आफ्नो विवेकको भरमा जीवनमा सफल बने।
भाषा शैली – यस कथा प्रोत्साहित पार्ने तरिकाले लेखिएको छ। यसमा केही गाह्रा शब्द छन् तर अरू कुरा भने सरल शब्द प्रयोग गरेर बुझ्ने तरिकाले लेखिएको छ। यस किताबमा २३४ पाना छन्। यस कथा १२ वर्षभन्दा तलका केटाकेटीले अभिभावकको सहायताले र १२ वर्ष माथिकाले आफैँले पढ्न सक्छन्।
सन्देश – सन्दुक रूइतको जीवनबाट हामीले धेरै कुरा सिक्न सक्छौँ। यति सानो र अरू ठाउँसँग छुट्टिएको गाउँमा जन्मेर-हुर्केर एक लाख मानिसको ज्योति फर्काउने मानिसलाई देउताको रूप नभने के भन्ने? मानिस कहाँबाट आएको छ भनेर मतलब राख्नु भन्दा मानिसले के गर्दैछ को ध्यान राख्न जरूरी छ। मेरो विचारमा कडा मिहेनत गरेमा मानिसले जे पनि गर्न सक्छ। अहिलेसम्म जो जीवनमा सफल भएका छन्, उनीहरूले कडा मिहेनत गरेकै हुन्छन्। हामीले सन्दुक रूइत जस्ता प्रेरणादायी मानिसहरूसँग धेरै कुरा सिक्न जरूरी छ।
(आश्रव राज वन्त रातो बङ्गला स्कुल, ललितपुरमा कक्षा ८ मा अध्ययनरत छन्।)