सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कथा:
यो कथा सत्य घटनामा आधारित हो। जेठ-असारको समय थियो। एउटा चरा पानीले भिजेर एउटा घरको बालकोनीमा आएर बस्यो। त्यो चरा पानी पर्न छोडेपछि उडेर गयो। तर ऊ त्यहाँ आइ नै रह्यो। उसले त्यहाँ गुँड पो बनाइरहेको रहेछ। त्यो चराको गुँड देखेर त्यो घरमा बस्ने परिवार छक्क परे।
त्यस घरको मानिसहरूले त्यो चराले खान नपाउला भनेर चराका लागि चारो पनि राखिदिए। बिस्तारै चरा त्यहाँ बस्न थाल्यो र उसले त्यहाँका मानिसलाई चिन्न थाल्यो। धेरै दिनसम्म त्यो चरा एकलै बस्थ्यो। तर एकदिन उसले एउटा साथी भेट्यो।
चरा र उसको साथी त्यहाँ बस्न थाले। त्यो घरका परिवार पनि चराहरूलाई हेरेर मुस्कुराउँथे। ती चरासँगै खेलेको देखेर बच्चाहरू खूब रमाउँथे। चराहरू खुसी साथ जिन्दगी बिताउँदै थिए र आफ्नो गुँड सुरक्षित बनाउँदै थिए।
केही दिन त्यो गुँडमा चराले अण्डा पारेछ। त्यो कुरा त्यहाँको परिवारले पनि थाहा पाए। चराहरू अण्डाको रक्षा गर्दा रहेछन्। ती चराहरूले अरुलाई गुँडको नजिक आउनै दिँदैन थिए। कराइहाल्थे। पानी पर्ने समय भएकाले चराले खान नपाउलान् भनेर त्यो घरको परिवारले चारो र पानीको व्यवस्था गरिदिन्थे। एउटा चरा सधैं अण्डालाई न्यानो पारेर त्यहीँ बसिरहन्थ्यो।
केही दिनपछि चराको अण्डाबाट बचरा निस्किए। चराले चारवटा बचरा पारेको रहेछ। त्यो देखेर त्यहाँका मानिसहरू पनि झरीमा बचरा हुर्किने भए भनेर धेरै खुसी भए।
भाले र पोथी दुवै पालोपालो गरेर बचराको हेरचाह गर्थे। दुईमध्ये एक चरा जहिले गुँडको नजिक हुन्थ्यो। यसरी चराहरू गुँडको रक्षा गरेर बस्थे। चराहरू बचरालाई स-साना कीरा फट्याङ्ग्रा खुवाउँथे।
एक दिन अचानक चरा आत्तिएर कराएको आवाज आयो। चरा के कारण कराएको भनेर बुझ्नका लागि त्यो घरको परिवारले हेर्दा त एउटा कागले तीनवटा बचरा मुखमा समाएको पो रहेछ। ती मानिसहरूले कागलाई धपाइन्जेल त्यो कागले तीनै वटा बचरा लिएर भागिसकेछ।
कागले तीन वटा बचरा लगेकाले दुवै चरा र त्यो घरका मानिसहरू निराश थिए। पहिलाजस्तै ती चराहरूले बाँकी रहेको एउटा बचरोको स्याहार गर्न थाले। पल्किएको कागले बेलुका मौका छोपेर एउटा बचरोलाई पनि खाइदिएछ। भोलिपल्ट हेर्दा चराको गुँड पनि खाली रहेछ। यस्तो रित्तो गुँड देखेर त्यो घरको परिवारले धेरै मन दुखाए। त्यो गुँडका दुवै चरा पनि कता हराए कता।
यसरी हिजो आनन्दका साथ जिन्दगी बिताइरहेका दुई चराले आफ्नो सन्तान गुँडमा नभएको कारणले बिरक्तिएर गुँड रित्तो छोडेर हराए। त्यो घर नजिक आएर त्यो काग बसिरहन्थ्यो। त्यो घरका बालबालिकाले कागलाई दण्ड दिने विचार गरे। ती बालबालिकाले कागलाई गुलेलीले हान्ने भनेर बाबालाई गुलेली ल्याउनु भनेर माग गरे।
बुबाले 'किन चाहिएको?' भनेर सोध्नुभयो।
'हामीले त्यो फटाहा कागलाई गुलेलीले हानी दण्ड दिन्छौं,' बच्चाहरूले जवाफ दिए।
'हामीले हिंसाको प्रयोग गर्नु हुँदैन। त्यो पनि कागलाई त प्रकृतिले आफैं दण्ड दिन्छ,' बुबाले भन्नुभयो।
'हो र बुवा? कसरी?' केटाकेटीले उत्सुकता देखाए।
'त्यो धूर्त कागले जब चराको बचरा खाइरहेको थियो, त्यही बेला उता कोइलीले कागको गुँडमा कागको अण्डा फुटाएर आफ्नो अण्डा त्यही गुँडमा राखेर गयो,' बुबाले भन्नुभयो, 'यसरी कागले आफ्नो ठानेर कोइलीको बच्चा हुर्काइरहेको हुन्छ।'
बच्चाहरू सन्तुष्ट हुन्छन् र कागले दण्ड पाएकाले खुसी हुन्छन्।
यसरी नराम्रो गर्नेहरूलाई प्रकृतिले आफैं दण्ड दिन्छ।
(काव्य अन्वेष ढकाल न्यु मिलेनियम स्कुल, इमाडोल ललितपुरमा कक्षा ८ मा अध्ययनरत छन्।)