सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
म केही महिनामा १६ वर्षकी हुँदैछु। बा (बुवा) खुसी हुनुहुन्छ। हर्षका साथ मलाई भन्नुहुन्छ, 'नानी अब तँ ठूली भइस्। अब तैँले यो देशको नागरिकता पाउँछेस्।'
बालापनले नछोड्दै आशा मरेर निराशाले भरिएको मेरो आवाज बोल्छ, 'बा! चाहिएको छैन मलाई यो देशको नागरिकता। मलाई बन्नु छैन यो देशको नागरिक। दु:ख पाउनका लागि म यो देशमा जन्मिए। त्यति नै काफी छ। गलत ठाउँमा जन्मिएछु भनेर जिन्दगी भर आफ्नो भाग्यलाई सराप्न मेरो जन्मदर्ता काफी छ। भो! मलाई चाहिँदैन नागरिकता।'
बा, तपाईं वीर गोर्खालीको सन्तान भनेर गर्व गरिरहनुभएको छ। म राक्षसले शासन गरेको देशप्रति गर्व गर्न सकिरहेको छैन।
बा, तपाई गौतम बुद्धको देश भनेर गर्व गरिरहनुभएको छ। म राजतन्त्रको हत्या गरेर गणतन्त्रको बलात्कार गर्ने देशप्रति गर्व गर्न सकिरहेको छेैन।
बा, तपाई देशको जलस्रोत हेरेर गर्व गरिरहनुभएको छ। म ढलभन्दा बढी गनाउने सत्ताको खेल हेरेर गर्व गर्न सकिरहेको छैन।
बा, तपाई कृषिप्रधान देश भनेर सुनाउँदै हिँड्नुहुन्छ। म पसिनाभन्दा बढी आँसु बगाउन बाध्य त्यो किसानको जिन्दगी हेरेर बोल्न सकेको छैन।
बा, तपाई बहादुर पुर्खाको देश भनेर गफ लाउनुहुन्छ। म लाचार युवा जनशक्तिको परिवेश हेरेर नि:शब्द छु।
बा, तपाई बिगत सम्झिएर रमाइरहनुभएको छ। म वर्तमान हेरेर कहालीलाग्दो भविष्य कल्पदै छु।
बा, तपाई काली, दुर्गा, लक्ष्मी पुजिने देश भनेर गर्व गरिरहनुभएको छ। म हरेक दिन बलात्कृत नारीको पीडा बोध गरिरहेको छु।
बा, तपाई दोस्रो दशरथ चन्द र गंगालाल श्रेष्ठ बन्ने सपना देख्दै हुनुहुन्छ। म कतै दोस्रो निर्मला र सम्झना बन्छु की भनेर डराइरहेकी छु।
बा, माफ गरिदिनुस्। नागरिकतामा लेखिएको राष्ट्रियताप्रति गर्व गर्ने बाटो मैले भेटिन। त्यसैले बा, मलाई चाहिएको छैन यो देशको नागरिकता। मलाई बन्नु छैन यो देशको नागरिक।
(श्रेया सुवेदी भरतपुर-६, चितवनमा बस्छिन्।)