सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
हाम्रो संसार धेरै विकसित भइसक्यो। पहिले पहिले सबै काम हातले गर्नुपर्थ्यो। अहिले प्रविधिले गर्दा नयाँ-नयाँ उपकरण आएका छन्। तिनको सहयोगमा हाम्रो काम सजिलो भएका छन्। विज्ञान र प्रविधिको विकास यतिअगाडि बढिसक्यो कि अब आफैँले सोच्ने र काम गर्ने रोबोटको आविष्कारसमेत भइरहेको छ।
पहिले केही कुरा जानिएन वा केही जान्न पर्यो भने आमाबुवालाई सोधेर वा किताब खोजेर समाधान खोजिन्थ्यो। विज्ञान र प्रविधिको विकासले आजकल केही जानिएन भने इन्टरनेटमा गएर खोज्दा हुन्छ। यो कुरामा अघिल्लो पुस्ता कम जानकार थिए भने यो पुस्ताका हरेक बच्चाको दिमागमा इन्टरनेटको प्रयोग गर्ने बानी बसिसकेको छ।
विज्ञान प्रविधिको प्रयोगले मानिस अल्छि पनि भएका छन्। जस्तो कि एउटा कोठामा बस्यो, खायो, पियो, सुत्यो र देश विदेशका 'ट्रेन्ड' पछ्यायो। इन्टरनेटको प्रयोग र त्यसकै भर पर्दा मानिसहरूले बाहिरी व्यक्तित्वलाई विश्वास गर्न थालेका छन्। बाहिरी सुन्दरतालाई महत्वपूर्ण मान्न थालिसकेका छन्। देखावटी बन्न लागेका छन्।
जस्तो कि: धेरै गरगहना लगायो। सुन्दर र टाइट परेका लुगा लगायो र चुच्चा परेका हिलमा हिँड्यो।
मान्छेसँग के-कस्तो सरसमान छ, उनीहरुले कस्तो लुगा लगाउँछन्, कहाँ जान्छन् र के-कस्तो देखिन्छन् भन्ने कुराले एक अर्कालाई तुलना गर्ने आचरणको समेत विकास भइरहेको छ। भित्र ज्ञानी छ कि छैन मिहिनेती, दयालु र नम्र छ कि छैन कसलाई मतलब?
यो संसारमा नयाँ-नयाँ प्रविधिको विकास र प्रयोगले पुराना कुरा ओझेलमा पर्दैछन्। पुराना जमानाको ऋषिका वाणीहरू एउटा कुनामा थन्किएर बसेका छन्। तर यहाँ अझै पनि यस्ता मानिस छन् जो भित्रैबाट राम्रा छन्। यस्ता मानिस छन् जो पुरानो परम्पराको पनि पालना गर्छन् र नयाँ-नयाँ प्रविधिको प्रयोग पनि गर्छन्। त्यो अहिलेको समयमा आशिषसमेत साबित भएको छ।
ति व्यक्तिहरूले सबै मानिसलाई समान स्तरको आदर र व्यवहार गर्छन्। यस संसारमा अझै दया र निःस्वार्थता छ। यहाँ यस्ता व्यक्ति पनि छन् जसले अरूको भलाई आफ्नो चाहाना अगाडि राख्छन्। धनी हुँदा हुँदै पनि आफ्नो धनको घमण्ड गर्दैनन्। दयालु व्यवहार गर्छन्। ती व्यक्ति आफ्ना साथीहरूको राम्रो हुदाँ भित्रैबाट खुसी भएर हाँस्छन्।
अझै पनि यस्ता मानिस छन् जो दुई छाक खानको लागि कडा मिहिनेत गरिरहेका छन्। यस्ता व्यक्ति पनि छन् जो स्वस्थ छन् र जंक फूडमा विश्वास गर्दैनन्। सुखी जीवन बिताइरहेका छन्।
हो, विज्ञान प्रविधिको विकाससँगै त्यसको प्रयोग गर्न जान्नुपर्छ। समयअनुसार चल्न सिक्नु पर्छ। तर आफ्नो धर्म, संस्कार र परम्परालाई कहिल्यै बिर्सिनु हुँदैन। परम्परागत भेषभुषा, बाजा, आदिलाई संरक्षण गर्नुपर्छ। यसरी हामी सभ्य बन्छौँ र हाम्रो संस्कृति अर्को पुस्ताले पनि थाहा पाउनेछ।
(मोनिता पौडेल सेन्ट जेभियर्स स्कुल जावलाखेलमा कक्षा ८ मा अध्ययनरत छिन्।)