सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
म सादगी बाबामामुकी प्यारी छोरी र दादाकी चुलबुले बहिनी। मेरो जन्म २०६९ साल कार्तिक ४ गते साँझ सिनामंगलको केएमसी हस्पिटलमा भएको रहेछ। म जन्मेको बेला मामु र म दुई दिनसम्म हस्पिटलमा बसेर डिस्चार्ज भएका थियौं रे। म जन्मेको बेला कार्तिकमा दशैं परेको थियो। हिन्दु परम्पराअनुसार टिका लगाउँन नभएकाले त्यो वर्षको दशैं टिका नलगाई खाने, खेल्ने गरेर मनाउँनु भएछ।
सुरूको महिनामा म दिउँसो आनन्दले सुतेर राति बेलाबेलामा उठिरहेछु। म ५ महिनाकी भएपछि यताउता पल्टिन सक्थेँ। ७/८ महिनाको हुँदा मान्छेको मुखमा हेरेर हाँस्ने र घस्रिएर हिँड्ने गर्थेँ।
म ८ महिनाकी हुँदा मेरो दाँत आएछ। हिन्दु संस्कारअनुसार त्यो बेला मेरो मामाले मलाई काँशको कचौंराबाट दही खुवाएर टिका लगाइदिनुभएछ।
९ महिनाकी हुँदा म बामे सर्थेँ र १०/११ महिनाको हुँदा कुनै सहारा बिना हिँड्न सकेँ। सुरूदेखि नै विभिन्न रोग विरूद्धका खोपहरू लगाएको दिन म रातभरी रोएर सुत्न दिन्न थिए।
१५ महिनामा तोते बोली बोल्दै गुलियोलाई ‘दुनियो’, अमिलोलाई ‘अमिनो’, मन्दिरलाई ‘मानिन’ जस्ता शब्द बोल्थेँ। दिनको एक पटक बाबाको अफिसमा रहेको मन्दिरमा मानिनमा जाने भनेर जान्थेँ रे। त्यति बेला मेरो कपाल बाक्लो आओस् भनेर सानो पारेर काटिदिएको थियो। म बुनु अपाप छैया भन्थे रे। डेढ बर्षको हुँदा म फूल फुलेको देख्ने बित्तिकै टिपि हाल्थेँ।
म साढे दुई वर्षको हुँदा भुइँचालो गयो। त्यो बेला जमिन हल्लिएको मान्छे भागेको देखेर म निकै डराएछु।
म तिन वर्षकी हुँदा प्ले ग्रुपमा भर्ना भई स्कुल जान थालेकी थिएँ। मलाई पहिलो दिन स्कुल गएको त्यति याद छैन तर त्यसको केहीपछि मलाई मामुले निकै राम्रो बनाइदिएको, नयाँ लुगा लगाइदिएको अलिअलि सम्झना छ र म सुरू सुरूमा त स्कुलमा रून्थेँ पनि।
म तीन वर्षकी हुँदा हेलिकप्टरमा बाबाको अफिस ताप्लेजुङ जाँदा निकै डराएकी थिएँ। एक दिन म खेलिरहेको बेला बाबाको अफिसबाट लडेर नाकमा घाउ भएको थियो। त्यो कुराचाहिँ मलाई अलिअलि याद छ। त्यो बेला ताप्लेजुङको सुकेटारमा हिउँ परेको थियो।
बाबामामुसँग त्यहाँ गएर हिउँ खेल्दै खुब रमाएकी थिएँ। त्यो बेला हिउँ खेलेको फोटो हेरेर अहिले पनि मलाई हिउँ खेलेको याद आउँछ। म साढे तीन वर्षकी हुँदा ताप्लेजुङको पाथिभरा मन्दिरमा बाबामामुसँग जाँदा कहिले हिँडेर कहिले बोकेर गएको थिएँ।
म गाडी चढ्दा बढी हल्लियो भनेर डराउँथे। ४ वर्षकी हुँदा निकै ज्ञानी भइसकेकी थिएँ। टिभी, मोबाइलभन्दा पनि बाहिर खेल्न मन पराउँथेँ।
म साढे पाँच वर्षकी हुँदा बाथरूमको ढोकाबाट लडेर खुट्टाको मासु च्यातिएर प्लाष्टर गरी १५ दिन घरमै आराम गरेर बसेकी थिएँ।
६ वर्षकी हुँदा म सिफल सेकेन्डरी स्कुलमा पढ्न थालेकी हुँ। स्कुलका सुरूका दिनमा म डराउँथे। सानोसानो कुरामा रुन्थेँ र पछि साथीहरू चिनजान भएपछि रमाइलो लाग्न थाल्यो।
मलाई अहिले पनि याद छ म पहिलो दिन स्कुल जाँदा कोहीसँग पनि बोलिनँ। दोस्रो दिन साथी बनाएँ। उसको नाम रिद्धिका थियो। बिस्तारै मैले अरू साथीहरू पनि बनाएँ।
साढे ६ वर्षकी हुंँदा मलाई ठेउला आएको थियो। त्यही बेला मभन्दा अगाडि मेरी साथी रिद्धिकालाई पनि ठेउला आएको थियो।
जब म सात वर्षकी भएँ, त्यो बेला विश्वभर कोरोना भाइरस फैलियाे। स्कुलहरू बन्द भए र मैले पनि घरबाटै अनलाइन क्लासहरू लिन थालेँ। अनलाइन कक्षा हुने भइकाले मामु म बाबाको अफिस चितवनमा बस्न थाल्यौँ।
साढे ७ वर्षको हुंँदा बाबामामुलाई कोरोना भयो र वहाँहरू हस्पिटल बस्दा दादा र म मात्रै बस्यौँ। म ८ वर्षकी हुंँदा बाबाको अफिसको कामको शिलशिलामा जांँदा बाबा, मामुसंँग कालिन्चोक, जिरी, रसुवा, धनकुटा आदि ठाउँहरूमा घुम्न गएकी थिएँ। दादालाई इन्डियामा पुर्याउन जाँदा बाबामामुसँग इन्डिया दिल्ली पनि घुम्न गएकी थिएँ। स्कुल होलिडेमा बाबामामुले मलाई समय समयमा विभिन्न ठाउँमा घुमाउँन लैजाँदा कहिले झरना कहिले नदीनाला कहिले मन्दिर देखेर धेरै रमाइलो हुन्छ।
गाउँ घरमा घुम्दा धेरै कुरा सिक्ने देख्ने मौका पाएँ। सहरको जीवन र गाउँको जीवनको फरक बारेमा पनि बुझ्ने मौका पाएँ । यही उमेरमा मैले घरमा मामुसँग केक बनाउँन र घरका सानासाना कामहरू गरेर मामुलाई सघाउँन पनि थालेकी छु।
साथीहरू कस्ताे लाग्याे त मेराे बालापन?
(सादगी काेइराला डियरवाक सिफल स्कुलमा कक्षा तीनमा अध्ययनरत छिन्।)