सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
जीवन यात्रालाई सकुशल गन्तव्यकाे केन्द्रविन्दुसम्म पुर्याउने लक्ष्य हरेक मानवले बाेकेकाे हुन्छ। ढुंगारूपी जीवनलाई निपुर्णतासाथ खियाउँदै भवसागरबाट पार लगाउने ध्येय प्रत्येक व्यक्ति भित्र लुकेकाे हुन्छ।
जीवन संग्रामका प्रत्येक क्षणहरूसँग संघर्ष गर्दै विजयश्रीकाे न्यानाे अँगालोमा बाँधिने उद्देश्य प्रत्येक व्यक्तिकाे हुन्छ। त्यसैले म भूतपूर्व प्रधानमन्त्री एवं आधुनिक सिंगापुरका निर्माता लि कुआन यू जस्तै बन्न चाहन्छु।
मलाई थाहा छ मेराे देश गरिवीकाे चपेटा भित्र पिल्सिएकाे छ। प्रकृतिका अनन्त र अथाह स्राेत हुँदाहुँदै पनि हामी सुन माथि सुतेर सुनकै खाेजि गरिरहेका छाै भने हामीसँग भएकाे सुनकाे कचाैरा चिन्न नसकेर त्यही कचाैरा थापि अरूसँग भिख मागिरहेका छाै।
विश्व व्रह्माण्ड नै द्रुत गतिमा अग्रगामी पथमा यात्रारत रहेकाे वर्तमान युगमा पनि हामी नेपाली प्रचुर अवसरहरू उपयाेग गर्न नसकी युगाैँ पछाडि परेका छाै। अझैं पनि मध्ययुगीन पछाैटेपनबाट ग्रस्त छाै। भाेक, राेग, गरिवी जस्ता भयावह अवस्थाबाट त्रस्त छाै।
त्यसैले अबकाे नेपाललाई भय-त्रासबाट मुक्त पार्न आर्थिक, राजनैतिक, सामजिक, सांस्कृतिक सबै क्षेत्रलाई पुरानाेपनबाट माथि उठाएर नयाँपनतर्फ अग्रदिशा प्रदान गर्न मैले लि कुआन यूकाे प्रगतिपथकाे परिकल्पना गरी देशलाई त्यहीअनुरूप हिँडाउने आफ्नाे अमूल्य सपना बाेकेकी छु।
लि कुआन यू काे जन्म सन् १९२३ सेप्टेम्बर १६ तारिखमा सिंगापुरमा भएकाे थियाे। लि कुआन यू यस्ता व्यक्ति हुन् जसलाई विश्वले चिन्छ। देशले गर्व गर्छ। जनताहरूले शिर झुकाई सम्मान गर्छन्। उनलाई ढुंगा स्वरूप दिएकाे सिंगापुर उनले हीरा जस्ताे चम्काइदिएका थिए। त्यसैले उनी हरेक सिंगापुरबासीकाे शरीर बचाउँने रगत जस्तै नसा-नसामा बगिरहेका छन्।
भष्टचारकाे अन्त्य, शुसासन, विधिकाे शासन, दण्डहीनताकाे अन्त्य, कानूनी शासन, पारदर्शी शासन र राजनीतिक कु-संस्कारकाे अन्त्य जस्ता पक्षमा लि काे साेचलाई वास्तवमा विश्वमै उदाहरणीय मानिन्छ।
कहिले युनाइटेड किंगडम, कहिले मलेसियाकाे अधिनमा रहेकाे याे राष्टले सन् १९६५ अगष्ट ९ मा मलेसियाबाट अलग हुँदै स्वतन्त्र राज्यकाे रूपमा स्थापित भएकाे थियाे। जम्मा क्षेत्रफल ७१९.२ वर्ग कि.मी रहेकाे याे राष्ट्र विकास र समृद्धिमा चुलिएकाे छ भने प्रतिव्यक्ति आय साठी हजार डलरकाे आसपासमा छ। यसकाे श्रेय पनि उनै लिलाई जान्छ।
संसारकै एउटा सानाे गरीब र दरिद्र देशकाे परिचय बाेकेर पृथ्वीकाे मानचित्रमा उभिएकाे याे देशलाई पाँच दशककाे अवधि सिंगापुरकाे शासनसत्ता सम्हालेका लि ले विकासकाे द्रुतमार्गमा दाैडाएका थिए। आज विश्वका धनाढ्य कम्पनीका कार्यालयहरू स्वास्थ्य, शिक्षा, पर्यटन, व्यापार र उत्पादनकाे दृष्टिले विश्वमै सिंगापुरकाे स्थान उच्च रहेकाे छ।
त्यसैले म लि कुआन यू जस्तै बनेर देशकाे अर्थतन्त्रलाई मजबुत बनाई देशमा सुशासनको प्रत्याभूति आम नागरिकलाई दिलाउने छु। समाजमा व्याप्त रहेकाे भ्रष्टाचारकाे अन्त्य गर्ने छु। प्रशस्त संभावना बाेकेकाे पर्यटन उद्योगलाई बढवा दिई डलरै डलरकाे वर्षा गर्नेछु।
जलस्रोतको विकास गरी नेपालकाे विद्युत बाह्य राष्ट्रलाई बेचि देशकाे सम्पन्नता हासिल गर्ने दिशामा मेरा कदमहरू अगाडि बढाउने छु। सम्पूर्ण जातजतिमा समाजिक सद्भावकाे विकास गराउने छु। शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरू सरकारकाे अधिनमा राख्नेछु। नेपालमा रहेका जडिबुटीहरू प्रशाेधित गरी बाह्य राष्ट्रलाई बेच्ने छु। ऐतिहातिक सम्पदाको संरक्षण गरी साे मार्फत नेपाललाई विश्व सामु चिनाउने छु।
त्यसैकाे लागि पनि म लि कुआन यू जस्तै प्रभावशाली व्यक्ति बन्न चाहन्छु। मेरा गर्भमा रहेका इच्छा आकांक्षाहरू पूरा हाेलान् या नहाेलान ता पनि मैले लि कुआन यू जस्तै बनी देशलाई सगरमाथाकाे देशका रूपमा छुट्टै पहिचानसाथ विश्व सामु चिनाउने प्रयत्न गर्ने छु।
मेराे सपना मेराे साेचाई हाे। चिन्तन हाे। संघर्ष हाे। समर्पण साथै लक्ष्य पनि हाे। मेराे सपना भनेकाे मेराे नेपालकाे सुनाैलाे भविष्यकाे सुन्दर विपना पनि हाे। त्यसैले देशका लागि मैले देखेकाे याे सपना वर्तमान नेपाल राष्ट्रलाई सुन्दर र समुन्नत राष्ट्रमा रूपान्तरित गर्न सामुहिक अठाेट एवं प्रतिबद्धताकै प्रतिविम्बि हाे। त्यसैले मैले यस्ताे व्यक्तिको मार्गदर्शन र पथलाई पच्छयाएकी हुँ।
म पुन: भन्न चाहन्छु म लि कुआन जस्तै महान् व्यक्ति बन्न चाहन्छु।
(आरूषी पाैडेल दि एक्सेल्सियर स्कुल, स्वयम्भू काठमाडौंमा कक्षा ७ मा अध्ययनरत छिन्।)