सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
बाहिर झमझम पानी परिरहेको छ। झरी परिरहेका यी दिनहरूमा घरभित्रै बसेर चियाको चुस्की र मिठा गफ गर्दै समय बिताउन पाउनुको मजा बेग्लै छ। तर रामे काका चियाको गिलास आँगनमै छाडेर एकाबिहान हतार हतार गर्दै खेततिर लम्किरहेका छन्।
कोही हातमा हलो, जुवा, कुटो, कोदालो बोकेर गैह्रीतिर झरीरहेका छन् भने केही रोपारहरू स्याखु ओढेर असारे गीत गाउँदै वातावरणलाई संगीतमय बनाउँदै छन्। पल्लाघरे काका एक हल गोरू बोकेर खेततिर जाँदैछन् अनि उनका छोराहरू हर्के र बिर्खे खुसीले गदगद पर्दै ओरालो झर्दै छन्।
यता काकी रोपारहरूका लागि भनेर खाजा बनाउने चाँजोपाँजो मिलाउँदै छिन्। म भने घरको माथिल्लो बार्दलीबाट यी सबै दृश्य नियाल्दैछु।
हिजोसम्म हरिया मकैले भरिएका ती गैह्रीका खेतहरू आज हिलाम्मे भएछन्। त्यहाँको वातावरण कुनै मेला भन्दा कम्तीको थिएन। सबै आ–आफ्नो काममा तल्लीन थिए। त्यहाँको रौनक बुझ्दै जाँदा बल्ल पो थाहा पाएँ, यो त किसानहरूको चाड पो रहेछ।
'ज्यामी, सिपाही र किसान सारा
छन् आज हाम्रा बलिया सहारा'
युगकवि सिद्धिचरण श्रेष्ठद्वारा रचित 'नेपाल' कवितामा मैले उक्त पङ्क्ती सुनेको थिएँ। वास्तवमै मानो खाएर मुरी उब्जाउने अनि भोक, प्यास, घामपानी केही नभनी अन्न उब्जाउने ती किसानहरू हाम्रा बलिया सहारा हुन्।
यो असार महिनामा यिनै किसानहरू आफ्नो महान चाडलाई हर्ष र उल्लासका साथ मनाउँदै छन्। समयले आज विविध क्षेत्रमा कोल्टो फेरे पनि हाम्रा किसानहरू अझै पनि कृषिकर्म मार्फत अघि बढ्न सकिरहेका छैनन। तै पनि हर्ष, उल्लास अनि ठूलो सपना बोकेर हाम्रा यी किसान दाजुभाइहरू आफ्नो कृषिकर्ममा तल्लीन देखिन्छन्। उनीहरूको परिश्रम र पसिनाको कदर गर्नु आजको आवश्यकता हो।
भोको पेटले न त भजन नै गाउन सकिन्छ, न त राष्ट्रगान नै। हाम्रै भोक मेटाउनका निम्ति यस्तो झरीलाई पनि उत्सवको रूपमा मानेर अन्न उब्जाउने ती तमाम किसानहरूलाई मेरो सलाम। आगामी दिनहरूमा हाम्रा किसानहरूको मुल्य र मान्यता हामी सबैले बुझ्न सकौँ। उनीहरूलाई सम्मान गर्न सकौँ। उनीहरूको ऊर्जा बढाउन सकौँ। सम्पुर्ण किसानहरूमा मेरो शुभकामना।
(विमर्श कँडेल बाल प्रभात बोर्डिङ स्कुल, पोखरामा कक्षा ९ मा अध्ययनरत छन्।)