सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
पुस्तक समीक्षा: मोदिआइन
‘मोदिआइन’ विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचित लघु आकारको उपन्यास हो। यो पुस्तकलाई साझा प्रकाशनले प्रकाशित गरेको हो। यस उपन्यासमा विश्वेश्वरप्रसाद कोइरालाले महाभारतको कथालाई जोड्नुभएको छ। कथामा त्यो भयावह युद्धको अवस्था एक सामान्य नारीले देखेको, भोगेको र अनुभव गरेको कुरा पस्किने प्रयास छ। कथामा श्वैरकल्पनाको (फेन्टासी) प्रयोग गजबले गरिएको छ।
कथावस्तु:
म पात्र जिद्दी गरेर मिसिरजीसँग ट्रेनमा इन्डिया आएको हुन्छन्। उनीहरु ट्रेन चढेर दरभंगा पुग्छन्। ट्रेनबाट आउँदा उनीहरूले टन्नै दृश्यहरू देख्छन्। दरभंगा भनेको ठूलो ठाउँ थियो। म पात्रले दरभंगाजस्तो ठूलो र राम्रो ठाउँ देखेर छक्क पर्छन्। त्यहाँ आइपुगेपछि उनी र मिसिरजी मोदिआइनको घर जान्छन्। मोदिआइनले उनीहरू दुबैलाई स्वागत गर्छिन्।
उनीहरू हडाह पोखरीमा नुहाएर भोक लागेका कारण खाजा खान्छन् र एकछिन थकान पनि मार्छन्। त्यसपछि म पात्रको चाहानाअनुरूप मिसिरजीले उनलाई दरभंगा घुमाउन लग्छन्। दरभंगा घुम्दा उसले खेत, झोपडी, अस्तबल, असबाबखाना, ठूलाठूला बाटा धेरै कुराहरू अवलोकन गर्ने अवसर पाउँछ। फर्किदा धेरै थाकिसकेका हुन्छन्।
मोदिआइनको घरनजिकै हडाहा नामको पोखरी छ। रात परिसकेकाले म पात्रलाई पोखरीमा जानु पर्दैन भनेर उनले रोक्छिन्। अनि भन्छिन्, 'यो पोखरी महाभारत कालीन हो।'
त्यसपछि उनले कथा सुनाउन थालिन्।
यो पोखरीमा बसेर पहिला एक मछुवारिन माछा बेच्थी। ऊ कहाँ बस्थी, कहाँ माछा मार्थी लगायत कुरा कसैलाई थाहा थिएन। मनिसहरूले उसले बेच्ने माछा असल हुन्छन् भन्थे। एकदिन ऊ सधैँको जस्तै माछा बेच्न आफ्नो सधैँको ठाउँमा बसी। त्यस दिन मछुवारिनको डालामा एउटा ठूलो माछा थियो। दरभंगा राज्यको एक तान्त्रिकले त्यो ठूलो माछा देखेर माछा किन्यो। मछुवारिन त्यत्रो ठूलो माछा बेच्न पाउँदा खुसीले हाँसी। तान्त्रिकले त्यो सुन्दर नारीलाई मक्ख परेर हेरिरह्यो। त्यसै बखत एउटा चीलले झम्टेर तान्त्रिकका हातको माछो चटक्क टिपेर उड्यो। तर माछा यति भारी थियो कि चीलले टाढा लैजान सकेन। पचास डेगजति पर लगेर झारिदियो। मछुवारिन एक चोटि फेरि हाँसी।
उसलाई लाग्यो कि हाँसोपछिको चेहरा कुनै प्राचीन नारीको हो। उसले सोध्यो, 'मछवारिन, तिमी किन हाँस्यौ? को हौ तिमी?'
