सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
गत वर्ष फैलिएको पहिलो चरणको कोरोना महामारी केही नियन्त्रण भएसँगै हाम्रो विद्यालय खुलेको थियो। लामो समयको अनलाइन कक्षापछि भौतिक उपस्थिति मै पठनपाठन सुरू भयो। हामी पहिलेझैं विद्यालयको पोशाक लगाएर विद्यालय गयौं। म पनि लामो समयपछि विद्यालय जान पाउदा खुसी थिएँ।
विद्यालय र कलेजसँगै ठुल्ठूला व्यापार-व्यवसायमा पनि चहलपहल सुरू भइसकेको थियो। लामो दूरीका गाडीहरू निर्वाद रूपमा चल्न थालिसकेका थिए। मास्क नै नलगाई हिँड्नेहरूको जमात पनि ठूलै भेटिन्थ्यो।
तर दुर्भाग्यबस् छोटो समयमै कोभिडको दोस्रो लहर भारत हुँदै नेपाल भित्रियो। सरकारले फेरि निषेधाज्ञा जारी गर्यो। स्थानिय तहहरूले पनि जिल्लागत रूपमा लकडाउन र निषेधाज्ञाहरू जारी गर्यो। हाम्रो विद्यालय पनि बन्द भयो। सबै बजारहरू बन्द भए। ठूला-साना हरेक किसिमका कारखाना र कार्यलयको काम रोकियो। बैंकिक सेवाहहरू समेत सीमित हुन थाले। सवारी साधन चल्ने त कुरै छाडौं!
पहिलो चरणको कोरोना भाइरस भन्दा अहिलेको यो लहर अझ बढी खतरनाक भएर आयो। जसले गर्दा मानिसहरूको मनमा त्रास फैलिएको छ। हामी फेरि घरको चार भित्ताभित्र थुनिन बाध्य भयौं। यो महामारीले सामान्य जीवनको विविध पक्षहरूलाई प्रभावित पारेको छ।
शैक्षिक क्षेत्रमा प्रभाव भएसँगै हामी विद्यार्थीहरूको पढाइमा पनि असर पर्ने नै भयो। यसै बीच सरकारले विद्यार्थीको पढाइलाई वैकल्पिक विधिबाट निरन्तरता दिनुपर्ने निर्देशन आयो। हाम्रो सन्दर्भमा वैकल्पिक कक्षाको एउटै मात्र विकल्प भनेको अनलाइन कक्षा हो। हामी एसइई दिने विद्यार्थी भएकाले विद्यालयले पनि हाम्रो पढाइलाई बढी प्राथमिकतामा राखेर पढाइ गराइरहेको छ।
अनलाइन कक्षाका आफ्नै फाइदा रहेछन्। अनलाइन कक्षामा घरमै बसेर पढ्न पाइने, घरदेखि विद्यालयसम्मको यात्रा गर्न नपर्ने, समयको बचत हुने साथै यतिबेला हाम्रो विद्यालयलाई कम शुल्क तिरिरहेका छौं। अझ ठूलो फाइदा त सिकाइ पनि हुने। कोरोना संक्रमित हुने डर पनि कम हुने।
जति नै फाइदा भए पनि अनलाइन कक्षा भौतिक उपस्थिति जस्तै भने नहुने रहेछ। जसरी कक्षाकोठामा शिक्षक र विद्यार्थीको अन्तर्क्रियात्मक सिकाइ हुन्छ त्यो अनलाइनमा 'मिस' हुन्छ। कहिलेकाहीँ एक्लै कोठामा बसेर अनलाइन कक्षा लिँदै गर्दा अत्यास लाग्छ। अनलाइन कक्षामा सिक्ने र सिकाउने प्रकृया नै भिन्न लागेको छ। कक्षा कोठामा हुने पढाई जस्तै भने विल्कुल नहुने मैले महसुस गरेँ।
