सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
भनिन्छ, समस्याले नै आविष्कारको जन्म गराउँछ। यो भनाइलाई पुष्टि गर्न मेरो एक वर्षे अनलाइन कक्षा काफी छ।
पहिले विद्युतिय सञ्चार माध्यम भन्नाले मेरो लागि टिभी हेर्ने, मोबाइल चलाउने, मोबाइलमा विभिन्न खेल खेल्ने भन्ने हुन्थ्यो। कोरोना महामारीसँगै भने मेरो लागि यी उपकरणहरूको परिभाषा नै बदलिएको छ। हामी समय र परिस्थितिसँगै चल्न जान्नुपर्छ भन्ने पनि मैले यो महामारीबाट सिकेकी छु।
पहिले हामी धेरै समय मोबाइल, ल्यापटप र कम्प्युटरमा झुम्मिदा आमाबुवाले यी ग्याजेटहरूबाट टाढा रहन भन्नुहुन्थ्यो। तर अहिले उहाँहरू नै हामीलाई यी ग्याजेट चलाउन पोख्त बनाउन लागि पर्नु भएको छ। मलाई लाग्छ, अहिले हाम्रो कक्षा सुरू भएको वा नभएकोमा भन्नेमा हाम्रो आमाबुवा र अभिभावकलाई बढी चासो छ।
झन्डै एक वर्षको अनलाइन कक्षा र अन्तिम परीक्षा सकेर बढावा हुँदा मलाई अनौठो महशुस भइरहेको छ। एक मन खुशीले उफ्रिरहेको छ भने अर्को मनले सोच्दा भौतिक उपस्थितिमा स्कुल नभएकाले मलाई धेरै रमाइला कुरा 'मिस' गरेँ भन्ने लाग्छ। यतिका समय हामी साथीहरूसँग कति नयाँ-नयाँ खेल खेल्थ्यौ होला भन्ने लाग्छ।
खाली समय अफलाइन बस्नुपर्दा यदी कक्षामा भइदिएको भए साथीहरूसँग कति गफ गर्थ्यौं होला भन्ने हुन्छ। यो कुरा सम्झिँदै गर्दा कहिकतै मलाई नराम्रोसँग निमोठिरहन्छ। मलाई अभिभावकले कथा त सुनाउनु हुन्छ तर त्यो कथा कक्षामा शिक्षकले सुनाउनु भएको जस्तो हुँदैन। अनि म हाम्रो शिक्षकलाई नै सम्झिरहन्छु।
त्यस्तै कक्षा बीच-बीचमा प्रसङ्ग बीनै प्रश्न गर्ने साथीहरूलाई सम्झन्छु। एक्लै खित्का छोडेर हाँस्न मन लाग्छ। अनलाइनमा देखिएका साथीहरू सीमित हुन्छन्। ग्याजेटको स्क्रिनमा सबै साथीलाई एकैपल्ट हेर्न मिल्दैन। त्यसैले जसलाई हेर्न मन हुन्छ, म उसैलाई स्क्रिनमा पिन गर्छु। अनि अनलाइन कक्षामा उसको हाउभाउ हेर्दै दंग पर्छु। अनेक गर्छन् साथीहरू पनि। साथीरूलाई देखेर म एक्लै हाँस्छु । शिक्षकले भनेको भन्दा उल्टो-उल्टो सुन्छन्। सायद उनीहरू पनि त मैलेझैं ध्यान विकेन्द्रित गर्दा हुन्!
मैले विषयगत क्रियाकलाप गर्दा पल्लो घरका मानिसले हेर्दा हुन् र सोच्दा हुन्, 'विचरा विद्यालय बन्द छ के गरून्?'
म मोबाइल अथवा ल्यापटप भित्ताको एक कुनामा अड्याउँछु। अनि शिक्षकसँगै विभिन्न क्रियाकलापमा सहभागी हुन्छु।
कक्षालाई अन्तर्क्रियात्मक बनाउन हाम्रो नेपाली शिक्षिकले हामीलाई कविताहरू कण्ठ बनाएर भिडिओ बनाउन भन्नुहुन्थ्यो। हामी त्यसै गर्थ्यौं। यसो गरेको देखेर मेरो छिमेकीले मलाई कति टिकटक बनाएको भन्ने सोच्नुहुन्छ होला।
हामीलाई त ठीकै छ। तर कतिपय बहालमा बस्ने र निम्न वर्गका परिवार र अभिभावकलाई कति गाह्रो भएको होला!
अहिले अनलाइनक कक्षा भइरहेको समय मलाई कहिले भौतिक कक्षा पुनः सुरू हुन्छ भन्ने भइरहेको छ। मलाई विद्यालयमा पढेको जस्तो घरमा बसेर पढ्न रमाइलो लागेको छैन। गत वर्ष केही दिनमात्र विद्यालय गएको थिए। यति खेल्यौ कि...।
वाह! खेल्दै पढ्न पो मजा आउँछ। म भौतिक कक्षा सुरू कहिले हुन्छ भन्ने पर्खाइमा छु। छिट्टै स्कुल जाउँ जस्तो भएको छ।
(प्रार्थना लुईटेल पोखरास्थित मदरल्यान्ड माध्यामिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन्।)