सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
पनौती नगरपालिका वडा न. १२ का रामबहादुर तामाङले माटोलाई आफ्नो सीप र कर्मको साधन बनाए। कुनै समय खाडी पुगेर फर्किएका उनी अहिले आधुनिक खेतीपाती गरी विदेशको भन्दा राम्रो आम्दानी गरिरहेका छन्। उनलाई दुई वर्ष खाडी मुलुकमा विभिन्न आधुनिक उपकरणको प्रयोग गरी श्रम गर्दा बटुलेको अनुभवले आफ्नै मातृभूमिमा व्यवसायिक कृषि सुरू गर्ने प्रेरणा मिल्यो।
'जे जस्तो भएपनि आफ्नै ठाउँमा आफ्नै परिवारको साथमा बसेर दु:ख गर्ने अठोट गरे,' उनले भने, 'अहिले मलाई लाग्छ मेहनत गर्ने हो भने विदेश जानु पर्दैन।'
मानिसको विकास र समृद्धिलाई हेर्ने नजर आ-आफ्नै हुन्छ। यस्ता विषयमा गरिने बहस र छलफल पनि फरक-फरक हुन्छन्। यस्तै सम्भावनाको कुरा गर्दा नछुट्ने विषय हो कृषि। नेपालको करिब ६२ प्रतिशत जनसङ्ख्या कृषिमा आधारित छ। कृषिले २७ प्रतिशत कुल ग्राहस्थ उत्पादनमा मद्दत पुर्याएको छ। यसरी विचार गर्दा नेपालको दुईतिहाई जनसंख्या कृषिमा निर्भर छ।
विगत पाँच वर्षको सर्वेक्षण हेर्दा भने हाम्रो देशमा ८० प्रतिशत अन्न भारत-चीन लगायत मुलुकबाट आयात हुने गरेको छ। यसरी कृषिप्रधान देशको रूपमा चर्चा हुने नेपालको पाँच वर्षको अन्तरालमा आम मानिसको ६२ प्रतिशत खर्च आयातमा बढेको छ। यो सँगै विगतमा कोभिड महामारी लगायत विपत्तिमा पनि किसानकै दैनिकीमा समस्या देखिएको थियो।
समस्या हुँदाहुँदै पनि कृषिमै प्रचुर सम्भावना छ। व्यक्तिगत पहलमा पनि धेरै गर्न सकिन्छ भन्ने उदाहरणमा रामबहादुर हाम्रो समाजका एक प्रनिनिधि पात्र मात्र हुन्। नेपालमा उनीजस्तै कथा धेरै मानिसको छ। विदेशमा बगेको रगत-पसिनाले हाम्रो राष्ट्रिय कृषि उत्पादनलाई मारमा पार्दैछ। यतिबेला विदेश गएका युवालाई स्वदेशमा ल्याएर आधुनिक र व्यवसायिक कृषिमा लगाउन सकेको खण्डमा कृषि समृद्धिको खास आधार तयार हुनसक्छ। जसका लागि सरकारले युवाहरूको रूची अनुसारको आधुनिक यन्त्र, प्रविधि, मल, बीउ लगायत कुरामा ध्यान दिएर कृषिलाई आकर्षित बनाउन आवश्यक छ।
सन् २०१८ मा सार्वजनिक तथ्यांक अनुसार नेपालमा २८/७५ प्रतिशत खेतीयोग्य जमिन छ। तर २१ प्रतिशत जमिनमा मात्र खेती हुँदै आएको छ। यसले अझैं हामीसँग खेतीयोग्य जमिन बाँझो रहेको देखिन्छ भने अर्कोतर्फ विकास र शहरप्रतिको रूचीको कारण गाउँबाट शहर आउने मानिसको कारण फेरी थप खेतीयोग्य जमिन पनि बाँझिदै जाने कुरा देखिन्छ। अर्कोतर्फ खेतबारीमा काम गर्ने किसानसँग भने जमिन छैन वा भएपनि प्रयाप्त जमिन छैन। यसरी जमिन हुनेहरू खेती नगर्ने र खेती गर्नेहरूसँग जमिन नहुने कुराले पनि नेपालमा नै उत्पादन हुन सक्ने चामल, दाल र तरकारी पनि उच्च रूपमा आयात हुँदै आएको छ।
यदि यो आयात गर्न खर्च हुने पैसा मात्र कृषि आधुनिकीकरणमा प्रयोग गर्न सकियो भने नेपालको कृषि पेशा निकै आकर्षक हुन सक्ने थियो।
एकातिर कमाई आर्जन गर्ने जनशक्ति विदेशिनु पर्ने बाध्यता छ। अर्कोतर्फ उत्पादन गर्न लायक जमिन बाझिने क्रम बढिरहेको छ। समग्रमा कृषि प्रधान देशमा खाद्यन्न आयात भइरहेको छ। यसको सुधारका लागि स्थानीय स्तरदेखि केन्द्र सरकारका कृषिका विभिन्न योजनाहरू भएपनि तिनको न्यायोचित र व्यवहारिक कार्यन्वयन भएको छैन। यदि त्यसो हुने हो भने नेपालले कृषिबाटै विकासको फड्को मार्न सक्छ। त्यसले स्वभाविक रूपमा नेपालका दुईतिहाई मानिसको जीवनमा परिवर्तन आउँछ।
विकसित समाजले खेतिपातीलाई सानो या तुच्छ पेसा भन्दैन। कृषिलाई समय सापेक्षित, सम्मानजनक अनि आकर्षक बनाउँदै लैजान्छ।
(संयम अधिकारी लिलावती नेसनल एकेडेमीका, पनौती-२ मा कक्षा दशमा अध्ययनरत छन्।)