हामी सुगम ठाउँमा बस्ने विद्यार्थीहरूको लागि त अनलाइन कक्षा भए पनि सञ्चालन भइरहेको छ। तर दुर्गमका विद्यार्थीको लागि यो पनि सम्भव छैन। केहीको लागि टिभी र रेडियो पढाइको माध्यम भइरहेको छ। कति विद्यार्थीहरूको वैकल्पिक प्रणाली भनेकै स्वःअध्ययन हुन पुगेको छ। हामीले त अनलाइनबाट कम्तिमा शिक्षकलाई आफूले नबुझेको र परेको समस्या समाधानका लागि प्रश्न गर्न पाइरहेका छौं। तर कतिपय दुर्गम क्षेत्रका विद्यार्थीहरूले यस्तो मौकाबाट बञ्चित छन्।
त्यो बेला जसैगरी भए पनि हामीले एसइईको तयारी त गर्नु नै थियो। किनभने सरकारले जेठ १३ गतेदेखि परीक्षा सञ्चालन हुने भन्दै समयतालिका सार्वजनिक गरेको थियो। तर वैशाखमा महामारीले उच्च जोखिम बढाइरहेको थियो। जुन जेठमा समाधान हुने सम्भावना देखिँदैन।
त्यस्तो परिस्थितिमा हामी विद्यार्थीमा परीक्षा संचालन हुने हो वा होइन भन्ने अन्यौलता छायो। यसैबीच वैशाखको अन्त्यतिर सरकारले भने अर्को सूचना जारी गर्यो।
भनिएको थियो - अर्को सूचना जारी नहुन्जेलसम्मको लागि कक्षा १० र १२ को परीक्षा स्थगित गरिएको छ।
यो सूचनाले कति विद्यार्थी त खुशी नि भए। किनभने यस्तै अवस्था भए गत वर्षझैं परीक्षा नै नदिई आन्तरिक मूल्यांकनको आधारमा एसइई पास भइन्थ्यो। एक हिसाबकले यो निर्णय पनि ठीकै हो किनभने पढाइभन्दा स्वास्थ्य नै महत्वपूर्ण हो। तर यो बहानामा हामी विद्यार्थी कहिलेसम्म अन्यौलमा बसिरहने? अर्को अन्तिम सूचना कहिले आउने हो थाहा छैन।
कोरोनाले गत वर्ष नै सरकारलाई पाठ सिकाइसकेको छ। सबैलाई थाहा भएकै कुरा हो कि कोरोनाको महामारी वर्षदिनमा सकिने कुरा होइन। गत वर्षको सिकाईबाट नै सरकारले पूर्व तयारी गर्नुपर्ने होइन र? यस्तै अवस्थामा कुन कक्षाको परीक्षा कसरी लिने भन्ने अध्ययन, नीति, योजना र कार्यान्वयन गरिसक्नुपर्ने होइन र?
विद्यार्थीहरूलाई दोहोरो त्रासबाट संरक्षण गर्ने दायित्व राज्यको होइन र? किनकि हामी विद्यार्थीहरू एकतर्फ कोरोना महामारीको त्रासमा छौं भने अर्कोतर्फ परीक्षाको अन्यौलमा छौं। यो अन्यौलता बीच हामी कहिलेसम्म बस्ने? कहिलेसम्म अनलाइन पढाइको नाममा कम्प्युटर र मोबाइलमा झुण्डिने? यदि परीक्षाको मिति र प्रकृया सरकारले टुङ्ग्याइदिएको भए हामी सोहीअनुसार तयारीमा लाग्थ्यौं।
हामी विद्यार्थी न हौं। विद्यार्थीलाई परीक्षाको नाममा एउटै पुस्तक मात्र पढिरहन कहिलेसम्म पर्ने हो? हाम्रो स्वभाव नै परीक्षाको लागि पढ्ने हो। परीक्षा नभए किन पाठ्यपुस्तक पढ्ने? बरू अरू थप अतिरिक्त क्रियाकलापमा लाग्थ्यौं। अरू कुनै साहित्यिक अथवा अन्य विधाका पुस्त पढ्थ्यौं। त्यो पनि त सिकाइको एउटा पाटो नै हो। त्यसैले सरकारलाई हामी विद्यार्थीहरूको प्रश्न 'यो अन्यौलता कहिले सम्म?'
(अर्पिता भट्टराई कक्षा १० मा अध्ययनरत छिन्। उनी विरेन्द्रनगर, सुर्खेतमा बस्छिन्।)