सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मेरो नाम हार्दिक खतिवडा हो। म अहिले ललितपुरको ग्वार्कोमा आदर्श विद्या सदनमा कक्षा ६ मा पढ्छु। म ललितपुर आएको एक हप्ता भयो। मलाई राम्रो शिक्षा दिन भनेर आमाबुवाले मलाई यहाँ पठाउनुभएको हो।
मेरो घर उदयपुर जिल्लामा हो। उदयपुरदेखि काठमाडौं आउँदा मेरो यात्रा रमाइलो भयो। मलाई मेरो आमा र बहिनी काठमाडौंमा पुर्याउन आउनु भयो। मैले यसैपटक पहिलोचोटि हवाइजहाज चढेको हो। जनकपुरबाट काठमाडौंको एयरपोर्टसम्म आउँदा मलाई डर लाग्यो। हवाइजहाजमा उड्दा मलाई बादलले घेरेजस्तो लाग्यो। जनकपुरबाट उडेको १५-२० मिनेटमै हामीले काठमाडौंको भुइँ छोयौँ।
हवाइजहाजबाट ओर्लेपछि हामीलाई एउटा बसले झोला लिने ठाउँसम्म पुर्यायो। एयरपोर्टमा मामा लिन आउनुभएको थियो। अनि हामी मामाको कोठामा गयौँ।
१ हप्ता ललितपुरको ग्वार्कोमा बसेपछि मलाई थाहा भयो कि उदयपुर र ललितपुरबीच धेरै फरक छ।
मलाई यहाँ पिँजडामा बन्द भएजस्तो लागेको छ। उदयपुरमा खुला ठाउँ धेरै थियो। खेल्ने ठाउँ थियो। घरमा आँगन थियो। मज्जाले खेल्न, उफ्रिन पाइन्थ्यो। तर यहाँ खुल्ला ठाउँ धेरै छैन। बाटोमा पनि भीँडभाड छ। हिँड्दा पनि धेरै गाडी हुने भएकाले डराइडराइ हिँड्नु पर्ने रहेछ।
उदयपुरमा त घरछेउमा नै कल थियो। कलकै पानी खान मिल्थ्यो। पानीलाई पैसा पर्दैन थियो। यहाँ त खाने पानी लिन पनि दोकान जानु पर्ने रहेछ। जारमा पानी आउने रहेछ। इनारको पानी खानु हुँदैन रे। हुन पनि इनारको पानी पहेँलो हुने रहेछ।
मलाई ललितपुरको केही कुरा भने राम्रो लागेको छ।
अनलाइन कक्षा हुँदा उदयपुरमा एक घन्टामै ४-५ पटक बत्ती जान्थ्यो। राम्रोसँग कक्षा लिन सारै गाह्रो हुन्थ्यो। यहाँ अलिअलि मात्र जान्छ।
उदयपुरमा धेरै गर्मी हुन्छ। अचेल त जति बेला पनि फ्यान चलाउनु पर्छ। यहाँ त्यस्तो गर्मी छैन। राति सुत्ने बेला चीसो भएर सिरक ओड्नु पर्ने रहेछ।
अहिले मलाई लाग्दै छ, गाउँको राम्रो कुरा सहरमा र सहरको राम्रो कुरा गाउँमा भए कत्ति राम्रो हुन्थ्यो होला!
(हार्दिक खतिवडा आदर्श विद्या सदन, ग्वार्को, ललितपुरमा कक्षा ६ मा अध्ययनरत छन्।)