सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
डोरी र काठको प्रयोग गरेर बनाइएको दुई पाङ्ग्रे साधनलाई लडिया भनिन्छ। यसको प्रयोग तराईंका गाउँघरमा धेरै गरिन्छ। यसलाई तान्न गोरू अथवा राँगो चाहिन्छ।
बाटा-घाटा राम्रो नभएकाले गाउँमा गाडीहरू नचल्ने हुँदा पहिले लडियाको प्रयोग गरिन्थ्यो रे। अहिले पनि मेरो गाउँमा धान, गहुँ, मकै पिस्ने र तोरी पेल्ने मिल छैन। यी सबै पिस्नका लागि अर्को गाउँसम्म पुग्नुपर्छ। हामी लडियाको प्रयोग गरेर यी सब अन्न लैजान्थ्यौं। मेरो गाउँको नाम अमोहिया हो जुन बर्दिया जिल्लामा पर्छ। यहाँ लडिया नभएकाले अर्को गाउँबाट बोलाउने गरेका छौं।
छुटीको दिन पर्दा म पनि लडियामा बसेर मिलसम्म जान्छु। मलाई लडियामा बस्न एकदम रमाइलो लाग्छ। लडिया चलाउन एकजना मान्छे चाहिन्छ। तराईंमा मेरो गाउँतिर थारूहरूले चलाउनुहुन्छ। घरमा फलेको धान, गहुँ, मकै, तोरी, चना, मसुरो, अरसी,आलु आदि बेच्न सहरसम्म लैजान पनि लडिया कै प्रयोग गर्छौं।
यो चलाउनको लागि डिजेल, पेट्रोल केही चाहिँदैन। त्यसैले यसको भाडा सस्तो पर्छ। अनि वातावरण प्रदूषण हुने डर पनि हुँदैन। अहिले कोरोनाले गर्दा लडिया पनि चलेको छैन। कोरोना सकेपछि मिल जाँदा ममीसँग मलाई पनि लैजानु भन्छु। धानको बोरा माथि राँगा हिर्काउँदै लडियामा बस्न साह्रै मज्जा आउँछ।
(यशोदा वली बागेश्वरी एकेडेमी, कोहलपुरमा कक्षा ५ मा अध्ययनरत छिन्।)