सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
सरिता परियारले लेख्नुभएको 'उत्सुकता' एउटा बालकिताब हो। यो किताबले कमिलाको माध्यमबाट कथा भन्छ। कथामा उत्सुकता एउटी कमिला हुन्। उनी जंगलमा पातपतिंगरको घरमा बस्थिन्। अहिले भने उनी एउटी कथा लेखक हुन्।
उत्सुकताले स्कुल पनि पढिन्। स्कुलमा बिदा हुँदा उनी आमालाई काममा सघाउँथिन्। उनका आमाबुवा दुबैले कपडा सिउँथे। बुवाले बाजा पनि बजाउँथे।
उनी पढाइमा तेज थिइन्। निकै सफा-सुग्घर थिइन्। उनी एकदमै जिज्ञासु थिइन्। हरेक कुरामा प्रश्न गर्थिन्। एक दिन उत्सुकता खुसी भएर उठिन्। त्यस दिन उनको स्कुलमा पुरस्कार दिने कार्यक्रम थियो। स्कुल जाँदा पन्थेनी बज्यैलाई उनकी आमाले सिएको कपडा दिन गइन्।
पन्थेनी बज्यै गोवर र दूधले ह्वास्स गन्हाएकी थिइन्। तर पन्थेनी बज्यैले उत्सुकतालाई कपडा परैबाट नछोइकन हातमा राख्देऊ भनिन्। उत्सुकतालाई खल्लो लाग्यो। तर उनले बज्यैको नराम्रो व्यवहारले आफ्नो दिन बिग्रिन दिइनन्। उनी स्कुल गइन्।
स्कुल पुगेपछि उनी कक्षामा दोस्रो भएको थाहा पाइन्। उनलाई पहिलो हुन्छु भन्ने लागेको थियो। परीक्षामा उनकै उत्तर सार्ने साथीचाहिँ पहिलो भएछन्। दोस्रो हुँदा उनलाई खल्लो लाग्यो। उनलाई किन यस्तो भयो भनेर जान्न मन लाग्यो।
पुरस्कार दिने बेला पनि उनले हेडमिसबाट फरक व्यवहार भएको महसुस गरिन्। पहिलो भएको साथीले पुरस्कार थाप्दा हेडमिसको अनुहार धपक्क बल्यो भने उनले थाप्दा हेडमिसको अनुहार अँध्यारो भयो। किनभने उत्सुकता कथित 'तल्लो जात' की विद्यार्थी थिइन्।
त्यस दिन घर फर्किएपछि उनले आफू कसरी दोस्रो भएँ भनेर आमालाई सोधिन्। उनकी आमाले उनलाई आफू सानो हुँदाको कथा सुनाइन्। उनकी आमालाई त झन् कक्षामा पस्न समेत नदिइएका रहेछ। झ्यालबाट हेरेर पढ्नुपर्ने रहेछ। उनकी आमाको कापीसमेत शिक्षकले नछुने रहेछन्। 'सानो जात'का विद्यार्थीलाई शिक्षकले पिट्दासमेत छोइने डरले ढुंगाले हान्ने रहेछन्।
यो किताब पढेपछि उत्सुकताले जस्तै मैले पनि मेरो बुबालाई सोधें, 'बुबाको समयमा स्कुलमा कस्तो भेदभाव थियो?'
बुबाले भन्नुभयो, मलाई त स्कुलमा राखिएको खानेपानीको गाग्री पनि छुन दिइनथेन। स्कुलको बनभोजमा समेत छुट्टै बसेर खानुपरेको थियो।'
यो किताब मलाई साह्रै मन पर्यो । किनभने, एक त मैले पढेका धेरै किताबका कथा काल्पनिक हुन्थे। 'उत्सुकता' किताबको कथा समाजको यथार्थ भोगाइमा टेकेर लेखिएको छ।
अर्को भनेको मलाई कथाकी प्रमुख पात्र उत्सुकता पनि साह्रै मन पर्यो र म उनीबाट प्रभावित पनि भएँ। आफूले भोगेका हरेक अनुभवमा प्रश्न गर्छिन् उनी। विभेदको कारण मन दुखे पनि उनी हिम्मत हार्दिनन्। अगाडि बढ्छिन् र लेखक बन्छिन्। सानो वा ठूलो जात हरेक व्यक्तिले उत्सुकताले जस्तै प्रश्न गर्ने हो भने हाम्रो समाजमा भएका विभिन्न विभेद र असमानता चाँडै नै हट्थे कि?
तेस्रो, मलाई यस किताबका चित्र पनि मन पर्यो।
यो किताबले मलाई धेरै कुरा सिकायो। मैले अहिलेसम्म जातीय भेदभावको विषयवस्तु भएको कथा वा उपन्यास पढेकी थिइन। यो किताबले बालबालिकालाई नेपाली समाजबारे धेरै कुरा सिकाउँछ।
यो किताबको एउटा भनाइ मलाई निकै मन पर्यो। किताबको अन्त्यतिर उत्सुकता यसो भन्छिन्, 'जंगलले मलाई टाँसिन नआऊ है भनेन। खोलाले पनि मलाई नछोऊ है भन्दै भनेन। तर मैजस्ताले मैजस्तालाई छुँदा वाकवाक लाग्ने, बान्ता नै आउलाजस्तो किन गर्छन्?'
यो कुराले मेरो मन छोयो। प्रकृतिले त कसैलाई भेदभाव गर्दैन। मानिसले मानिसलाई किन भेदभाव गर्छन्?
यो किताबका दुइवटा पात्र मलाई मन परेन। पन्थेनी बज्यै र हेडमिस। पन्थेनी बज्यैभन्दा पनि हेडमिस मन परेन। किनकि, पन्थेनी बज्यै त अनपढ् थिइन्। तर हेडमिस त पढेकी मानिस थिइन्। पढेको मानिसले समेत आफ्नै विद्यार्थीलाई भेदभाव गरिन्।
उत्सुकता पढेपछि मलाई पनि लाग्यो, मैले पनि केही भेदभाव भोगेकी रहेछु। त्यतिखेर त मलाई थाहा थिएन।
मैले पढेको एउटा स्कुलमा मिसले मलाई र अर्को एकजना दलित विद्यार्थीलाई अरुको भन्दा धेरै सजाय दिएकोजस्तो लाग्यो। अहिले म भाडामा बस्ने घरमा पनि घरवेटीको भान्सा कस्तो छ, देखेकी छैन।
किताब पढ्दा उत्सकुताको जस्तै मेरो मनमा पनि धेरै प्रश्न आए। शिक्षित मानिसहरू भएर पनि दलितलाई अझै किन भेदभाव गर्छन्? मलाई रिस पनि उठ्यो। आखिर दलितहरू पनि मानिस नै हुन्। तर उनीहरूलाई किन फरक व्यवहार गर्छ यो समाजले?
यो किताबले भेदभाव मानिसले गर्छन्, प्रकृतिले त सबैलाई समान व्यवहार गर्छ भन्ने सिकाउँछ। 'उत्सुकता' हरेक नेपाली बालबालिकाले पढ्नैपर्ने किताब हो। किनभने नेपाली समाजको यथार्थ रूप यो किताबले देखाउँछ ।
(अध्यता बिक सेन्टमेरिज स्कुल, पोखरामा कक्षा ८ मा अध्ययनरत छिन्।)