सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
म कक्षा ५ को परीक्षा सकेर बसेको थिएँ। त्यही बेला नेपालमा कोरोना भाइरस तीब्र गतिमा फैलिन थाल्यो। महामारीका कारण लकडाउन जारी भयो। लामो समय लकडाउन भएपछि स्कुल पनि बन्द रह्यो।
वैशाखदेखि कक्षा ६ को पाठ्यक्रम सुरू गर्नुपर्ने थियो। म पनि कक्षा ६ मा पुगेँ भनेर निकै खुसी थिएँ। तर जारी लकडाउनका कारण जेठ अन्तिमसम्म पनि नयाँ शत्रको पढाइ सुरू भएन।
निकै लामो समय अध्ययन प्रभावित भएपछि स्कुलले असारदेखि अनलाइन कक्षा सुरू गर्यो। अनलाइन कक्षा कसरी पढ्ने र के गर्ने भनेर हामी विद्यार्थीलाई केही थाहा थिएन।
अनलाइन कक्षा लिन मलाई बुवाले सघाउनु हुन्थ्यो। बुवाले सिकाउनु भए पनि मलाई दुइ-तीन हप्तासम्म अनलाइनमा कक्षा लिन गार्ह्रो भयो। अनलाइन कक्षा लिएको सुरूका दिन मैले मेरा धेरै साथी देखिनँ। बरू नयाँ अनुहार देखेँ। उनीहरू मेरा नयाँ साथीहरू थिए।
घरमा इन्टर्नेट त थियो। तर कनेक्टिभिटीको निकै समस्या हुन्थ्यो। कहिलेकाहीँ इन्टरनेट समस्याकै कारण कक्षा लिन नसकेका दिन पनि छन्। इन्टरनेट राम्ररी नचल्ने हुँदा मलाई कतिपटक गृहकार्य पठाउन पनि समस्या परेको छ। कहिलेकाहीँ बत्तीको समस्याले पनि मैले समयमा गृहकार्य बुझाउन सकेको थिइन भने केही कक्षा छुटाएको छु।
कक्षा ६ को पढाइ अनलाइनबाट हुँदै थियो। कक्षामा मैले नयाँ साथीहरू मात्र होइनन्, नयाँ शिक्षकहरूसँग पनि भेट भयो। मैले कक्षामा जतिसक्दो ध्यान दिएर पढेँ। झन्डै दुई महिनाको अनलाइन कक्षापछि हाम्रो प्रथम त्रैमासिक परीक्षा भयो। त्यो पनि अनलाइनबाटै।
अनलाइनबाट कक्षा लिन त समस्या भएको बखत अनलाइन परीक्षा दिन त झनै गार्ह्रो भयो। तर शिक्षकहरूले परीक्षा दिने तरिका हामीलाई राम्ररी सिकाउनु भयो। जसले गर्दा केही हदसम्म सजिलो भयो। एक सातासम्म हाम्रो परीक्षा चल्यो।
मैले प्रथम त्रैमासिक परीक्षा सकिसक्दा कतिपय साथीहरूलाई अनलाइन कक्षा भइरहेको छ भन्ने समेत थाहा रहेनछ। धेरैजना साथीहरू परीक्षा पछि बल्ल कक्षा आउँदै थिए।
हाम्रो अनलाइन कक्षामा गृहकार्य गरेर त्यसलाई फोटो खिचेर पोष्ट गर्नुपर्थ्यो। मलाई मेरी ममीले मद्दत गर्नुहुन्थ्यो। मलाई नआएको कुरा उहाँले सिकाउनुहुन्थ्यो।
मेरो धेरैजसो समय अनलाइन कक्षा लिने, गृहकार्य गर्ने र बुझाउनेमा जान्थ्यो। अनलाइन कक्षामा हामी साथीहरू र शिक्षक बीच अवस्था सामान्य कहिले होला र विद्यालय कहिले खुल्ला भन्ने छलफल हुन्थ्यो।
बिस्तारै अवस्था सामान्य हुँदै गयो। गत पुस महिनादेखि हामी भौतिक रूपले कक्षामा उपस्थित हुन थाल्यौं। स्कुल खुलेकोमा म निकै खुसी थिएँ। किन भने म मेरा साथीहरू र शिक्षकहरूसगँ प्रत्यक्ष भेट्न सक्थे।
स्कुल गएको केही सातापछि हाम्रो अर्धवार्षिक परीक्षा फागुन महिनामा भयो। त्यो परीक्षा भने हामीले भौतिक उपस्थितिमा नै दियौं। परीक्षा सकेर मेरो रिजल्ट राम्रो आयो। मेरो रिजल्ट देखेर म र मेरो ममी-बुवा खुसी भयौं।
परीक्षा सकेपछि पनि हाम्रो कक्षा निरन्तर भइरह्यो। चैत महिनाभर हामीले थुप्रै नयाँ पाठहरू पढ्यौं। त्यस्तै पुराना पाठहरू पुनरावलोकन गर्यौं। भौतिक कक्षामा पढ्न पाउँदा निकै राम्रो र सहज महसुस गरेँ।
तर नयाँ वर्ष २०७८ साल सुरू भएसँगै कोरोना महामारीको दोस्रो लहर बढ्न थाल्यो। कोरोना संक्रमित संख्या दिनहुँ बढ्न थालेपछि मेरो स्कुल फेरि बन्द भयो। स्कुल बन्द भएकोमा मलाई निकै नरमाइलो लाग्यो। तर केहि दिनपछि फेरि अनलाइन कक्षा सुरू भयो। वार्षिक परिक्षा पनि हामीले अनलाइनबाट नै दियौं। अहिले म परिक्षाको नतिजा पर्खिरहेको छु।
आजकल फुर्सदको समयमा रचनात्मक कार्यमा ध्यान दिएको छु। घरमा यसै बस्नुभन्दा लेखहरू लेख्ने गर्छु। समग्रमा भन्नुपर्दा कक्षा ६ को पढाईक्रममा मैले नयाँ अनुभव लिएँ। सुरूमा अनलाइन कक्षा पढेँ। बीचको समयमा भौतिक कक्षामा पढियो र वार्षिक परीक्षा फेरि अनलाइनमा दिएँ। मेरो लागि कक्षा ६ को पढाई र वर्ष सम्झनलायकको भएको छ।
(प्रतिक सुनुवार हात्तिवनस्थिन लिटल एन्जल्स स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।)