सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
असार १५ गते। दही च्युरा खाने दिन।
बाबा र म बुटवलबाट पाल्पातिर लाग्यौँ। बाबाको अफिसले गर्दा साँझको पाँच बजिसकेको थियो। बाबा अफिसबाट आइसकेपछि बाबा र म चाँडो-चाँडो तयार भएर बाइकमा बसेर पाल्पाको बाटोतिर लाग्यौँ।
हल्का पर मात्र के पुगेका थियौँ पानी पर्न लाग्यो। हामीले रेनकोट लगाएका थियौँ। पाल्पामा पानी परेको छैन भन्ने समाचार मेरो हजुरआमा मार्फत पायौँ। सिद्धबाबामा पहिरो नगएको होस् भन्ने आशा राख्दै हामी अगाडि बढ्यौँ। भाग्यवश सिद्धबाबामा पहिरो गएको रहेनछ। बाटो पुरै हिलै हिलो भएको रहेछ। हामी विस्तारै विस्तारै अघि बढ्यौँ।
डुम्रे पुगेपछि बाटो राम्रो थियो। हामी पाल्पा सात बजेतिर पुग्यौँ। पाल्पा पुगेपछि हामीले एकैछिन आराम गर्यौ र रातिको खाना खाएपछि सुत्यौँ। धेरै थाकेको हुनाले हामीलाई चाँडै निद्रा लाग्यो। अर्को दिन धान रोपाई थियो। त्यसैले हामी बिहान चाँडै उठ्यौँ। उठिसकेपछि हातमुख धोएर तातो पानी पियौँ, जसमा विभिन किसिमका जडीबुटी राखेको थियो। यस्तो पानीले हामीलाई कोरोना जस्तो महामारीसँग लड्न मद्दत गर्छ।
त्यसपछि मैले हजुरआमालाई खाना बनाउन सहयोग गरेँ। हामीले बिहानको खाना खायौँ र दस बजेतिर खेततिर लाग्यौँ। खेतमा दस जना खेतालाहरु र हाम्रो परिवारको चार जना मिलाएर ज्ञद्ध जना थिए। मलाई धान रोप्न आउँदैनथ्यो त्यसैले मैले खासै धान रोपिन। अरुले धान रोपेको हेरेँ। खेतमा कति धेरै हिलो तथा गहिरो थियो। धान रोप्दा सबैजनाको कपडाभरि हिलो लागेको थियो।
चर्को घामले गर्दा पसिना तप-तप चुहिरहेको थियो। त्यतिबेला मलाई साच्चिँकै किसानहरुले धेरै मिहिनेत गरेर धान फलाउँदा रहेछन् भन्ने लाग्यो। किसानहरु नभए हामी कसरी बाँच्थेऊ होला?
त्यो दिन मैले कसरी माना रोपेर मुरी उब्जाउँदा रहेछन् भन्ने थाहा पाएँ। धान रोप्दा रोप्दै दिउँसोको ज्ञस्घण् बजिसकेको थियो। खाजा खाने बेला भइसकेको थियो। त्यसैले हजुरआमा सबैको लागि खाजा लिन घरमा जानुभयो। हजुआमा सँगसँगै म पनि घर गएँ। घर गएपछि हजुरआमा खाजा लिएर खेततिर जानुभयो र मैले नुहाएर आफ्ना हिलो लागेका कपडाहरु धोएर सुकाएँ।
नुहाएपछि म र मेरो बुढी हजुरआमा (हजुरबाबाको आमा) मिलेर खाजा खायौँ। खाजा खाएपछि बुढी हजुरआमा र म बरन्डामा बसेर धान रोपेको हेर्दै एकैछिन गफ गर्यौ। तीन बजेतिर धान रोपाई सकियो। बाबा, हजुरआमा र हजुरबाबा पनि घरमा आउनु भयो।
एकछिन आराम गरिसकेपछि साँझको बेलामा बाबा र म आँप टिप्न गयौँ। आँप टिपिसकेपछि घरमा आएर खाना खाई ९ बजेतिर सुत्यौँ। अर्को दिन हामी बिहान ट बजे उठ्यौँ र बुटवल आउने तयारी गर्न थाल्यौँ। तातो पानी र दूध पिएर चाँडो चाँडो तयार भयौँ।
