सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
पोहोर साल कोरोनाको धेरै डर थियो। कोरोनाका कारण कहि पनि जान पाइएन। हरेक वर्ष दसैंको टिका लगाउन म मेरो गाउँको घरमा जान्छु।
मेरो घर सिन्धुली जिल्लाको तिनपाटनमा पर्छ। पोहोरसाल गाउँमा जान नपाएकोमा निकै नरमाइलो लाग्यो। घरमा हजुरबुवा, आमा, काकाकाकी हुनुहुन्छ। सबैजनाले मलाई धेरै माया गर्नुहुन्छ।
यसपटक स्कुल नखुलेपनि अनलाइनबाट पढाइ भइरहेको छ। कोरोनाको डर अलि कम भएका कारण म, ममीबाबासँग दसैं मनाउन गाउँ गएँ। मलाई गाउँमा जान पाउँदा निकै खुसी लाग्छ। हामी एकदिन सिन्धुली बजारमा हजुरबुवाको घरमा बस्यौँ। मेरो फुपु दिदी पनि सिन्धुलीमै हुनुहुन्छ। उहाँको घरमा पनि गयौँ। भान्जा भाइ र भान्जी दिदीसँग खेल्न पाउँदा निकै रमाइलो लाग्छ। अर्को दिन हामी गाउँमा गयौँ। गाउँमा मेरा दुइवटा भाइ छन्। काकाका छोरा ति भाइहरूसँग खेल्न पाउँदा मलाई धेरै खुसी लाग्छ। उनीहरुसँग म निकै खेलेँ। रमाइलो गरेँ।
गाउँमा सबैतिर हरियाली देख्न पाइन्छ। मेरो घरमा भैसी छन्, खसी बाख्रा छन्। वारिपरी खेतमा धान पाकेर पहेँलो भएको थियो। त्यो देखेर निकै खुसी लाग्यो। खुला ठाउँमा खेल्न, दोडिन पाउँदा निकै खुसी लाग्छ। मेरो घर नजिकै ठूलो चदाहा खोला छ। हामी त्यो खोलामा बाबासँग पौडी खेल्न जान्छौँ। मलाई पौडी खेल्न निकै रमाइलो लाग्छ।
काठमाडौंका खोलाको जस्तो फोहोर पानी गाउँका खोलामा हुँदैन। हाम्रो गाउँको खोलाको पानी निकै सफा छ। खोलामा माछा मार्न मान्छेहरू आउँछन्। गाउँको खानेकुरा निकै मिठो हुन्छ। म फेरी स्कूल विदा भयो भने गाउँ जान्छु। मलाई मेरो गाउँ धेरै रमाइलो लाग्छ।
(प्रत्युष काफ्ले डिएभी स्कुल, जावलाखेलमा कक्षा ३ मा अध्ययनरत छन्।)