सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
दोस्रो लहरको कोरोना भाइरसको प्रकोपसँगै सुरू भएको निषेधाज्ञा पनि महिना-दिन हुन लाग्यो। मेरो ममीले मलाई एकदिन वहाँको अफिस जाँदा सँगै लैजाने अफर गर्नुभयो। मलाई घरमा बस्दा-बस्दा अल्छी लागिरहेको थियो। त्यही भएर म पनि ममीसँग गएँ।
अरू बेला एकदम भिडभाड हुने बाटाहरू असाध्यै खाली-खाली देखिन्थ्यो। थोरै संख्यामा मात्रै सवारी साधन गुडेका देखिन्थे। एम्बुलेन्स र केहि अति आवश्यक कामका लागि मात्र मानिसहरू हिँडडुल गर्न पाउँथे।
बाटाहरू निकै सफा थियो। हावा पनि एकदमै स्वच्छ र ताजा चलिरहेको थियो। बाटोमा मनै लोभ्याउने बैजनी रंगका ज्याकरान्डाका फूलहरू यताउता छरिएका र रूखैभरी मनमोहक देखिन्थे। त्यो दृश्यले वातावरणलाई थप सुन्दर बनाएको थियो। बाटोमा सवारी साधनहरूको चाप नभएको कारण वातावरण अत्यन्तै सफा र स्वच्छ थियो। कतै पनि प्रदुषण थिएन।
मैले बाटोमा धेरै प्रहरी अंकल आन्टीहरू देखेँ। वहाँहरूले अतिआवश्यक बाहेकका सवारी आवागमनलाई चेकजाँच गरी नियन्त्रण गर्दै हुनुहुन्थ्यो। हामी ममीको अफिसको काम सकेपछि धेरै टाढासम्म गएनौं किनकि यो समय घुमघाम र अनावश्यक यात्रामा निस्कन लायक थिएन।
हामी थापाथली बबरमहल हुँदै गौशाला सम्म पुगेर फर्कने योजनामा थियौं। सोही अनुसार अगाडि बढ्दै गयौँ। सडक खाली भएकाले गौशाला पुग्न हामीलाई धेरै समय लागेन। जाँदै गर्दा मैले पशुपतिनाथ मन्दिर वरिपरि अरू बेलाभन्दा एकदम धेरै अस्वाभाविक रूपमा जताततै धुँवा उडेको देखेँ। त्यसको कारण अधिकांस मानिस कोरोना भाइरसबाट मृत्यु भएकाले मृत शरीरलाई जलाउँदा निस्किएको धुँवा रहेछ। मेरी ममीले भन्नु भएपछि मात्रै मलाई थाहा भयो। त्यो कुरा सुनेर म धेरै दु:खी भएँ।
अनि मनमनै भगवानसँग प्रार्थना गरेँ, 'जति पनि मानिस अहिले कोरोना भाइरसबाट संक्रमित भएका छन्, उनीहरू छिटो भन्दा छिटो स्वस्थ बनुँन।'
अन्य मानिसलाई अनावश्यक जथाभावी नहिँड्न र सरकारले तोकेको नियम पालना गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सुरक्षित रुपमा घरमा बस्नुहोला भन्न चाहन्छु।
हामी यो छोटो यात्रापछि घर फर्कियौं। महामारीलाई रोक्न हामीले आवश्यक सावधानी अपनायौं भने यो रोगबाट बच्न सकिन्छ। हामीले आत्मबल उच्च राख्नुपर्छ र खुसी हुनुपर्छ। साथै सरकारले जारी गरेको निशेधाज्ञाको पालना गर्नुपर्छ। हामी सबैको जीवन रक्षा गर्न रातदिन अप्ठ्यारो सहेर खटिइरहेका डाक्टर तथा स्वास्थ्यकर्मी अनि सुरक्षाकर्मीहरूलाई धेरै-धेरै धन्यवाद पनि भन्न चाहन्छु। सबै जनाले उहाँहरूको मानवसेवा र कार्यलाई सम्मान गरौं पनि भन्न चाहन्छु।
...
सन् २०१९ देखि सुरू भएको कोरोना भाइरसले संसारलाई नराम्रोसँग सताइरहेको छ। कुनै पनि मुलुक यसको प्रकोपबाट बच्न सकेन। विश्वभर हालसम्म १६ करोड ४५ लाख मानिस यस भाइरसबाट संक्रमित भएका छन् भने ३४ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।
गत बर्षदेखि कोरोनाले हामी नेपालीलाई पनि नराम्ररी छोप्यो। त्यतिबेला हाम्रो कक्षा ६ को अन्तिम परीक्षाको समय थियो। त्यो बेलादेखि अहिलेसम्म मैले मेरा साथीहरू भेट्न पाएको छैन। जब कोराना भाइरसको प्रभावबाट बच्न र बचाउन बन्दाबन्दी सुरू भयो, मानिसहरू आतंकित भई घरभित्रै थुनिएर बस्न बाध्य भए।
यस प्रकारको महामारी विगतमा हामीले कहिल्यै पनि सामना गर्नु परेको थिएन। यसै कारणले छुट्टी सकिसकेपछि पनि विद्यालयहरू बन्दै रहेँ। मैले यो रोगको असर छिट्टै समाप्त हुने आशा गरेकी थिए। तर त्यसो हुन सकेन।
हामी विद्यालय नगएकाले कक्षा ७ को पढाई निकै ढिला असारमा मात्र सुरू भयो। त्यो पनि हामीले नसोचेको र अभ्यास नगरेको अनलाइन कक्षाबाट। सुरूका केही हप्ता त मलाई अनलाइन कक्षा पढ्न पाउँदा मजा आयो। तर केही हप्ता नबित्दै अनलाइन विधिबाट भएको पढाइमा मजा कम हुँदै गयो।
साथी र गुरू-गुरूआमाहरूलाई भेट्न नपाइकन पढ्नुपर्दा एकदम नरमाइलो हुँदो रहेछ। तर हामीसँग त्यसको अर्को विकल्प पनि थिएन। त्यसैले यसमा नै बानी बसाल्दै र अभ्यस्त हुँदै गयौँ।
हामीले विद्यालयमै गएर पढाई गर्न पाएको भए यो भन्दा धेरै कुरा जान्ने थियौँ होला। आज १ वर्षभन्दा धेरै भैसकेको छ। मैले कक्षा ७ को अन्तिम चरणको परीक्षा पनि अनलाइन विधिबाटै दिए। गत बर्ष हामीले सबै पढाई अनलाइनबाटै सिक्यौं। मैले त निजी विद्यालयमा पढेकाले त्यो अवसर पाएँ। तर म जस्ता अरू धेरै विद्यार्थीहरु जो निजी विद्यालयमा थिएनन उनीहरूले पढ्ने मौका पाएका छैनन्। त्यस्तो सोचेर म दिक्क हुन्छु।
आशा गरौं यो खराब समयको छिटै अन्त्य हुनेछ। स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो। त्यसैले हामीले आफू पनि स्वस्थ रहन सचेतना अपनाउनु पर्छ।
अन्त्यमा, आँफू पनि बचौं र अरूलाई पनि बचाउँ भन्न चाहन्छु।
(एन्जल ज्ञवाली पाठशाला नेपाल फाउन्डेशन, बागडोल ललितपुरमा कक्षा ७ मा अध्ययनरत छिन्।)