सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
राजनीति दुई शब्दले बनेको हुन्छ राज+नीति यसको अर्थ नियमअनुसार गरिने शासन हो। विशेष उदेश्यका साथ देश र समाजलाई राज्यको नीतिभित्र रहेर परिवर्तन गराउनेलाई राजनीति भनिन्छ।
जबदेखि मानव समाजको विकास हुन थाल्यो, त्यही समयदेखि राजनीतिको पनि विकासका साथै प्रयोग हुँदै आएको छ। यसको मूल उद्देश्य भने जनता, समाज र देशलाई आर्थिक साथै सामाजिक उन्नति, प्रगति तर्फ लैजानु हो। राजनीति गर्ने व्यक्तिलाई नेता भनिने गरिन्छ।
संसारभर ऐतिहासिक कालदेखि कुनै पनि राज्यको सञ्चालन साथै त्यसको उन्नति-प्रगतिको लागि राजनीतिको मुख्य भूमिका रहदै आएको छ। यदि राजनीति निश्चल, नि:स्वार्थ भएमा त्यो देशको आर्थिक उन्नति गतिशील हुन्छ। तर राजनीतिमा स्वार्थ, भ्रष्टाचार आएमा राज्यको राम्ररी सञ्चालन साथै उन्नति प्रगतिमा बाधा आउने गर्छ। राज्यको सोचेजस्तो विकास हुन सक्दैन।
शिक्षालाई ज्ञानको ज्योति भनिन्छ। शिक्षामा व्यक्ति र समाजलाई अध्यारोबाट उज्यालोतर्फ लैजाने क्षमता हुन्छ। जुन समाजमा शिक्षाको विकास भएको हुन्छ, त्यस देशको चारैतर्फ विकास भएको हामीले पाउन सक्छौँ। यसको एक उदाहरण जापान पनि हो।
शिक्षाले मानिसको अन्तरज्ञान उजागर गर्ने र त्यस मानिसलाई प्रशस्त उज्यालो मार्ग निर्देशन गर्छ। जसको परिणामस्वरूप त्यो देश र समाज र राजनीतिमा अमूल्य र गतिशील परिवर्तन आउछ। शिक्षाको व्यक्ति र सामाजसँग अन्तरसम्बन्ध हुन्छ भने समाजद्वारा नै राजनीतिको सञ्चालन हुने गर्छ। त्यसैले, असल राजनीति र राजनीतिज्ञको लागि शिक्षाको ठूलो महत्व छ। शिक्षा र राजनीति एउटै सिक्काका दुई पाटा हुन्। शिक्षाबिनाको राजनीति अर्थहिन हुन्छ किनभने विकसित राजनीतिमा बौद्धिक समाजको आवश्यकता हुन्छ। बौद्धिक समाज शिक्षाबिना कल्पना गर्न सकिदैन।
हाम्रो देशको सन्दर्भमा भने मानिसहरूले राजनीतिलाई एक नराम्रो रूपले हेरिरहेका छन्। मानिसका अनुसार राजनीति भनेको हड्ताल, नारावाजी, जुलुस, बन्द र अनसन जस्ता नकारात्मक कुरा मात्र हो भन्ने सोच्छन्। राजनीतिलाई एक फोहोरी खेलका रूपमा हेर्ने गर्छन्।
राजनीति भनेको त आफैँमा एक विज्ञान हो। हामीले राजनीतिलाई राम्रोसँग अध्ययन-अनुसन्धान गर्यौ भने हामीले यसको महत्त्व बुझ्नेछौँ। तर हाम्रो देशमा भ्रष्टाचार जस्ता नकारात्मक क्रियाकलाप हुन्छन्। जसका कारण जनताले राजनीति नकारात्मक क्रियाकलाप भन्ने मात्र बुझेका छन्। हाम्रो देशको राजनीतिमा ऐतिहासिक कालदेखि नै शिक्षाको ठूलो भूमिका रहिआएको छ।
जबदेखि राणाशासन संलग्न थियो, त्यतिबेला नेपालको साक्षरता दर २५ मात्र थियो। विभिन्न कालखण्डदेखि अहिलेको कालखण्डसम्म शिक्षा क्षेत्रमा भएको विकासका कारणले नेपालको साक्षरता दर ६७।९५ पुगेको छ। बिस्तारै शिक्षामा आएको बृद्धिले गर्दा देशको राजनीतिको व्यवस्थामा पनि परिवर्तन आइरहेको छ। पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलीय व्यवस्था, गणतन्त्र व्यवस्था यो सबै शिक्षाको विकासका कारण नै राजनीतिमा भएको परिवर्तन हो। तर हाम्रो देशमा राजनीति गर्ने राजनीतिज्ञ व्यक्तित्वहरू भने शिक्षित नै छैनन्।
शिक्षाको कमीले गर्दा देशको विकासमा बाधा आइरहन्छ। भ्रष्टचारको कमी छैन। विकासमा निरन्तरता छैन। सरकार परिवर्तन भइरहन्छ। चाहेजति विकास हुन सकेको छैन। यसको मुख्य कारण भनेको शैक्षिक क्षेत्रसँग आबद्ध व्यक्तिहरू राजनीतिमा प्रवेश नगर्ने र अशिक्षित व्यक्ति राजनीतिमा प्रवेश गरेर यसको फाइदा लिनुले हो।
हाम्रो देश विकास गर्नका लागि राजनीतिक मुल्यमान्यतामा परिवर्तन ल्याउन युवा वर्गले राजनीतिमा प्रवेश गर्नुपर्छ। साथै मानिसहरूलाई राजनीतिको नकारात्मक पक्ष मात्र हैन सकारात्मक पक्ष पनि देखाउनु र बुझाउनुपर्छ। बालबालिका भनेका त भविष्यका कर्णधार हुन्। उनीहरूलाई पनि राजनीतिबारे जान्ने-बुझ्ने, शिक्षाप्रद क्रियाकलाप गराउनुपर्छ।
यदि उनीहरूले राजनीतिलाई फोहोरी खेलको रूपमा हेर्न थाले भने भविष्यमा राजनीतिको नकारात्मक पक्ष मात्र मान्छेले देख्नेछन्। राजनीतिको नकारात्मक पक्षहरू हटाउन शिक्षाको पनि विकास गर्नुपर्छ।
(आकांक्षा खड्का डियरवाक सिफल स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन्।)