सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
गाँउखाने कथा
साथीहरू, लकडाउनमा घर भित्र बसिरहँदा दिक्क लागेको हुनसक्छ। तर के गर्ने अहिलेको समयमा बाहिर निस्कन पनि खतरा छ। कोरोना लागेर दिनदिनै कतिको ज्यान गइरहेको छ। घर भित्र बस्नु नै आफ्नो र अरूको लागि समेत सुरक्षित हुन्छ।
घर भित्र हामी मोबाइल‚ ट्याब अनि ल्यापटप चलाइरहेका हौला। तर कति समय यसमा मात्र भुल्ने? धेरै स्क्रिन हेरिरहँदा आँखा र टाउको दुख्ने समस्या आउँछ। पढुँ भने पनि कति समय पढ्ने? लामो समयसम्म पढिरहन मन लाग्दैन।
यस्तो बखत बेलाबेला विभिन्न खालका घरभित्रै बसेर खेल्न मिल्ने खेलहरू खेलेर आफैँलाई फ्रेस राख्नुपर्छ। गाउँखाने कथाहरू पनि रमाइलो हुन्छ।
मेरी ठूलो मामु र म फोनबाट कुरा गर्दै एक अर्कोलाई गाउँखाने कथा सोध्छौं। यसरी गाउँखाने कथा खेल्न धेरै रमाइलो लाग्छ। नयाँ-नयाँ शब्द पनि सिक्न पाइन्छ। आफूलाई आउँछ भने आफैँ पनि प्रश्न बनाउन सक्छौं।
ठूलो मामुले मलाई सोध्नुभएको अनि मैले उहाँलाई सोधेका केही गाँउखाने कथाहरू मैले यहाँ तल लेखेको छु।
साथीहरू‚ तपाईं पनि आफ्नो भाइ, बहिनी, दिदी, दाइ, मामु, बाबा अथवा घरमा भएका अरू सदस्यलाई यी गाउँखाने कथाहरू सोध्नुस् है। साथीहरूसँग फोनमा कुरा गरेर पनि सोध्न सक्नुहुन्छ। एकदमै रमाइलो हुन्छ।
१. बोकी हिड्न सकिने यो हो कस्तो घर, घामपानीमा हुन्छ यसकै भर। लौ भन के हो ?
२. अचम्मको छ है यो वस्तु हेर न, यसको सहाराले टाढा-टाढा पनि बोल्न अनि देख्न सकिने। लौ भन के हो?
३. नभए नि नहुने मान्छेका लागि, धेरै भएपछि नाश गर्छ सबै थोक पार्छ खरानी। लौ भन के हो?
४. म जहाँजहाँ जान्छु त्यहीत्यही आँउछ, अध्याँरो देखेपछि भने भागेर जान्छ। लौ भन के हो ?
५. मोती त होइनन् हेर्दा भए पनि सेतासेता, फलाम नि होइनन् तर तोड्न सक्छन खानेकुरा। लौ भन के हो?
६. घर छ रे यिनको बादलमाथि, यी हुन् किसानका साथी। यिनी भुईँमा झरे हरियो हुन्छ धर्ती। लौ भन के हो?
७. घर छ है यिनको जलमा, बाँच्न सक्दैनन यिनी थलमा। लौ भन के हो?
८. कुनै मेवा जत्रो ठूलो कुनै फर्सि जत्रो हुने, जति ठूलो भए नि भित्र हावा बाहेक अरु नहुने। लौ भन के हो?
९. बाहिर भने कडाकडा भित्र मह जस्तो, खान पाए यो हुन्छ ज्यादै गुलियो मिठो लौ भन के हो?
उत्तर:
१. छाता २. इन्टरनेट ३.आगो ४. छाँया
५. दाँत ६. झरी (पानी पर्नु) ७. माछा ८.बेलुन
९.पाकेको बेल
(आरध्य देव निरौला प्रोग्रेसिभ इंगलिस माध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत छन्।)