सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
हामी सबैलाई थाहा छ, सम्पूर्ण विश्व अदृश्य कोरोनाको चपेटामा रोइरहेको छ। मेरो देश पनि यसबाट अछुतो रहन सकेन।
मेरो कक्षा ७ को अन्तिम परीक्षाको तालिका आइसकेको थियोI वैशाख २४ गते शुक्रबार परीक्षा सकिएपछि बाबा र म आमालाई भेट्न अफ्रिकाको बुरूण्डी जाने तरखरमा थियौं। जुन कुराले म भित्र-भित्रै खसी भएको थिएँ। तर अचानक कोरोनाको दोश्रो लहर आयो। म परीक्षा दिरहेको थिए। उता आमा भिसाको व्यवस्था गरिरहनुभएको थियो।
आमाले वैशाख २० गते भिसा आयो भन्नुभयो। तर २२ गतेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द हुने समाचार आयो। मेरो केही समय आमासँग बस्ने र कोरोनाबाट पनि जोगिने (बुरूण्डीमा कोरोना सामान्य रहेकोले) रहर अब कल्पनामा सीमित हुन पुग्यो।
मेरी आमाको शरीर अफ्रिकामा भएपनि मन आफ्नो परिवार र छरछिमेकीलाई कसरी कोरोनाबाट जोगाउने भन्ने मात्र थियो। हरेक दिन दुई सयको हाराहारीमा नेपालीले ज्यान गुमाएको समाचारले मेरी आमाको मन सारै बिचलित भएछ क्यारे!
हरेक दिन बिहान बाबा र मलाई 'बरू गेडागुडी र दाल मात्र खानु, बाहिर नजानु' भन्न थाल्नु भयो। छटपटिएको आमाको मन हामी बुझ्न सक्छौं।
आमाले केही समयपछि परिवारमा सल्लाह गरेर हाम्रो गाउँमा रहेको दमक अस्पतालको कोभिड उपचार केन्द्रलाई २ वटा आइसियू बेड दिउँ भन्न थाल्नु भयो। हाल क्यानाडामा रहनुभएको मेरो ठूलो दाइ र परिवारमा सल्लाह गरेर जेठ ६ गते मेरो हजुरबुवाले कोभिड उपचार केन्द्रलाई २ वटा आइसियू बेड दिनुभयो। दमक नगरबासी खुसी हुनुभएको जानकारी हामीसम्म पुग्यो।
तर वास्तवमा भन्नुपर्दा मलाई ती कुनै कुराले छोएको छैन। खालि आमालाई कतिबेला भेटौं भन्ने छ। सायद म अझैं केटाकेटी भएर होला। कहीँकतै बाहिरी कुरा बेवास्ता गर्ने स्वभावको भएको।
आमा भन्ने नाता नै कस्तो? सधैं बिहानै फोन गरेर स्वासप्रस्वासको अभ्यास गर, नुहाउँ अनि केही बेर घाममा बस भन्नुहुन्छ। माया थियो त्यो आमाको आफ्नो सन्तानप्रति।
तर मलाई भने सधैं एउटै कुराले दिक्क लागेछ। मैले एक दिन 'मरियो भने मरियो, के गर्नु त?' मात्र भनेको थिएँ, आमाले उताबाट भन्नुभयो, 'छोरा तिमी हाम्रो एक मात्र सन्तानलाई केही भो भने के गरेर बाँच्नु?'
खै! त्यो बेला मेरो दिमागमा पनि के आयो? आमाको जवाफमा मैले पनि भनेँ, 'अडप्सन गर्नु।'
यति भनेपछि आमा रिसले चुर हुनुभयो। अनि भन्नुभयो, 'तँ आमा अडप्सन गर्।'
त्यसपछि आमालाई अलि फकाएझैं गरि भनेँ, 'खै! स्वर्गमा आमा अडप्सन गर्न पाइएला किन नपाइएला!'
यति भन्ने बित्तिकै आमा खितित्त हाँस्नुभयो। मैले मनमनै हाँस्दै 'आमा तिम्रो मुस्कान नै मेरो उर्जा हो' भने।
म कामना गर्छु। छिट्टै सम्पूर्ण अवस्था सामान्य होस् र म मेरी आमालाई भेट्न पाउँ।
(मनायु गौतम चानदबाघ इस्कुलमा कक्षा ८ मा अध्ययनरत छन्।)