लौन अचम्म कस्तो चिज आयो
सम्पूर्ण मानव जीवनमा तहल्का मचायो।।
आजको भुमण्डलीकरणको युगमा वस्तु, सेवा, पूँजि, प्रविधि, सूचना, जनशक्तिको साथै रोग, भोग एवं शोकसमेत सीमाविहिन स्वतन्त्र प्रवाह भईरहेको अवस्थामा चीनको वुहानबाट शुरू भएको कोभिड-१९ को महामारी केही महिनामा नै विश्वभरी फैलियो।
नेपालमा पहिलो पटक २०७० माघ १० गते कोरोना भाईरस पुष्टि भएको थियो। यो सँगै हाम्रो परिवारका बाबा, मामु, दाइ र मैले उच्च सतर्कता र होसियारीपूर्वक आफ्नो जीवनयापन गरी पहिलो चरणको कोरोना भाईरसबाट बच्न सफल भयौं।
कोरोना भाईरस केही सिथिल भएसँगै पुनः हामी आ-आफ्नो दैनिकीमा व्यस्थ हुन थाल्यौं। यो सँगै विश्व स्वास्थ्य संगठन र सञ्चारमाध्यमले भनेजस्तै कोभिड-१९ प्राणघातक रोग होइन रहेछ भन्दै खासै वास्ता गर्न छोड्यौं।
छिमेकी मुलुक भारतमा व्यापक रूपमा कोरोना फैलिएसँगै नेपालमा पनि दोस्रो चरणको कोरोना देखिन थाल्यो। यसपालिको कोरोना फरक उद्धेश्यका साथ देखा परेकोले अधिकांश मानिसलाई समात्यो, धरै मानिसलाई मृत्युको मुखमा पुर्यायो। धेरैको ज्यान लियो। के शहर, के गाउँ, के पहाड, के तराई यसले कसैलाई छोडेन।
कोरोनाको दोस्रो लहरसँगै केही हदसम्म हामी होसियार नै थियौं। तर स्कुल, कलेज, बाबा, मामुको अफिसका कारण बाहिर जानैपर्ने हुन्थ्यो।
वैशाख २ गते दाइले शरीर असजिलो भएको, खान मन नलागेको भन्नुभयो। भोलिपल्टदेखि ज्वरो आयो। शरीरमा थकान, खोकी, जिउ दुखाईका साथै आँखाको नानी नै झर्ला जस्तो गरी पीडा भएको सुनाउनुभयो।
दाइले कोरोना लाग्यो कि भन्दा पनि हामीले मौसम परिवर्तन भएर यस्तो भएको हुनसक्ने भन्दै खासै ध्यान दिएनौं। विस्तारै दाइलाई भएका लक्षण हामी सबैमा देखियो। वैशाख ६ गते मामुलाई र मलाई निकै गाह्रो भयो र केही दिन भित्रै हामी तीनै जना चल्मलाउन नसक्ने अवस्थामा पुग्यौं। बाबालाई पनि लक्षा देखिन थालिसकेको थियो तै पनि बाबामा सहनशील, धैर्यता, दुःख पिडालाई लुकाउनसक्ने अदभूत क्षमता भएकाले यी सवैलाई सहज रूपमा लिनुभयो।
दाइलाई ज्वरो र खोकीले च्याप्दै गएको थियो। उहाँको पल्स रेट बढी र अक्सिजन लेवल कम भएकोले हामी आत्तियौं अनि तत्काल अस्पतालमा पुर्यायौं। त्यसपछि वैशाख ८ गते हामी सबैले कोरोना परीक्षणका लागि स्वाब दियौं। सोही बेलुका सबैको पोजेटिभ रिपोर्ट आयो। बावाले अगाडि नै १५-१६ दिन सम्मलाई पुग्ने खानादेखि घरायसी सवै सामान जम्मा गरिसक्नुभएको थियो। सवैलाई पोजेटिभ देखिएसँगै बाबाको काँधमा अर्को कठिन जिम्मेवारी थपियो ।
जतिसुकै गाह्रो हुँदा पनि बिहान सात बजेबाट पानीको बाफ लिन लगाउने, चियासँग विस्कुट खुवाउने, सुप पिलाउने, समयमा खाना पकाएर खुवाउने, दिउँसो फलफूल, गेडागुडीको सुपलगायत तागतिला कुराहरु खुवाउने, समय समयमा औषधि लिन लगाउने र दिनभरीका भाडावर्तन सफा गर्ने सबै बाबाले नै गर्नुभयो।
अर्कोतर्फ मामुलाई निकै गाह्रो भएकोले के गर्ने भन्ने चिन्ता थियो नै। मामुलाई ज्वरोले छोड्दै छोडेन र खोकी पनि लगातार आइरह्यो। यस्तोसम्म पनि भयो कि, मामुलाई आफूले लगाएको लुगाले पनि दुख्थ्यो। मामुले आफूलाई अत्यन्तै गाह्रो भएपछि रूनु हुन्थ्यो । यस्तो स्थिति भएपछि मामुलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा हाई केयर युनिटमा उपचार गरियो र विस्तारै स्वास्थ्यमा क्रमिक सुधार हुँदै गयो।
कोरोनासँगको अत्यन्त पीडादायी र दुःखको लामो समय बिताएपछि हामी सबै अहिले कोरोना मुक्त भएका छौ। तर पनि मानसिक रुपमा अझै ठिक भइसकेका छैनौं।
आशा गरौ, भविष्यमा यस्तो डरलाग्दो परिस्थिति व्यहोर्न नपरोस् र हामीहरू शारीरिक र मानसिक रुपमा पुर्ण स्वस्थ हुन सकौं।
साथीहरु यो कारोनालाई ख्याल ठट्टाको रुपमा नलिऔं। लागे पछि यसबाट मुक्त पाउन निकै कठिन हुँदोरहेछ। सकेको सतर्कता अपनाएर यस महामारीबाट आफू पनि बाँचौं र अरूलाई पनि बचाऔं। रमाइलो गर्न त पुरै जिन्दगी बाँकीनैं छ नि, अहिले रमाउने क्रममा पछिको जिन्दगी दाउँमा नराखौं। धन्यवाद ।