सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
विद्यार्थीहरूका लागि यो वर्ष इतिहासको रूपमा रहनेछ।
मेरो कक्षा ६ को यात्रा गत वर्षको वैशाख १५ गते सुरु भएको थियो। यही साल २०७८ को वैशाख ३१ गते टुंगियो। अहिलेसम्मको शैक्षिक यात्रामा हामीले धेरै कुरा सिक्ने मौका पायौं। साथै धेरै चुनौतीहरूको सामना गर्नुपर्यो।
भौतिक कक्षामा अभ्यस्त रहेका हामीले कोरोना महामारीका कारण अनलाइन कक्षा लिन थाल्यौं। हामी विद्यार्थी र शिक्षकहरू पनि पहिले यस प्रविधिसँग त्यति परिचित थिएनौं। त्यस कारण सुरूआतमा हाम्रो कक्षा जम्मा दुई घण्टाको हुन्थ्यो।
हामीलाई कक्षामा बोलेको, समयमा आएको, गृहकार्यहरू गरेर समयमा बुझाएको लगायत हाम्रो सम्पूर्ण गतिविधिको लागि मूल्यांकन हुन्छ। बिस्तारै हामी यो प्रविधिसँग परिचित हुँदै गएपछि हाम्रो कक्षाको समय दुई घण्टाबाट चार घण्टा बनाइयो। भौतिक रूपले हामी कक्षामा उपस्थित नभए पनि हाम्रो कक्षा ६ को अध्ययन राम्रोसँग पुरा भयो।
अनलाइन कक्षामा कहिलेकाहीँ हामी विद्यार्थी र शिक्षकहरूलाई दिक्क लाग्छ। किनभने बेलाबेलामा थुप्रै प्राविधिक समस्या झेल्नुपर्छ। जसले गर्दा कक्षा निरन्तर सञ्चालनमा चुनौतीपूर्ण भइदिन्छ। मुख्य समस्या त अझ इन्टरनेट। इन्टरनेट आउने-जाने भइ नै रहन्छ। कहिले शिक्षकको त कहिले विद्यार्थीहरूको। यो समस्याको समाधान हाम्रो शिक्षकहरूले भने निकाल्नुभयो। हाम्रो हरेक कक्षाहरू रेकर्ड गर्न थालियो।
त्यस्तै अनलाइनमा सुरुका दिनमा पानी पर्दा कक्षा संचालन हुँदैनथ्यो। तर पछि-पछि हामीले पानी पर्दासमेत कक्षा लिन थाल्यौं।
अनलाइन कक्षामा गृहकार्य र प्रोजेक्टहरू बनाउन पनि तुलनात्मक रूपमा हामीलाई गार्ह्रो हुन्छ। एक पटक मलाई दिइएको गृहकार्य पुरा गरेर समयमै पठाएकी थिएँ। तर सम्बन्धित शिक्षककोमा पुगेनछ। मैले गरेको गृहकार्य समेत नगरेझैं भयो। पछि शिक्षकबाट थाहा पाएपछि पूरै गृहकार्य फेरि दोहोर्याएर पठाएँ। त्यतिन्जेल ढिला भने भइसकेको थियो।
यी सब त सामान्य समस्या हुन् जुन हामीले भोग्छौं। अनलाइन परीक्षाको समय सबैभन्दा गार्ह्रो हुन्छ। अनलाइनबाट कक्षा लिइरहेका थियौं। केही समयपछि अनलाइनबाटै परीक्षा पनि लिन थालियो। शिक्षकहरूले अनलाइनमा परीक्षा कसरी दिने भन्ने हामीलाई सिकाउनु भयो। हामीले त्यसैगरी अभ्यास गर्यौ।
नेपाली र गणितबाहेक अरू विषयमा टाइप गरिन्थ्यो। किबोर्डबाटै टाइप गर्ने भएर त्यति गार्ह्रो थिएन। तर नेपाली र गणितमा परीक्षा दिन भने गार्ह्रो र समस्या पर्यो। हामीले अनलाइनबाट प्रश्नहरू हेर्दै कापीमा उत्तर लेख्यौ। र लेखेका पानाको फोटो खिच्यौ। ती फोटालाई पिडिएफमा कन्भर्ट गर्यौ। त्यसपछि हामीले दिइएको फर्मको लिंक खोलेर अप्लोड गरेपछि मात्रै परीक्षा सकियो। यो सब गरून्जेल निकै समय जान्छ। त्यसैले कहिलेकाहीँ उत्तर बुझाउन तोकिएको समयभन्दा हामी ढिला हुन्छौं।
यीबाहेक अन्य सानातिना समस्या त कति आइरहन्छन्। जस्तै हामी विद्यार्थीहरूले हात उठाउदा केही प्रश्न सोध्न उठाएको होला भनेर शिक्षकहरू खुशी देखिनुहुन्छ। तर प्रायः त्यस्तो हुँदैन। हामी विद्यार्थी आफ्नो समस्या भन्नलाई हात उठाइरहेका हुन्छौं।
अनलाइन कक्षामा शिक्षकहरूलाई पनि निकै समस्या हुन्छ। आफ्नो विद्यार्थीलाई अनुशासनमा राख्न कम्ता चुनौतिपूर्ण काम होइन! शिक्षकले पटक-पटक भन्दा पनि केही विद्यार्थी भनेकै नमान्ने खालका हुन्छन्। जसले गर्दा शिक्षकहरूलाई उनीहरूलाई बुझाउँन गार्ह्रो भइदिन्छ।
थुप्रै समस्या र चुनौतिका बाबजुत हामीले कोरोना महामारीका कारण आधुनिक प्रविधिबारे धेरै ज्ञान पायौं। जुन हाम्रो लागि ठूलो उपलब्धि हो।
यसबाट मैले के बुझेँ भने नराम्रो कुरामा राम्रो कुरा सँगै आउने रहेछ। त्यसैले, कुनै नराम्रो कुरा आउँछ भने पनि आत्तिनु हुँदैन रहेछ। काम गर्दा चुनौतिको साथमा धेरै कुरा सिकिने रहेछ।
मैले अनलाइन कक्षाबाट छिटो टाइप गर्न, माइक्रोसफट पावरपोइन्टमा स्लाइडहरू बनाउन, फोटालाई पिडीएफमा कन्भर्ट गर्न र यस्तो प्रविधिसम्बन्धी थुप्रै कुराहरू सिक्ने मौका पाइरहेकी छु। मेरो लागि अनलाइन कक्षा निकै फलदायी भइरहेको छ।
(ऋतम्भरा ढुङ्गाना पाठशाला नेपाल फाउण्डेशन, बानेश्वरमा कक्षा ६ मा अध्ययनरत छिन्।)