सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
बहिनीको र मेरो दसैंअघिको परीक्षा सकिएपछि आमाबुवाले घुम्न जाने कुरा राख्नु भयो। कोरोनाले त परिवारसँगै धित पुर्याउने गरी घुम्न दिएको नै थिएन। कहिलेकाहीँ जाने भन्ने कुरा भएपनि समय निकाल्न सजिलो हुँदैन थियो। तर, यसपालि आमा र बुबाले पनि समय निकाल्ने भन्नुभयो। अन्तत: हामीले हाम्रो मामाघर जाने र त्यतै घुम्ने भन्ने निधो गर्यौ।
हाम्रो मामाघर पर्वत हो र अहिले त्यहाँ विभिन्न पर्यटकीय स्थल र पर्यटकीय क्षेत्रहरु विकास भइरहेको छ। हामी मामाघर गएपछि अहिलेको चर्चित र साहसिक खेल बन्जी हेर्न भनेर गयौँ। हामीले त्यहाँभित्र जान टिकेट काट्न पर्ने रहेछ। हामी टिकेट काटेर भित्र गयौँ। त्यहाँ त एउटा पुल रहेछ। त्यही बीच बन्जीजम्प र स्विङ खेल्न आउने मान्छेहरूलाई फुत्त डोरीमा बाँधेर फालिदो रहेछ।
त्यो पुलको तल कालिगण्डकी सुसेली हाल्दै बग्दै थिइन। तल कालिगण्डकी नदी कलकल बगिरहेको हेर्दा त मलाई डर लागिरहेको थियो। तर ती साहसी मान्छेहरूले नडराई खुसि हुँदै ज्यान नै हामफालेको देखेर म अश्चर्य चकित भए। मलाई त ति मान्छेहरू एकदमै साहसी लाग्यो। त्यहाँ त धेरै नै मान्छेहरू थिए। कोही हेर्न आएका थिए त कोही बन्जी अथवा स्विङ गर्न भनेर आएका थिए।
त्यो ठाउँबाट त केबुलकार पनि देखिँदो रहेछ। मेरो मनले त त्यो ठाउँ नछोड भनिरहेको थियो। तर के गर्नु? समय त थाहै नपाई बितेछ। यो ठाउँ घुम्न, बन्जी र स्विङ गर्न भनेर स्वदेशीहरू आन्तरिक पर्यटनका लागि र विदेशीहरू बाह्य पर्यटनका हिसाबले आइरहेको देखिन्छ। यो ठाउँले पर्यटन क्षेत्रमा धेरै नै विकास गरिरहेको छ। यस्ता अरू ठाउँ पनि खुलेको देखिन्छ जसले पर्यटकहरूलाई आकर्शीत गरिरहेको छ।
मलाई त यो खेल एकदमै साहसिक खेल लाग्यो र ठाउँ पनि मनोरम लाग्यो। म यहाँ फेरी घुम्न आउँछु। अर्कोचोटी आउँदा म पनि साहसका साथ बन्जीजम्प गर्छु होला।
(रुविआ पराजुली बुढानिलकण्ठ स्कुल, काठमाडौंमा कक्षा ७ मा अध्ययनरत छिन्।)