मछुवारिनले भनी, 'म को हुँ तिमीलाई किन चासो? म किन हाँसेको भनी कलियुगमा मानिस मात्र खिइएनन्। पशुपंक्षी पनि खिइसके। हेर न, त्यो माछालाई चीलले उडाएर लैजान सकेन। पहिला मानिसहरू शक्तिशाली हुन्थे र पशुपंक्षी पनि त्यस्तै बलिया हुन्थे। महाभारतको पालामा कुरुक्षेत्रबाट एउटा योद्धाको शरीरलाई टिपेर उडेको चीलले यो माछा पनि बोक्न सकेन।'
तान्त्रिकले अरू केही सोध्नुभन्दा पहिले नै मछुवारिन अलप भई। त्यसपछि मोदीआइनले म पात्रलाई थाकेको देखेर 'नानी अब सुत भन्नुभयो।' तर म पात्र सुत्न सकेनन्। मोदीआइनले सुत्न नसकेका म पात्रलाई महाभारतको कथा सुनाउन थालिन्।
एक समयमा हस्तिनापुर भन्ने शाक्तिशाली राज्य थियो। त्यहाँ तीन भाइ धतृराष्ट्र, पाण्डु र विदुर थिए। धतृराष्ट्रका सय भाइ छोराहरू थिए। पाण्डुका पाँच छोरा भाइ थिए। धृतराष्ट्र र पाण्डुका छोराहरू बीच मिल्ती थिएन। त्यसैले धतृराष्ट्रले आफ्नो पाण्डवहरूका लागि छुट्टै राज्य बनाइदिए। धतृराष्ट्रका छोराहरूले पाण्डवहरूको राज्यलाई सधैँ आँखा लगाइरहेका हुन्थे र एउटा जुवाको खेलमा पाण्डवहरूले आफ्नो सबै राज्य सम्पति हारे। रिसको झोकमा आफ्नी पत्नीलाई पनि जुवामा हारे। यो सबै एउटा नारीले हेरिरखेकी हुन्छिन्।
नारी सानी हुँदा पाण्डवहरू आफ्नो नयाँ राज्यमा सरिरहेका थिए। जुवा खेल्ने बेला ति नारी ठूली भइसकेकी थिइन्। पाण्डवहरूले कृष्णद्वारा धतृराष्ट्रका छोराहरूले जुवामा झेल्ली गरेको थाहा पाए। आफ्नो राज्य पाउन लडाइँ गर्नु परे पनि गर्ने निर्णय लिए। अब लडाइमा आफ्नो पतिहरूलाई गुमाउनुपर्छ भनेर नारी र अरू केटीहरू दुःखी हुन थाले। यतिखेर म पात्र अर्ध निद्रामा परेका थिए। अनि अर्ध निद्रामा त्यो सानी केटी स्वयम मोदीआइन नै हुन् कि जस्तो लागिराखेको थियो।
म पात्रलाई मोदिआइनले आफ्नै कथा सुनाइरहेकी थिइन् भन्ने कुरा म पात्रलाई भान भइरहेको थियो। अन्तत: लडाइँ भयो। लडाइँमा धेरै नारीहरूले, धेरै आमाहरूले आफ्नो पति र छोराहरूलाई गुमाए। यतिखेरसम्म म पात्र झन्डै निदाइसकेका हुन्छन्। हेर्दाहेर्दै म पात्र निदाउँछन् पनि। ब्युझिँदा बिहान भइसकेको हुन्छ। म पात्र मिसिरजीसँग घर फर्किन तयार हुन्छन्। निद्रामै भएका म पात्र मिसिरजीसँग ट्रेनमा चढेर घर फर्किन्छन्।
घर पुग्दा सबैजनाले म पात्रलाई हालखबर सोध्छन्। दरभंगामा के देख्यौ भनेर सोध्छन्। जवाफमा म पात्रले मोदिआइन देखेँ भन्छन्। अनि म पात्रको कुरा सुनेर सबैजना गलल्ल हाँस्छन्।
परिवेश:
