सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कथा:
एकादेशमा एउटा कुकुर थियो। त्यसको नाम लोलो थियो। लोलो एकदम चुलबुले र घमण्डी स्वभावको थियो। एक दिन लोलोले सोच्यो कि मान्छेहरू नाच्न सक्छन् भने हामी कुकुरहरू किन नाच्न सक्दैनौं?
लोलोलाई लाग्यो, 'अब हामी कुकुरहरू पनि मान्छेहरू जसरी नाच्न सुरू गर्नुपर्छ।'
यति सोचेर लोलो नाच्न खोज्यो। ऊ नाच्न मात्र के सुरू गरेको थियो, भुँइमा बुङ्लुङ्ग पछारियो। तर उसले हार खाएन। फेरि नाच्न खोज्यो। त्यतिबेला लोलोले सोच्यो - अरू कुकुर साथीलाई पनि बोलाएर एक पटक फेरि सबैले नाच्न प्रयास गर्नु पर्ला। कतै सफल भइहालिन्छ कि?
लोलोले आफ्ना अरू साथीलाई बोलाउने सोच्न थाल्यो। उसको दिमागमा पहिला भ्यान्तेको नाम आयो। तर उसले फेरि सोच्यो भ्यान्तेसँग त कुरै मिल्दैन। देख्नासाथ लखेट्छ। त्यही भएर भ्यान्तेले आफूलाई ठूलो भन्न खोज्छ कि भनेर लोलोले भ्यातेलाई नबोलाउने निधो गर्यो। बरू टफिलाई पो बोलाउने हो कि भनेर सोच्यो। तर टफि उसको खासै मिल्ने साथी थिएन। त्यही भएर लोलोले टफिलाई पनि नबोलाउने सोच्यो।
लोलोलाई लाग्यो बरू जम्बो र शिम्बालाई बोलाउँछु। जम्बो र शिम्बा उसको सबैभन्दा मिल्ने साथीहरू हुन्। लोलोले जम्बो र शिम्बालाई बोलायो। जम्बो र शिम्बा खुशी हुँदै लोलोको घरमा पुगे। लोलोले नाचको बारेमा सबै कुरा बतायो। लोलोले अब सबै संँगै नाचौं भन्यो। दुवै राजी भए।
शिम्बा, जम्बो र लोलो खुसी हुँदै संगीतको तालमा नाच्न सुरू गरे। नाच सुरू गरेको केही बेरमै तीनैजना भुँईमा नरमाइलोसँग पछारिए। उनीहरू उठे। अनि फेरि नाच्न खोजे। तर फेरि पनि भुँईमा पछारे। शिम्बा र जम्बो दुवै भुँईमा पछारिएको समय लोलो भने जबरजस्ती नाच्न खोजिरह्यो।
अति नै भएर लोलोले भन्यो, 'तिमीहरू अब आ-आफ्नो घरमा जाऊ। हामी यो नाच्ने काम छाडौं। र पहिले जस्तै आफ्नो घरको हेरचाह गरौं।'
यो कुरा शिम्बा र जम्बोले बुझेँ। र लोलोलाई कोशिस गर्न भए पनि लगाएकोमा धन्यवाद दिँदै आ-आफ्नो घरतिर लागे। उनीहरू नाच्न नसकेकोमा भने केही दुःखी थिए।
जम्बो र शिम्बा गएपछि लोलोले फेरि एकचोटि अन्तिम कोशिस गर्छु भनेर फेरि नाच्न कोशिस गर्यो। तर ऊ फेरि पछारियो। अब त उसले आफैँसँग बाचा गर्यो, 'म यो गर्न नसक्ने काम जबरजस्ति गर्दिन। बरू पहिलेझैं घरको हेरविचार गर्दै बस्छु। बरू मिलेको समय साथीहरूसँग खेल्छु।'
आजकल लोलो आफ्नो घरको हेरचाह गर्छ। र पहिले जस्तै रमाइ-रमाइ बस्छ। अहिले लोलो घमण्डी छैन। तर ऊ चुलबुले स्वाभावको भने छ।
(सृष्टि घिमिरे जावलाखेलस्थित सेन्ट मेरिज स्कुलमा कक्षा ३ मा अध्ययनरत छिन्।)