सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक र बहुजातिय देश
धेरै छन् जातजाति यहाँ धेरै छन् भाषा र भेष
हिन्दु, बौद्ध, मुस्लिम, इसाई
नेपाली छन् सबै यहाँ कोही छैनन् पराई
प्रेम, धर्म, सम्मान, परोपकार आदि हुन् सँस्कृतिका विशेषता
सिकाउनुपर्छ हामीले अरूलाई राम्रा गुण र मानवता
दैरा-सुरूवाल, गुन्यू चोलो, टिकिया र घलेक
सबै जातजातिको पहिरन यहाँ छन् अनेक
दसैं-तिहार, उभौली, उधौली, छठ, क्रिस्मस, ल्होसार, आदि मनाइने
मानिस मात्र नभई पशुपन्छीप्रति पनि प्रेमको भावना देखाइने
बहुल जातजाति, भाषाभाषी, धर्म भएपनि
धर्मको नाममा नेपालीहरू बीच भएन द्बन्द कहिल्यै पनि
चार जात छत्तिस वर्णका हामी फैलिएका छौँ हिमाल, पहाड, तराई
देउडा, घाटु, मारूनी, संगिनी, लामा नाच नाच्छौँ हामी रमाई
वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि नेपाली युवाहरू विदेश जान्छन्
उनीहरूको साँस्कृतिक क्रियाकलापदेखि विदेशीहरू पनि रमाउँछन्
जसले गर्दा विदेशमा पनि छ हाम्रो सँस्कृतिको शान
यसले पनि बढाएको छ नेपाली सँस्कृतिप्रति सबैको सम्मान
सूचना र प्रविधिको दुरूपयोगले बढाउन सक्छ विकृति
यसबाट सचेत भई जोगाउनुपर्छ हामीले आफ्नो सँस्कृति
ढाका टोपी, खुकुरी, खैँजडी, मादल हुन् हाम्रो पहिचान
विदेशीहरूले पनि सहजै नेपाली हुन् भनि गर्छन् अनुमान
हाम्रो सँस्कृतिले सिकाएको छ गुरूवर र मान्यजनप्रति गर्नुपर्छ सम्मान
जतिसुकै कठिन परिस्थिती आए पनि हामी मिलेर गर्छौ हरेक समस्याको समाधान
हाम्रो संस्कृतिलाई सदैव गर्नुपर्छ हामीले संरक्षण
भावी पुस्ताले पनि गर्नेछन् अवश्य यसको अनुसरण
नैतिक मूल्य, आदर्श र सामाजिक क्रियाकलापले जोगिन्छ हाम्रो सँस्कृति
प्रण गरौँ हामी सबैले आउन दिने छैनौँ हाम्रो सँस्कृतिमा विकृति।
(आयुष्मा पाण्डे कालिका मनोविज्ञान माध्यमिक विद्यालय, बुटवलमा कक्षा ७ मा अध्ययनरत छिन्।)