सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
जलस्रोतको धनी देश नेपालसँग व्यापक जलविद्युत उत्पादन गर्ने क्षमता छ। सन् २००७ देखि २०१७ सम्म चरम लोडसेडिङको समस्या भोग्न बाध्य नेपालीहरूले आनन्दले विधुत उपभोग गर्न पाएका छन्।
सन् २०१८ को मे महिनादेखि कुलमान घिसिंङज्युको नेतृत्वमा नेपाल लोडसेडिङमुक्त भयो। घिसिंङजस्तै नेतृत्व नेपाल विधुत प्राधिकरणले पहिले नै पाएको भए नेपालले लोडसेडिङ नै भोग्नु पर्दैनथ्यो होला। हाम्रोआजको कुलग्रस्त उत्पादन ७ प्रतिशत बढी हुनसक्थ्यो। नेपालको वार्षिक आम्दानी ४८ प्रतिशत उच्च हुनसक्थ्यो। तर समस्या उत्पादनमा मात्र छैन, विधुत प्रसारण र उचित व्यवस्थापनमा पनि छ।
पछिल्लो समय देशका विभिन्न ठाउँमा विधुत लापरबाहीको समस्या बढिरहेको छ। यसको प्रतिनिधि घटना हालसालै कुशादेवी भू-भागमा पनि देखियो। कात्तिक २४ गते बुधबारका दिन पनौती नगरपालिका वडा नं २ मा ११ हजार भोल्टको मुख्य प्रसारण लाइन बिस्तार गर्ने क्रममा प्राधिकरण र कर्मचारीको उचित समन्वय नभएको कारण बिना जानकारी बिजुली प्रवाह भयो।
भयानक विधुतीय शक्तिले पोलमा काम गरिरहेका कुशादेवी-३ का सुसिल घिमिरेको मुटु रोकियो। काम गर्दा-गर्दै करेन्ट लागि उनको शरीर पोलबाट जमिनमा बजारियो र घटना स्थलमै घिमिरेको मृत्यु भयो। स्थानीयले प्राधिकरणका दोषीलाई कारबाही गर्न चेतावनी त दिए तर लापरबाहीले एक लक्का जवान युवाको ज्यान गइसकेको थियो।
नेपालले सन् २०२६ सम्ममा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने र मुख्य प्रसारण लाइनमा जोड्ने उद्धेश्य राखेको छ। तर उचित संयमता नअपनाउने हो भने घरदेखि प्राधिकरणसम्म विधुतीय दुर्घटना बढ्दै जान सक्छ। त्यसैले सुरक्षित विधुतीय सामान प्रयोग गर्ने उपाय तथा विधि स्थानीय जनतालाई सिकाउनुको साथै प्राधिकरणले कर्मचारीको दक्षता बढाउने विषय धेरै तयारी गर्नुपर्ने देखिन्छ।
(आकृति सापकोटा लिलावती नेशनल एकेडेमीमा कक्षा ८ मा अध्ययनरत छिन्।)