सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
म चार कक्षामा पढ्छु। मेरी बहिनी सानी छिन्। भर्खर नर्सरीमा पढ्छिन्। उनी धेरै चकचके छिन्।
जब म पढ्न बस्छु, मेरो किताब खोसिहाल्छिन्। जब म होमवर्क गर्न थाल्छु, बहिनीले पेन्सिल तानेर लैजान्छिन्। म जुन किताब पढ्छु, मेरी बहिनीलाई त्यही पढ्नुपर्छ। म जुन पेन्सिलले होमवर्क गर्छु, बहिनीलाई त्यही चाहिन्छ।
बिहान बहिनीभन्दा म चाँडै स्कुल जान्छु। म स्कुल जाने बेला बहिनीलाई पनि सँगै स्कुल जानुपर्छ। मसँग स्कुल जान नपाउँदा उनी रून्छिन्।
बहिनी घरमा सबै सामान यताउता फाल्छिन्। उनलाई हजुरआमा, ममीले कहिलेकाहीँ गाली गर्नुभयो भने मसँग आएर रुन्छिन्। उनीसँग ठूलो स्वरले बोल्नु हुँदैन। मैले सधैँ बहिनीलाई फकाउनुपर्छ। मलाई बाबाममीले कराउनु भयो भने पहिले बहिनी रून थाल्छिन्।
म भन्दा बहिनी स्कुलबाट ढिलो आइपुग्छिन्। बहिनी कतिबेला आउँछिन् जस्तो मलाई लाग्छ। उनी मसँग धेरै रमाउँछिन्। बहिनीले कतिपटक मेरो कापीमा पानी पोख्ने, किताबका पाना च्यातिदिने, पेन्सिल फालिदिने, मैले हेरेको मोबाइल खोसेर लाने, मैले खान लागेको खानेकुरा खोसेर लाने, घरमा कोही पाहुना आउँदा ल्याइदिएका खानेकुरा खोसेर लाने गर्छिन्।
आफूले खाएपछि बल्ल यो दादालाई भन्ने उसको बानी छ। मलाई बैनीले पिटे पनि म रून्न। बहिनीसँग लुकामारी खेल्दा निकै रमाइलो हुन्छ। दादा 'कु-कु' भन्नु भन्दै बहिनी अर्को कोठामा बस्छिन्। मैले कु-कु भनेपछि खोज्न आउँछिन्। मलाई देखेपछि उनी धेरै खुसी हुन्छिन्।
बहिनी जति चकचके भए पनि मलाइ धेरै माया लाग्छ। उनले पनि मलाई धेरै माया गर्छिन्। जे खानेकुरा पनि उनलाई दिएर, बाँडेर मात्रै खान्छु।
उनलाई होमवर्क पनि मैले गराउनुपर्छ। एकदिन होमवर्क गर्नुपर्ने थियो। बहिनीले त पुरै किताबभर कलर गरेर सकाउने भनिन्। रातो कलर गर्नुपर्नेमा हरियो, पहेलो कलर गरिहाल्छिन्। त्यसो गर्नु हुँदैन भन्दा रोइहाल्ने उनको बानी छ। मलाई नेपालीमा टाइप गर्न आउँदैन। ममीलाई म बहिनीको बारेमा कापीमा लेख्छु कम्प्युटरमा टाइप गर्दिनुस् भने। ममीले हुन्छ भन्नुभयो।
'चकचके बहिनी'को बारेमा लेख्न थालेको बहिनीले तीनपटक पेन्सिल खोसिन्। दुइपटक त कापी नै च्यातिदिइन। फेरी बहिनीले थाहा नपाउने गरी चकचके बहिनीको बारेमा लेखेँ। जति चकचके भए पनि धेरै प्यारी छिन् मेरी बहिनी। हामी सबैजना बहिनीलाई माया गरेर प्यारी भन्छौ।
(प्रत्युष काफ्ले डिएभी स्कुल, जाउलाखेलमा कक्षा ४ मा अध्ययनरत छन्।)