सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
हिउँदे बिदा होस या वर्षे बिदा। देशका विभिन्न स्थान हेर्नुपर्छ, बुझ्नुपर्छ भनेर मलाई र भाइलाई हाम्रो बावामामुले बेलामौकामा कतै न कतै घुमाउन लगिरहनुहुन्छ। प्रायः हाम्रो रोजाइमा पर्छ चितवन, पोखरा, बन्दिपुर, पाल्पा आदि।
चितवन त बाबाको जन्मस्थल नै हुनाले पनि होला हामी वर्षमा दुई-तीन पटक पुगेकै हुन्छौँ। अरूबेला छुटे पनि ९० कट्नु भएका बाबाको हजुरबा र हजुरआमाको हातको टिका लगाउन दसैंमा बाबाको मामाघर जान भने हामी छुटाउँदैनौं।
बाबाको जन्मस्थान भएर मात्र होइन चितवन हामीलाई पनि रमाइलो लाग्छ। सौराह अनि त्यो मुग्लिनको सडक। बाबाको घरबाट उत्तर लाग्दा देखिने सामुदायिक वन। त्यहाँको हरियालीले हामीलाई यसै पनि चितवन जाउँ-जाउँ लाग्छ। अझ तोरी फूलेको वा धान झुलेको बेला झनै तान्छ चितवनले।
बाबा भन्नुहुन्छ, 'पहिले त्यति धेरै घर थिएनन्। अहिले त पक्कि घरले छपक्कै।'
अनि म भन्थे, 'काठमाडौँमा पनि त धान हुन्थ्यो रे नि है बाबा।'
चितवनपछिको रोजाइमा पर्ने अर्को ठाउँ हो पोखरा। बाबा पोखरालाई नेपालको युरोप भन्नुहुन्छ। हो कि झैं पनि लाग्छ। उसो त एसियाका केही मुलुक मात्र पुगेका हामिलाई खासै अन्दाज भने छैन। हुन पनि पर्यटकीय क्षेत्र पोखराको सुन्दरताको बयान गरेर साध्य छैन। यसैले यो वर्ष पनि हाम्रो रोजाइमा पोखरा नै परेको थियो।
यसपाली भने हामी कतै निस्कन पाएनौँ। लामो समयदेखि बसिरहेको पहिलो घरलाई छोडि हाम्रो परिवार अर्कै स्थान सर्दै थियो। मेरो यसपटक कक्षा आठको बीएलई (बेसिक लेभल एक्जाम) को पनि तयारी गर्नु थियो। स्कुलले परीक्षा अवधिभर अभिभावकले नै ल्याउने-पुर्याउने गर्नुपर्ने भनेको थियो। दुरीको हिसाबले घरबाट स्कुल टाढा भएका कारण पनि नयाँ घर छिटो सर्नुपर्ने बाध्यता पर्यो।
पुरानो घर किनेर आफू अनुकूल हुनेगरी पुनः निर्माण गर्दा भोग्नुपरेको झन्झट र घर सर्दाको अनुभव अविस्मरणिय रह्यो। सामान प्याक गर्नेदेखि कुनै सामान छुट्लाकी भन्ने डर। त्यस्तै माटाको, सिसाको सामाग्री फुट्लाकी भन्ने डर पनि उस्तै। सबैको जतन गर्नुपर्ने। म र मेरो भाइलाई घर कसरी सर्नुपर्छ के-के गर्नुपर्छ यस अघिसम्म केही अनुभवै थिएन।
बीएलईको कारण पुस्तक मिलाउनुपर्ने अनि कुनै पुस्तक छुटाउन नमिल्ने अवस्था थियो। अनि मेरो परीक्षा त्यो पनि जिल्ला स्तरको। त्यसैले कता-कता चिन्ता लागिरहेको थियो। तर यसैबीचमा मेरो बीएलई पनि सकियो। त्यसपछि फेरी चिन्ता भयो यो बिदालाई कसरी सदुपयोग गर्ने भनेर। बाबामामु घर पुनःनिर्माणमा नै व्यस्त हुनुपर्ने अवस्था थियो।
बाबाको नयाँ अफिस हुनाले उहाँले त्यता बढी समय बिताउनु पर्ने भयो। मामुको रिसर्चको काम हुनाले त्यहाँको मिटिङदेखि घरमा काम गर्नेको चटारो थियो। यसकारण निकै असहजताको बाबजुद यसपटकको बिदा मैले कहिले घर हेरेर, कहिले गीत सुनेर त कहिले मामुको रिसर्चको कार्यक्रम हेरेर बिताएँ।
कति दिन यसो गरेर बिताउने? त्यसैले पढ्न मन नलागे पनि समयको सदुपयोग गर्ने भनेर केही क्रियटिभ काम गर्न थालेँ। पेन्टिङ, ड्रयिङ त मेरो हबी नै हो। सिसाका भाँडामा एक्रेलिक पेन्ट गरेँ। बनाउँदै जाँदा विभिन्न डिजाइन पनि सिक्दै गएँ। बिस्तारै सिसाका भाँडा सकिँदै गए। मन भने भरिएन। थप सिसा र उपयोगमा नआएका बट्टालाई विभिन्न डिजाइनमा पेन्ट गरेँ। त्यसमा विरूवा रोपेँ। हेरेर आफैँ दंग परेँ।
एकातर्फ सिसाको ग्लासको सदुपयोग अर्को तर्फ सिर्जनात्मक कार्य। घर आउनुहुने आफन्त, बाबामामुको साथीहरूले दिनुहुने सकारात्मक सुझाव र हौसलाले थप केही गर्ने उर्जा मिलेको छ। क्लाइमेट चेन्जको पिरलो रहेको विश्वमा टिनहरूले घरभित्र र बाहिर हरियाली बनाउन सकिने रहेछ भन्ने लागेको छ। बिदा अझैं केही दिन छ। त्यसैले, मैले भान्छामा थुप्रिने चियापति, अण्डा तथा तरकारीका बोक्रा लगायतलाई बरन्डाको गार्डेनमा मलको रूपमा उपयोग गर्न थालेको छु।
एभोकाडो, कडिपत्ता, भन्टा, गोलभेडा लगायत सानो गार्डेनमा अहिले नै छ। यसलाई बढाएर लैजान सके विषादी बिनाको तरकारी खान पनि पाइने र क्लाइमेट चेन्जलाई चुनौती पनि दिन सकिन्छ भन्ने लागेको छ।
समय गतिशील छ। उत्तिकै बलवान् पनि। समयको सदुपयोग गरेर अगाडि बढ्न सक्नु नै हाम्रो जीवन सार्थक हुने हो भन्ने कुरा बाबामामु र शिक्षकहरूले सिकाउनु भएकै छ। त्यो लागू गर्न पनि सक्नुपर्छ। अझ भनौ चुनौति र समस्याको बीचमा जीवनलाई अघि बढाउन सकेको खण्डमा जीवनलाई बुझ्न सहज पनि हुन्छ। समयको सदुपयोग गरौँ र सिर्जनात्मक काममा अघि बढौँ।
केनिशा अधिकारी
कक्षा: ९
सेन्ट जेभियर्स स्कुल
जावलाखेल, ललितपुर