सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको जटिल अवस्थामा सबै कार्यालय, विद्यालय र करकारखाना बन्द छन्। मेरो विद्यालय पनि अनिश्चित कालसम्म बन्द छ। कोरोना भाइरसको दोस्रो लहरसमेत सुरू भएपछि घरभित्र बस्न म बाध्य छु।
घरबाहिर गएर परिवारसँग घुम्न मन त लाग्छ। तर कोरोनाको त्रासले हामीलाई घरिघरि सताउँछ। टेलिभिजन हेर्दा जहिले पनि कोरोनाकै खबर देखाउँछ। दिनभर घरभित्र बस्दा के-गरौँ के-गरौँ जस्तो हुन्छ। घरभित्र बस्दा-बस्दा दिक्क लागेको बेला पुस्तकहरू पढ्ने, लेख लेख्ने जस्ता कार्यमा मेरो रूची जान्छ।
आजभोलि लेखन कार्य मेरो दैनिकी जस्तो भइसकेको छ। अहिले माहामारीको अवस्थामा दिनभर घरभित्र बसेको बेला लेख लेख्नु मलाई उपयुक्त लाग्छ। लेख्न नपाउँदा दिन खल्लो भएझैँ लाग्छ। कविता, निबन्ध र कथा लेख्न म रूचाउँछु। यी मध्ये मलाई कविता लेख्न सबभन्दा धेरै मनपर्छ।
कविता मेरो भाव व्यक्त गर्ने माध्यम हो। नयाँ-नयाँ सन्देशमूलक शिर्षकमा कविता लेखेर इमेलमार्फत पत्रपत्रिकामा पठाउँछु। मेरा थुप्रै लेख तथा कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन्। एउटा लेख लेख्न कति मिहिनेत गर्नुपर्छ भन्ने कुरा लेखकलाई नै थाहा हुन्छ। कुनै पनि लेख वा कविता लेख्नुअघि उपयुक्त र सन्देशमूलक शीर्षक तोक्नुपर्छ। उक्त शिर्षकको आधारमा आफ्नो भाव विस्तार गर्दै लेख लेख्न सुरू गर्नुपर्छ।
हामीले लेखेको लेखले कुनै न कुनै सन्देश, निष्कर्ष वा सूचना दिनुपर्छ। यी सबै कुरा मध्यनजर गर्दै म लेख वा कविता रचना गर्छु। सम्पूर्ण रूपले लेख तयार भएपछि उक्त लेखलाई म एकचोटि पढ्छु। कुनै त्रुटि फेला परेमा त्यसलाई सच्याउँछु। यी सबै कार्य गरेर मात्र पत्रपत्रिकामा प्रकाशनको लागि आफ्नो लेख पठाउँछु।
निकै परिश्रम गरेर राम्रो लेख तयार भएपछि मलाई आन्तरिक खुसी प्राप्त हुन्छ। आफूले रचना गरेको लेख म आफ्नो आमाबुवालाई पढ्न दिन्छु। उहाँहरूबाट त्यसको प्रशंसा सुन्न पाउँदा मेरो हर्षको सीमा नै रहदैन।
कोरोना कहरमा लेख्ने रहर मेरो लागि निकै लाभदायी साबित भएको छ। नेपाली भाषामा शुद्धसँग लेख्ने कार्यमा मैले निकै प्रगति गरेको छु। नियमित लेख्दै जाँदा मेरो हस्तलेखनमा पनि सकारात्मक प्रभाव परेको छ। यसले गर्दा मेरो लेख्ने क्षमता पनि अभिबृद्धि भएको छ।
लेखन कार्यमा हामी सबैको ध्यान जानु पर्छ। लेखमार्फत हामी आफ्नो भाव व्यक्त गर्न सक्छौँ। लेखन कार्य गरेर हामीले वर्तमान समयको सदुपयोग गर्नुपर्छ।
(सिद्धान्त यादव बुढानीलकण्ठ स्कुल, काठमाडौँमा कक्षा ७ मा अध्ययनरत छन्।)