पाल्पाको मौसम त ठिकै थियो तर बुटवलको मौसम कस्तो छ भन्ने कुरा हामीलाई थाहा थिएन। हामी आफ्नो सरसमानहरु बोकेर पाल्पाबाट बुटवलका लागि करिब सात बजेतिर निस्कियौँ। पहिला पहिला त मौसम ठिकै थियो तर पछि कुहिरो लागेर हामीलाई पिर लाग्न थाल्यो। एकछिन पछि कुहिरो हट्यो र हामी निर्धक्कसँग अगाडि बढ्यौँ।
बुटवल आउन ६ किलोमिटर मात्र बाँकी थियो। हामी सिद्धबाबाको नजिक पुगिसकेका थियौँ। अचानक हामीले गाडीको ठूलो भिड देख्यौँ। सिद्धबाबामा पहिरो खुसेको रहेछ। त्यसैले गाडीहरुको ठूलो जाम परेको रहेछ।
एउटा अंकललाई सोधेपछि हामीले त्यो पहिरो राति नै खसेको र पहिरो खुल्न अझै छ, ६ घण्टा लाग्छ भन्ने कुरा थाहा पायौँ। यतिबेला ८ बज्न लागिसकेको थियो। १० बजे बाबाको अफिस सुरु हुने भएकाले हामीलाई हतार थियो। केही समयको पर्खाइपछि हामीले नुवाकोटको पहाडी बाटोबाट पनि बाइक र जीपहरु बुटवल जान सक्छन् भन्ने कुरा थाहा पायौँ। त्यसपछि हामीले नुवाकोटको बाटो जाने भन्ने निर्णय गर्यौँ।
त्यहाँबाट बेलबास १५ किलोमिटर टाढा रहेछ। हामी त्यो बाटो कहिले हिँडेका थिएनौँ। वरपरका मानिसलाई सोध्दै हामी अगाडि बढ्यौँ। एकैछिन पछि हाम्रो बाइकको चक्का हिलोमा गएर अड्कियो। हामीले त्यसलाई निकाल्ने अनेकौँ प्रयास गर्यौँ तर सकेनौँ। त्यसपछि एउटा दाई त्यही बाटो भएर आउनुभयो र हाम्रो सहयोग गर्नु भयो।
बाटो त पुरै हिलै हिलो रहेछ। बाइकको चक्का हिलोमा अड्किने बेला म बाइकबाट झर्थे र बाबाले बाइक बल्लतल्ल निकाल्नुहुन्थ्यो। एकचोटी त बाइक हिलोमै गुल्टिन लागेको थियो। संयोगले त्यतिबेला एउटा अंकल आउनुभयो र बाइक निकाल्न सहयोग गर्नुभयो।
हिलोले गर्दा बाइकको चक्का लर्किन्थ्यो। फेरि एकैछिन पछि कुहिरो लाग्न लाग्यो। अगाडिको बाटो हेर्नलाई पनि एकदम समस्या भएको थियो। पानी पनि परिरहेको थियो। बाटो उकालो र हिलै हिलो पनि थियो। हामीसँग सामानहरु पनि थिए। त्यसैले हामीलाई धेरै गाह्रो भएको थियो। हाम्रो पछाडि एउटा जीप आइरहेको थियो। जिपको अंकलले हाम्रो सामान जीपमा राखिदिन्छु भन्नुभयो। हामीले आफ्नो सामानहरु सोही जीपमा राख्यौँ। त्यसपछि हामीलाई पहिलेभन्दा सजिलो भयो।
विस्तारै कुहिरो हट्दै गयो। एकछिन पछि हामीले घर तथा बाटा प्रष्ट देख्न थाल्यौं। अनि हामी ढुक्क भयौँ। बाटो एकदमै अप्ठ्यारो र अकालो(ओरालो पनि थियो। जसरी तसरी हामी आफ्नो गन्तव्यमा पुग्यौँ। अन्ततः गन्तव्यमा पुगिसकेपछि हामीले जीपबाट आफ्नो सामान झिक्यौँ र जीपवाला अंकललाई धेरै-धेरै धन्यवाद दियौँ र आफ्नो घर गयौँ।
मैले एउटा कुरा यस यात्रामा के थाहा पाएँ भने, दुस्खमा परेको बेला कसैले सहयोग गर्दा कति खुसी लाग्दो रहेछ। मनबाट उसप्रति सम्मान आफैं बढ्दो रहेछ। यो यात्रा मेरा लागि सधैं स्मरणीय रहनेछ।
(आयुष्मा पाण्डे कालिका मानवज्ञान माध्यमिक विद्यालय, लुम्बिनी प्रदेश, बुटवलमा कक्षा सातमा अध्ययनरत छिन्।)