कथामा म पत्रको घर, बिहारको दरभंगा भन्ने ठाउँ, त्यो ठाउँमा जानका लागि प्रयोग गरिएको रेल यात्रा, यात्राको क्रममा देखिएको दृश्यहरू, मोदीआइनको घर, उनको घरनजिकै रहेको हडाहा पोखरी, मिसिरजीसँग घुम्न जाँदा बाटोबाट देखिएको लाल दरबार, असवावखाना, अस्तबल, हात्तीसार लगायतका ठाउँ कथामा स्थलगत परिवेशका रूपमा आएका छन्। त्यसैगरी कथामा मोदिआइनले म पात्रलाई कथा सुनाउँदा महाभारतको कथामा आएका ठाउँहरू हस्तिनापुर, इन्द्रप्रस्थ, कुरुक्षेत्र, हस्तिनापुर दरबारको पर्खालबहिरको सानो झोपडी, कुरुक्षेत्रभन्दा अलिक माथि रहेको थुम्को लगायत ठाउँ कथामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आएका छन्। म पात्र दरभंगा आउनु र मोदिआइनको घरमा आउनु। दरभंगा घुम्नु। मिसिरजी कामले बाहिर जानु, म पात्र सुत्न नसक्नु, मोदिआइनले म पात्रलाई महाभारतको कथा सुनाउनु। यी सबै कुरा यो उपन्यासमा अवस्थागत परिवेशका रूपमा आएका छन्। म पात्र दरभंगा आउनु र फर्किनु लगभग २-३ दिनमा भएको र मोदीआइनले लगभग ५-६ हजार वर्षअगाडिको कथा सुनाएको कुरा उपन्यासमा कालगत परिवेशक रूपमा आएको छ।
निष्कर्ष:
खासमा उपन्यास पढ्नु-पढाउनुअगाडि गुरूले उपन्यासबारे निकै नै सकारात्मक कुरा बताउनुभएको थियो। उपन्यास अध्ययन गरिसकेपछि मैले उपन्यासका बारेमा लेखिएका केही समीक्षाहरूको अध्ययन गरेँ। कोइरालाद्वारा लिखित ‘मोदिआइन’ लघु उपन्यासले शान्ति स्थापनाका लागि गरेको प्रयास बढो रोचक छ। जस्तोसुकै अवस्थामा युद्धले कहिल्यै पनि शान्ति ल्याउन नसक्ने सन्देश दिएको छ। धर्म स्थापनका लागि महाभारतमा कृष्णले युद्ध पनि गर्नुपर्ने कुरा राखेको कुरासँग लेखक समहत हुन सकेका छैनन्। शान्ति स्थापनाका लागि अरू थुप्रै विकल्प खोज्न सकिन्थ्यो, किन विकल्पको खोजी गरिएन भन्ने कुराको नालीबेली पनि उपन्यासले खोतल्ने प्रयास गरेको छ।
युद्धमा कसरी सामान्य नागरिकको बिचल्ली हुने रहेछ भन्ने कुराको छनक लेखकले मोदिआइन पात्रमार्फत दिन खोजेको सन्देश हो भन्ने मेरो बुझाइ हो। महाभारतको युद्धलाई दिव्य दृष्टिबाट सञ्जयले हेरेर धृतराष्ट्रलाई वर्णन गरेझैँ एउटा सामान्य भुइँमान्छेले महाभारतको त्यो युद्धलाई कसरी हेरिदोरहेछ भन्ने कुरा लेखले बडो मज्जाले पस्केका छन्। उपन्यासले धर्मको नाममा ति लाखौँ नागरिकले ज्यान गुमाउन केही जरूरी थिएन भन्न खोजिरहेको छ। सामान्य त मजस्ता कक्षा ८ मा पढ्ने विद्यार्थीहरूका लागि उपन्यासको भाषा अलिक जटिल भएपनि विषयवस्तुले जुनसुकै पाठकलाई तान्ने खुबी उपन्यासमा छ भन्ने कुरा मेरो बुझाइ हो।
(रूसीना तामाङ डियरवाक सिफल स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन्।)