सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
विश्व वातावरण दिवसमा ठूलो कार्यक्रम हुने हल्ला गाउँभरि फैलियो। सबैजना तयारीमा लाग्न थाले। सिता र गिता पनि चकलेट खान पाइन्छ होला भनेर खुसी भएका थिए। नभन्दै भोलिको दिन पनि आजै भइदियो।
गाउँका अरू केटाकेटी अनि सिता र गिताले पनि चकलेट पाए। गाउँकै एउटा दिदीले उनीहरूलाई बाटोघाटो सफा गर्नुपर्छ, नदीमा फोहोर फाल्नु हुँदैन, वातावरण सफा गर्नुपर्छ भनेर सिकाउनुभयो।
उनीहरू पनि दिदीले भनेको मानेर सबै गाउँलेले जस्तै बाटोघाटो र नदी किनारामा सफा गर्न थाले। सबै सफा भएपछि फेरि भव्य रूपले कार्यक्रम मनाइयो। अबेर पनि भयो अनि धेरै थाकेका हुनाले बिस्तारै सबैजना घरतिर लागे।
भोलिपल्ट सधैँ गर्ने काम गरेर सिता र गिता नदी किनारामा खेल्न गए। हिजोको दिदी पनि त्यहीँ रहिछन् तर हिजो जस्तो सफा गर्न होइन। उल्टै नदीमा फोहोर फाल्न पो आएकी रहिछन् उनी त।
उनीहरूले उनको त्यो कार्य देखेर दिदीलाई सोधे, 'दिदी! नदीमा फोहोर फाल्न हुन्न भन्नुभएको होइन? तपाँई त आफैँ फोहोर फाल्दै हुनुहुन्छ त।'
यो सुनेर दिदीले भन्नुभयो, 'हिजो पो वातावरण दिवस थियो त लाटीहरु। अब त सिद्धिहाल्यो नि। अब अर्को वर्ष सफा गरौँला।
दिदीको कुरा सुनेर उनीहरूले एकअर्काका मुखमा हेराहेर गरे। दिदीले फोहोरको झोला नदीमा हुत्याइदिनुभयो। उनीहरू अलमलमा परे।