सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कथा:
एकादेशमा एउटा सिंहपुर नाम गरेको एउटा गाउँ थियो। त्यो गाउँमा एकजना दक्ष नाम गरेको बालक बस्थ्यो। उसको परिवार धेरै गरीब थिए।
उसको बुवाआमाको कुनै जागिर थिएन। उसले अरू केटाकेटीजस्तो बाहिर पसलबाट केही कुरा किनेर खान पनि सक्दैनथ्यो। बाआमासँग पैसा नभएकाले स्कुल जान नपाएर दक्ष सधैं उदास हुन्थ्यो।
गरीब भएको कारण दक्षलाई गाउँका धनी केटाकेटीहरूले जिस्क्याउँथे, 'तँ त गरीब छस्, हामी धनी छौं। हामी जहिल्यै स्कुल जान्छौं। तँ स्कुल पनि जान सक्दैनस्। हाहाहा...।'
दक्ष केही बोल्दैनथ्यो। घर आएर आमाबालाई सबै कुरा बताउँदै रूने गर्थ्यो। उसको बाल्यकाल त्यस्तै बित्यो। ७ वर्षको उमेर पुग्दा भने उसका बुवा र आमालाई एउटा च्यारिटीले सहयोग गरेर जागिर दियो।
आमाबुवाले जागिँर गरेपछि उसलाई स्कुलमा भर्ना गरिदिए। त्यसपछि दक्ष पनि स्कुल जान थाल्यो। उसले स्कुलमा धेरै मिहिनेत गरेर पढ्न थाल्यो र पढाइमा सबैभन्दा राम्रो बन्यो। ऊ हरेक कक्षामा प्रथम आउन थाल्यो।
दक्ष पास भएर कक्षा सातमा पुग्यो। उसका ती जिस्क्याउने साथी भने पास हुन सकेनन। उसलाई जुन केटाहरूले गरीब भनेर जिस्क्याउँथे, उनीहरूले स्कुलमा राम्रो पढ्न सकेनन्। उनीहरू कक्षा चार र पाँच भन्दा माथि पुग्न सकेनन।
दक्ष गरीब हुँदा जिस्क्याउने उसका साथीहरूसँग अब फी तिर्न पनि पैसा थिएन। पैसा भएको बेला उनीहरूले सबै पैसा नचाहिने कुरामा जथाभावी खर्च गरेपछि उनीहरू गरीब भएका थिए। तर दक्षले भने बुवाआमासँग भनेर उनीहरूको फी तिरिदियो। दक्षले उनीहरूलाई साथी बनायो। आफूसँग पैसा भएको र पढाइ राम्रो भएको भनेर कहिल्यै घमण्ड गरेन र उनीहरूलाई जिस्क्याएन। त्यसपछि उनीहरूले लाज मानेर दक्षसँग माफी मागे।
राम्रो पढेकोले दक्षले पुरस्कार पाउन थाले। हाइस्कुल पास गरेपछि उनले एउटा नेट कम्पनीमा जागिर पनि गर्न थाले। उनले त्यो पैसा जम्मा गरेर आफूजस्तै गरीब भएको कारण पढ्न नपाएका बालबच्चालाई सहयोग गर्न थाले।
हामीले कहिल्यै पनि गरीबलाई हेप्नु हुँदैन। धनी भयो भन्दैमा घमण्ड गर्नु हुँदैन। हामीले गरीब मान्छेलाई सहयोग गर्नुपर्छ। उनीहरू पनि मौका पाए ठूलो मान्छे बन्न सक्छन् र हामीलाई कुनै बेला सहयोग गर्न सक्छन्।
(आगमन भट्ट पाठशाला नेपाल फाउण्डेसन, बानेश्वरमा कक्षा ३ (बी) मा अध्ययनरत छन्।)